बाढीले घर भत्किंदा तीन बालबालिकाको मृत्यु
बाढीले घर भत्किंदा रुकुम पश्चिममा तीन बालबालिकाको ज्यान गएको छ।
गए राति आठबिसकोट नगरपालिका-१२ बगरस्थित तातोपानी झिन्चौर खोलामा आएको बाढीले पाँच वटा घर भत्किएका छन्। घर भत्किंदा तीन बालबालिकाको ज्यान गएको आठबिसकोट नगरपालिकाका मेयर रवि केसीले बताए।
मेयर केसीका अनुसार आठ वर्षीया हितमाया पुन, पाँच वर्षीया धनिसा पुन र चार वर्षीया मनीषा सार्कीको ज्यान गएको हो। त्यस्तै, ४० वर्षीय डिल्लीबहादुर बुढाथोकी हराइरहेका छन्।
बाढीले घर भत्किंदा सात जना घाइते भएका छन्। मेयर केसीका अनुसार १० वर्षीय विजय सार्की, २२ वर्षीया अनिसा पुन, २९ वर्षीय जनक खत्री, ६५ वर्षीया मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २० वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी घाइते भएका छन्।
खोलाको लेदोमा पुरिएर बालबालिकाको ज्यान गएको हो। उनीहरूलाई अझै पनि निकाल्न सकिएको छैन। घाइतेलाई आठबिसकोट नगर अस्पताल राडीमा ल्याउन लागिएको उनले बताए। स्थानीय बासिन्दा र प्रहरी उद्धारमा जुटेका छन्।