जो उद्धार गर्न जाँदा अस्ताए
डुबानमा परेका छिमेकी र बस्तुभाउको उद्धारका लागि गएका तीन जना किशोरीको ज्यान गएको पुनर्वासको गगाउँ अझै शोकबाट उम्किन सकेको छैन।
रुँदा रुँदा सुन्निएका आँखा। गलेको ज्यान। घरीघरी बेहोश बनिरहेकी अनिता बोगटी अझै सम्हालिन सकेकी छैनन्। घरमा पुग्ने आफन्तजनले छोरीको नाम लिने बित्तिकै आँसु बगाइहाल्छिन्।
सान्त्वना दिन आउने नातेदार तथा छरछिमेकीसँग एउटै कुरा दोहोर्याउँछिन्, “मेरो बच्चालाई सँगै लिएर आएको भए हुन्थ्यो। किन एक्लै छोडें? यही दिन देख्नलाई पो रै’छ।”
एक सातादेखि कञ्चनपुरको पुनर्वास नगरपालिका-५, गगाउँकी अनिताको दैनिकी एकनासको छ। भेटघाट गर्न आउने मान्छेसँग छोरीको कुरा गर्दै पश्चात्ताप गर्ने र डाँको छाडेर रुने। किनकि पल्लो गाउँ जान भनी हिंडेकी छोरी १६ वर्षीया आरतीसँगै उनका सहेलीहरू १६ वर्षीया सिर्जना र १५ वर्षीया लक्ष्मीको पानीमा डुबेर ज्यान गएको थियो।
उनको परिवार केही वर्षअघि मात्रै पहाडबाट तराई झरेको थियो। छोराछोरीलाई तराईको परिवेश राम्ररी थाहा थिएन। झन् वर्षातको डुबानसँग त परिचित थिएनन्।
यस वर्ष त असार २० मै जल तथा मौसम विज्ञान विभागले अत्यधिक वर्षा हुने प्रक्षेपण गरिसकेको थियो। त्यसैले पनि पश्चिम तराईका जिल्लामा बाढी र डुबानबाट जोगिन सतर्कता अपनाइएको थियो।
तीन दिन लगातारको मनसुनी वर्षाले असार २४ मा पश्चिम तराई क्षेत्र जलमग्न बनेको थियो। झन् कञ्चनपुरमा त अत्यधिक वर्षा भएको थियो। जल तथा मौसम विज्ञान विभागका अनुसार कञ्चनपुरका दोधारामा ६२४ मिलिमिटर, हनुमाननगरमा ५७३.६ मिलिमिटर र सुन्दरपुरमा ५५५.८ मिलिमिटर वर्षा भएको थियो। २४ घण्टाको अवधिमा नेपालमा यति धेरै वर्षा यसअघि कतै पनि रेकर्ड गरिएको थिएन।
गगाउँमा पनि बिहान ७ बजे साइरन बजेको थियो, डुबानको संकेत गर्न। चार किलोमिटर टाढाको दोदा नदीमा बाढी आउँदा गगाउँसम्मै डुबान हुन्छ। त्यो थाहा पाएकी अनिताले छोराछोरीलाई बाहिर निस्किन दिएकी थिइनन्।
तर एकाएक पारिको रातोखल्ला गाउँमा बाढी पसेको खबर आयो। मान्छे र बस्तुभाउ जोगाउनै मुश्किल भइरहेको सुनेपछि अनिता उतैतिर लागिन्। पल्लो गाउँमा गाई र दुई वटा बाख्रा थिए। नातेदार बस्ने भएकाले सजिलोका लागि राखेकी थिइन्। उनी गाई र बाख्रा ल्याउन उतैतिर गइन्।
डुबानको खबर सुनेपछि गाउँलेलाई सघाउन आरती पनि आफ्ना १० जना साथीलाई लिएर आमाको पछिपछि लागिन्।
आपसमा हात समातेर आरती, लक्ष्मी, सिर्जना सहित १० जना साथी गएको १२ वर्षीया अञ्जली बोगटी सुनाउँछिन्। बाटो पनि भलले डुबानमा परेको थियो। त्यसैले अड्कल लगाउँदै एकअर्काको हात समातेर गएको अञ्जलीको भनाइ छ। “हिंड्दाहिंड्दै ह्युमपाइपमा कसको खुट्टा चिप्लियो, थाहै भएन,” अञ्जली भन्छिन्, “सबै पानीमा खस्यौं। दिदीहरू पौडी खेलेर आए, म, आरती, लक्ष्मी र सिर्जना दिदी डुब्यौं।”
पौडी खेलेर निस्केका किशोरीहरूले बचाउन कोशिश त गरे, तर सकेनन्। नजिक भएकी अञ्जलीलाई मात्रै बचाउन सके। “निरू र इन्नर दिदीले मलाई त बाहिर ताने, तर आरती, सिर्जना र लक्ष्मी दिदी डुबिहाले,” अञ्जली भन्छिन्।
