मनसुन जागेका १२ दिन
यसपालिको आरीघोप्टे वर्षाले ‘रेकर्ड’ उछिन्दै भविष्यमा बाढीपहिरोको अझ उच्च जोखिमको संकेत गरे पनि जनस्तरमा त्यस अनुरूप मौसमी सूचनाको जानकारी राख्ने र सावधानी अपनाउने प्रवृत्ति देखिंदैन।
यस वर्ष जेठ २८ देखि पूर्वी नेपालबाट शुरू भएको मनसुन असार १४ देखि २५ सम्म निकै सक्रिय रह्यो। यसबीच धेरै ठाउँमा दुई/तीन दिन अविरल वर्षा भयो। कतै छोटो समयको आरीघोप्टे (कतै कतै हात्तीसुँडे पनि भनिन्छ) वर्षाले जनधनको क्षति हुने गरी भूक्षय, पहिरो र बाढी ल्याइदियो।
विगतका केही अध्ययन अनुसार हिमाली क्षेत्रमा २४ घण्टाभित्र १०० मिमीभन्दा बढी वा तीन दिनमा २०० देखि २४० मिमी वर्षा भए पहाडी ढाल (भिरालो क्षेत्र) चलायमान भइदिन्छ। परिणाम- सानातिना पहिरो जानुका साथै खोलाखोल्सीमा पानीको बहाव बढ्न गई बाढी र कटानका घटना हुन सक्छन्।
२४ घण्टामा ३०० मिमीभन्दा बढी वा तीन दिनमा ६०० देखि १००० मिमीसम्म पानी परे पहाडी ढाल छियाछिया भई ठूला पहिरो समेत जान सक्छन्। खोलाखोल्सीमा भलपानी र माटोढुंगाको मात्रा बढेर नदी कटान तथा डुबान हुन सक्छ।
अहिले जलवायु परिवर्तनका कारणले छोटो समयमा भारी वर्षा हुने दर बढ्दै गएको विभिन्न अध्ययनले प्रमाणित गरिसकेका छन्। यसले पहिरो र बाढीको जोखिम समेत बढाइरहेको छ।
विगत बिर्साउने वर्षा
जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा गत असार १४ देखि २५ सम्मका १२ दिनमा २४ घण्टाभित्रको अधिकतम वर्षा ५६ देखि ६२४ मिमीसम्म मापन गरिएको छ। दुई दिन १०० मिमीभन्दा कम र अरू आठ दिन २४ घण्टामा १०० मिमीभन्दा बढी वर्षा भएको थियो। ३२ स्थानमा १०० मिमीभन्दा बढी वर्षा मापन भएको छ।
असार २३ मा पाल्पाको कुमाल गाउँमा २४ घण्टाभित्र ४०८.२ मिमी वर्षा भएको थियो भने २४ गते कञ्चनपुरको दोधारामा ६२४ मिमी, हनुमाननगरमा ५७३.६ मिमी र सुन्दरापुर केन्द्रमा ५५५.८ मिमी मापन गरिएको थियो। दोधाराको उक्त परिमाण नेपालमा २४ घण्टाभित्र भएको वर्षाको अभिलेखमा अहिलेसम्मकै बढी हो।
यसअघि १९ जुलाई १९९३ मा कुलेखानीको टिस्टुङ स्टेशनमा २४ घण्टामा ५३९.५ मिमी, १७ अगस्ट २०१७ मा हेटौंडा केन्द्रमा ५१६.२ मिमी, सन् १९६० मा मुसिकोटमा ५०३ मिमी र सन् १९६८ मा गुमथाङमा ५०५ मिमी वर्षा मापन भएको थियो। अन्तर्राष्ट्रिय रूपमा हेर्दा चीनमा २४ घण्टामा अधिकतम १,०६० मिमी, ताइवानमा १,२४८ मिमी र भारतमा ८२० मिमी मापन गरिएको छ।
