संशोधन-मण्डलका पुस्तक डल्लु आवासमार्गमा पाइने
संशोधन-मण्डलका पुस्तक-पत्रिका डल्लु आवासमार्गमै उपलब्ध हुने भएका छन्।
यसअघि वीरेन्द्रमार्ग (सिद्धार्थचोक नजिक) रहेको पसल असार अन्तिम सातादेखि संशोधन-मण्डलको कार्यालयमा सरेको हो। मासिक भाडा तिर्न नसकेपछि कार्यालयबाट पुस्तक-पत्रिका उपलब्ध गराउन लागेको संशोधन-मण्डलका सदस्य डा. महेशराज पन्तले जानकारी दिए।
पछिल्लो समय वीरेन्द्रमार्गको पसलको मासिक भाडा ३५ हजार रुपैयाँ पुगेको थियो। आयस्रोत नहुँदा भाडा तिर्न नसकिएको जनाइएको छ।
इतिहासका त्रुटि र कमीकमजोरीलाई तर्कपूर्ण व्याख्या सहित सच्याउने उद्देश्यले २००९ असोज ५ मा नयराज पन्तले संशोधन-मण्डलको स्थापना गरेका थिए।