उनीहरूले गाउँमा आएर गुहार माग्दासम्म पानीमा डुबेका तीन किशोरीको ज्यान गइसकेको थियो। छिमेकीले भनेपछि मात्रै छोरी डुबेको थाहा पाएको सिर्जनाकी आमा सरस्वती बोगटी सुनाउँछिन्। “छोरी पल्लो गाउँमा सहयोग गर्न गएकी छन् भनेर थाहै थिएन,” सरस्वती भन्छिन्, “अरूलाई बचाउन गएकी मेरी छोरी आफै डुबेर गइन्।”
सरस्वती पनि त्यो दिनयता सम्हालिन सकेकी छैनन्। रुँदा रुँदा स्वर बसेको छ। जेठी छोरी सिर्जना गुमाउँदाको पीडामा छटपटाइरहेकी छन्। घरीघरी छोरीकै कुरा गर्छिन् र मूर्च्छा पर्छिन्। “मेरी छोरीलाई कति गाह्रो भयो होला, बचाऊ बचाऊ भनेर गुहार मागेकी थिइन् रे! बचाउन जाने पनि कोही थिएन,” उनी भन्छिन्, “पहिरोको डरले पहाडबाट झरेका थियौं, मधेशमा पानीले खाइदियो।”
सिर्जनासँगै डुबेर ज्यान गुमाएकी लक्ष्मी एउटै परिवारका सदस्य हुन्। दुवै परिवार सँगसँगै तराई झरेका थिए। पहाडको पहिरोभन्दा मधेशमा सुरक्षित होला भनेर आएको लक्ष्मीका बुबा दलबहादुर बोगटी सुनाउँछन्। पाँच वर्षअघि तराई झरेका दलबहादुर यसरी बाढी आउँछ भन्ने थाहै नभएको बताउँछन्।
उनी बिहानको खाना खाएर पल्टिएका थिए। एक्कासि छोरी डुबेको खबर आएपछि झस्किएको बताउँछन्। “गाउँमा पानी पस्न थालेपछि पल्लो गाउँमा सहयोग गर्न जान्छु भनेर सोचिन् होला, अरूलाई सहयोग गर्ने बानी थियो,” उनी भन्छन्, “सहयोग गर्न गएकी थिइन्, आफैले सहयोग पाइनन्।”
तीनै जना एउटै स्कूलमा पढ्थे। गाउँकै गौरीशंकर माविमा लक्ष्मी कक्षा ९ मा तथा सिर्जना र आरती कक्षा १० मा अध्ययनरत थिए। तीनै जना पढाइमा पनि राम्रो रहेको दलबहादुर बताउँछन्। भारतमा काम गर्न गएका आरती र सिर्जनाका बुबा पनि छोरीको मृत्युको खबर सुनेपछि घर फर्किएका छन्। उनीहरूलाई गुमाउँदा गाउँ नै शोकमा डुबेको छ।
खाल्डाखुल्डीले जोखिम
गगाउँ लगायत तराई मधेशका अधिकांश गाउँ वर्षातमा डुबानमा पर्छन्। तर गगाउँमा बाटामा भएका खाल्डाखुल्डीले जोखिम बढाएको स्थानीय बासिन्दा सुनाउँछन्। तीनै किशोरी पनि बाटामा भएको खाल्डाकै कारण डुबानमा परेको उनीहरूको भनाइ छ।
पुनर्वास नगरपालिका-५ का वडाध्यक्ष पदमबहादुर रोकाया पनि खाल्डो भएकाले चिप्लिएर डुबेको हुन सक्ने बताउँछन्। “त्यो दिन गगाउँ र रातोखल्ला गाउँबीचमा समुद्र जस्तो भल थियो,” रोकाया भन्छन्, “अर्को, गाउँमा कहाँ खाल्डो छ भन्ने थाहा हुँदैन। त्यही भएर बाटोमा भएको ह्युमपाइपमा खुट्टा चिप्पिएर खाल्डोमा परे।”
उनीहरू अध्ययनरत स्थानीय गौरीशंकर माविका प्रधानाध्यापक लोकबहादुर थापा पनि गाउँको बाटामा भएका खाल्डाखुल्डीले समस्या गराएको बताउँछन्। “जताततै डोजरले खनेर खाल्डा बनाएका छन्। अरू वेला फरक नपरे पनि बर्खाको समयमा पानी जम्मा हुन्छ र डुबेको चालै पाइँदैन,” थापा भन्छन्।
पुनर्वास नगरपालिकाका मेयर तोयप्रसाद शर्मा पनि खाल्डो भएकाले तीन जना डुबेको स्विकार्छन्। “ह्युमपाइपबाट पानी बग्नाले त्यहाँ खाल्डो छ। त्यही खाल्डोमा खसेछन्,” शर्मा भन्छन्।
सडकमा भएका खाल्डाखुल्डी पुर्न स्थानीय सरकारले वास्ता गरेको छैन। सामान्य माटो भर्दा समस्या सकिने भए पनि जनप्रतिनिधिले ध्यान नदिएको स्थानीय बासिन्दा गुनासो गर्छन्। मेयर शर्मा भने त्यो आफ्नो जिम्मेवारी नभएको प्रतिक्रिया दिन्छन्। “सडकमा भएका यस्ता खाल्डाखुल्डी पुर्ने जिम्मा नेपाल सरकारको हो, हाम्रो होइन,” मेयर शर्मा भन्छन्।