१२ दिनमा ५०० मिमीभन्दा बढी वर्षा मापन गरिएका कञ्चनपुरका तीन केन्द्र दोधारा, हनुमाननगर र सुन्दरापुर २३ किमी दूरीभित्र पर्छन्। यस क्षेत्रबाट नजीक रहेका अन्य वर्षा मापन केन्द्र जोगबुढा (हनुमाननगरबाट १५ किमी) र धनगढी (३७ किमी) हुन्। यी केन्द्रको तथ्यांक उपलब्ध नभएकाले के-कति क्षेत्रमा भारी वर्षा भयो, यकीन गर्न सकिएन।
यसअघिका उल्लेखनीय आरीघोप्टे वर्षा ललितपुरको लेले भारदेउ क्षेत्रमा सन् १९८१ मा, मकवानपुरको कुलेखानी र सिन्धुली क्षेत्रमा क्रमशः १९ र २० जुलाई १९९३ मा, स्याङ्जाको कोल्मा क्षेत्रमा २९ अगस्ट १९९८ मा भएका थिए। कुलेखानीमा वर्षाले प्रभाव पारेको क्षेत्र ५३० वर्गकिमी (लम्बाइ ४० किमी र चौडाइ २० किमी) थियो। यस्तै स्याङ्जामा प्रभावित क्षेत्र ५५ वर्गकिमी (लम्बाइ १४ किमी, चौडाइ सात किमी) थियो। यी वर्षाका कारण पहाडी क्षेत्रमा धेरै पहिरो गएका थिए। लेले क्षेत्रमा प्रतिवर्गकिमी ४६ वटा, मकवानपुरको टिस्टुङ-पालुङ क्षेत्रमा ४७ वटा र स्याङ्जामा ४१ वटा पहिरो गएका थिए।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार मकवानपुरको कुलेखानी र सिन्धुलीमा भएको वर्षाले निम्त्याएको बाढीपहिरोले यी दुई जिल्ला सहित धादिङ, चितवन, काभ्रे, रौतहट र सर्लाहीसम्मका गरी ६९ हजार २०० परिवारलाई प्रभाव पारेको थियो। कम्तीमा ९७५ जनाको ज्यान गएको थियो । स्याङ्जामा वर्षाले एक हजार ६३४ परिवारलाई प्रभाव पारेको थियो भने ५२ जना मारिएका थिए। विगतका यी आरीघोप्टे वर्षाको दाँजोमा यसपालिको परिमाण धेरै भए पनि क्षति कम छ। किनकि यसपालिको वर्षा दक्षिण-पश्चिम तराईमा केन्द्रित थियो। कुलेखानी र स्याङ्जाका हकमा पहाडी माथिल्लो जलाधारमा गएको पहिरो र बाढीले धेरै नोक्सान पुर्याएको थियो।
५९ जिल्लामा पहिरो
प्राधिकरणको वेबसाइटमा राखिएको विपद् सम्बन्धी बुलेटिन अनुसार असार १५ पछिका १२ दिनमा ७७ मध्ये ५९ (७७ प्रतिशत) जिल्लामा ४११ वटा पहिरो गएका थिए। खासगरी तराईका १८ र पहाडका तीन जिल्ला मात्र जोगिएका छन्। यस अवधिमा पहिरोबाट १९ जनाको ज्यान गयो भने दुई जना बेपत्ता र ३० जना घाइते भए। जनको क्षति भएका जिल्लामा ताप्लेजुङ, ओखलढुंगा, सिन्धुपाल्चोक, काठमाडौं, चितवन, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, गुल्मी, रोल्पा, रुकुम पूर्व, जाजरकोट, कालीकोट, बाजुरा, बैतडी र कञ्चनपुर पर्छन्।
