ऊर्जामन्त्रीको नियुक्तिमा स्वार्थको द्वन्द्व
नेपाली कांग्रेसबाट मन्त्री बनेका दीपक खड्का स्वार्थ बाझिने मन्त्रालय सम्हाल्न पुगेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मा पाएका छन्, दीपक खड्काले। संखुवासभाबाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभामा निर्वाचित सांसद खड्काले ऊर्जामन्त्रीको जिम्मेवारी पाउँदा सीधै स्वार्थको द्वन्द्व देखिएको छ।
उनी रसुवामा निर्माणाधीन १२० मेगावाट क्षमताको रसुवा-भोटेकोशी जलविद्युत् परियोजनाको प्रवर्द्धक हुन्। चिनियाँ लगानीकर्तासँगको साझेदारीमा यो आयोजना निर्माणाधीन छ। उनी मेन्छियाम जलविद्युत् कम्पनीले प्रवर्द्धन गरेको माथिल्लो पिलुवा खोला जलविद्युत् आयोजनाको पनि लगानीकर्ता हुन्।
जलविद्युत् क्षेत्रमा लगानी गरिरहेका खड्का सोही क्षेत्रलाई नेतृत्व गर्ने मन्त्रालय हाँक्न पुगेका छन्। उनले यसअघि नै ‘लकइन पिरियड’ अर्थात् बिक्री गर्न नपाइने अवधि नसकिएका आयोजनाको ५० प्रतिशत संस्थापक शेयर बिक्रीका लागि विद्यमान नियमावली परिमार्जन गर्न ‘लबिइङ’ गर्दै आएका थिए।
खड्का लैनचौरस्थित नेपाल स्काउटको १२ रोपनी जग्गा कब्जा गरी आफ्नो निजी व्यवसायमा प्रयोग गरेकोमा विवादित छन्।