१६ जिल्लामा प्रत्येकमा १० वटाभन्दा बढी पहिरो गएका छन्। पहिरो खासगरी तीन वटा क्षेत्रमा बढी गएको देखिन्छ- पूर्वमा ताप्लेजुङ (२०), ओखलढुंगा (१३), सोलुखुम्बु (३५) र भोजपुर (१३), गण्डकी-लुम्बिनी क्षेत्रमा पाल्पा (२२), गुल्मी (१२), स्याङ्जा (१७), कास्की (१२), अर्घाखाँची (१८), म्याग्दी (१२), राप्ती-भेरी क्षेत्रमा रोल्पा (१४), सल्यान (१५), प्यूठान (१४), जाजरकोट (१२), कालीकोट (१५) र महाकालीमा बैतडी (१३) आदि। पाल्पाको कुमाल गाउँमा २४ घण्टामा मापन गरिएको ४०८.२ मिमी वर्षाले त्यस वरिपरिका जिल्लामा समेत प्रभाव पारेको हुन सक्छ।
बाढीका ११० घटना
यी १२ दिनमा ७७ मध्ये ४४ (५७ प्रतिशत) जिल्लामा बाढीका घटना भएको देखिन्छ। ती जिल्लामा उक्त १२ दिन ११० वटा बाढीका घटना हुँदा १७ जनाको मृत्यु, दुई बेपत्ता र पाँच घाइते भएका थिए। बाढीले मानवीय क्षति हुनेमा उदयपुर, दोलखा, काभ्रे, काठमाडौं, स्याङ्जा, पाल्पा, रोल्पा, जाजरकोट, सुर्खेत, डोल्पा, दाङ, कैलाली, कञ्चनपुर पर्छन्। पश्चिमी भेगमा क्षति पुग्नेमा कञ्चनपुर, कैलाली र दाङ बाहेक अरू पहाडी जिल्ला हुन्। यस अवधिमा तराईका धेरै जिल्लामा बाढीबाट जनको क्षति भएको छैन।
यस अवधिमा कञ्चनपुरमा सबैभन्दा धेरै बाढीका १४ घटना भएका थिए। त्यसपछि क्रमशः दाङमा १० र कैलालीमा नौ वटा घटना भए। पहिरो र बाढीको प्रभाव सडक यातायातमा पनि देखियो। प्राधिकरणको तथ्यांक अनुसार उक्त अवधिमा २०८ ठाउँमा सडक अवरोध भएको थियो। एक/दुई घटनामा त गुड्दागुड्दैको गाडी र यात्रीलाई पनि पहिरोले किचेको थियो।
उक्त अवधिमा भएका क्षतिको विवरणलाई विगतका यस्तै घटनासँग तुलना गरेर हेर्दा कम देखिन्छ। मौसम सम्बन्धी पूर्व सूचनाले खासगरी बाढीबाट हुने क्षतिमा केही कमी ल्याएको हुन सक्छ। तर अझै पनि यात्रामा निस्कनुअघि मानिसहरूले मौसमी सूचनालाई प्राथमिकता नदिई जोखिम मोलिरहेको पाइन्छ। सरकारले यसतर्फ सर्वसाधारणलाई सचेत गराउनुपर्छ। यस बाहेक पहिरो र बाढीले ल्याउने जोखिम कम गर्न सडकहरूको रेखांकन, पुलपुलेसाको डिजाइनमा बढी ध्यान दिन जरूरी छ। खोलाछेउ सडकको रेखांकन वा पुलको पिलरको उचाइ निर्धारण गर्दा आउन सक्ने बाढीको उचाइ समेत विचारेर निर्माण अघि बढाउनुपर्ने देखिन्छ।
यससँगै भू-उपयोग योजना बनाई बाढी वा पहिरोको जोखिम नहुने ठाउँमा बस्ती विकास गर्ने, यसका लागि आवश्यक नीति-नियम तथा कानून बनाई कार्यान्वयनमा लैजानुपर्छ। माथिल्लो जलाधार क्षेत्रबाट तल्लो जलाधार क्षेत्रलाई वेलैमा सम्भावित जोखिमको जानकारी पुर्याउने गरी समुदायमा आधारित पूर्व सूचना प्रणाली विकास गरिनुपर्छ।