लिम्बूहरूले महिलाको हात समाउन नपाउने राणाकालीन दुई आदेश
चुरौटेले चुरा लगाइदिंदा र धान नाच नाच्दा पुरुषले महिलाको हात समाउने कार्य राज्यको नीति-धर्म विपरीत भएको भन्दै राणा शासकले यसमा बन्देज लगाउन इस्तिहार र सनद जारी गरेका थिए।
राणाशासनको समयमा पुरुषले महिलाको हात स्पर्श गरेर चुरा लगाउनु दण्डनीय अपराध रहेछ। चुरा बेच्ने पुरुषले महिलाको हात समाएर चुरा लगाइदिन नहुने र त्यसो गरेमा चुरा लगाइदिने पुरुष र चुरा लगाइमाग्ने महिला दुवैलाई सजाय हुने उल्लेख भएको विसं १९८४ को इस्तिहार फेला परेको छ। त्यस वेलाको पल्लो किरात लिम्बुवानका लिम्बू चुरावालहरूलाई लक्ष्य गरी आदेश कार्यान्वयन गराउन सुब्बाहरूलाई पठाइएको इस्तिहार हो यो। त्यस बखत श्री ३ महाराज चन्द्रशमशेर थिए।
यो इस्तिहार पाँचथरको फिदिम नगरपालिका–९ निवासी येहाङ लाओतीको घरमा फेला परेको हो।
इस्तिहारमा लेखिएको छ, ‘स्वास्नी मानिसले चुरा लाउँदा बेपारी दोकानदार लोग्ने मानिसका हातबाट कहिँ पनि लाइमाग्न र लाइदिनेले लाइदिन समेत हुँदैन कसैले लाइमाग्यो वा लाइदियाको रहेछ भने लाइमाग्ने स्वास्नी मानिसलाई पानी चलने जातसित लाइमागेको भए १ रुपैैयाँ देखि १० रुपैयाँ र पानी नचलने जातिसित लाइमागेको भए २ रुपैयाँदेखि २० रुपैयाँसम्म हाकिमका तजविजले दण्ड गर्नु लाइदिनेलाई पानी चलने जात भए ६ मैन्हा पानी नचलने जात भए १ वर्ष कैद गर्नु सो कैदको रुपैयाँ दिया पनी नलिनु। इति सम्वत् १९८४ साल जेठ १५ गते रोज ४ शुभम्।’
इस्तिहारमा चुरा लगाइमाग्ने महिलालाई जरिवानाको मात्र व्यवस्था छ। तर चुरा व्यापारी पुरुषलाई कैद सजायको विकल्प दिइएको छैन।
यही इस्तिहारमा ‘विदेशी’ धर्म प्रचार गर्ने र धर्म परिवर्तन गर्नेलाई सजायबारे पनि उल्लेख छ। त्यस वेला कोशी र त्यसका ठूला सहायक नदीहरू तरेर पुग्नुपर्ने कठिनाइका कारण हुन सक्छ, राणाकालीन इस्तिहारहरूमा पल्लो किरात लिम्बुवानलाई ‘जंगलात मुलुक’ भनिएको पाइन्छ। कोशी तरेर जान गाह्रो भएकाले धर्म प्रचार र परिवर्तन गराउने मानिसहरू त्यस भूगोलमा पुग्नु त्यति सहज थिएन। यसैले इस्तिहारको माथितिर धर्म प्रचार र परिवर्तनको विषय लेखे पनि मुख्य रूपमा महिलाको हात समाएर चुरा लगाउने चुरौटेहरूलाई लक्ष्य गरेर आदेश जारी गरिएको अनुमान गर्न सकिन्छ।
यो इस्तिहार जारी भएको ताका गाउँघरमा चुरौटेहरू पुग्ने चलन कस्तो थियो त? सरदार भीमबहादुर पाँडेले विसं १९८० तिरको स्मरण भन्दै हालको गण्डकी प्रदेशको गाउँघरबारे त्यस बखतको नेपाल (भाग १) मा लेखेका छन्, ‘वर्षको एकाध पटक चुरेटा चुरेटिनीहरु घरघरै आउँदथे। गाउँले स्वास्नी मानिसले चुरेटिनीको हातबाट मात्र चुरा लगाउँदथे, स्वास्नी मानिसले परचक्री लोग्ने मानिससँग सितीमिती नछोइने चलन हुँदा। चुरेटाहरु आफूलाई मिया भन्दथे। गाउँलेहरुले अछुतलाई भन्दा चुरेटाहरुलाई बढी हेला गर्दथे। सायद उसलाई विदेशी धर्मावलम्बी जस्तो ठानेर होला।’
सरदार पाँडेको यो भनाइलाई आधार मान्दा चुरौटेले महिलालाई चुरा लगाइदिने चलन नेपालका सबै ठाउँमा थिएन भन्न सकिन्छ। देशभरिको समस्या हुँदो हो त मुलुकी ऐन, विसं १९१० मा चुरा सम्बन्धी ऐन हुनुपर्ने हो। तर देखिंदैन। सुब्बाहरूलाई पठाइएको इस्तिहार भएका कारण पनि चुरा लगाउँदा हात समाउनुलाई राणा सरकारले विशेषगरी तत्कालीन पल्लो किरात लिम्बुवानको समस्या मानेको देखिन्छ।
विसं १९८६ मा जन्मेका पाँचथर फाल्गुनन्द गाउँपालिका-१, अम्लाबुङका रणबहादुर आङदेम्बेले राणाकालीन समयमै चुरा व्यापार शुरू गरेका थिए। उनका अनुसार त्यस वेलाको पल्लो किरात लिम्बुवानमा जति पनि चुरौटे थिए, प्रायः सबै लिम्बूहरू नै थिए। उनीहरू त्यस व्यवसायमा लाग्नुको खास कारण लिम्बू बस्तीमा सुँगुरको जगर प्रशस्त पाइन्थ्यो। सुँगुरको जगर विभिन्न खालका ब्रस बनाउन र महँगा पहिरन बनाउन प्रयोग हुन्छ भन्ने उनीहरूले सुनेका थिए। त्यसै कारण उनीहरू चुरा बेच्न घर घर डुलेर सुँगुरको जगर संकलन गर्थे। संकलित जगर दार्जीलिङ लगेर बेच्थे र फर्कंदा चुरा ल्याउँथे। यसरी उनीहरू दोहोरो व्यापार गर्थे। चुरा बिक्रीबाट भन्दा सुँगुरको जगर बेच्दा दोब्बर फाइदा हुने भएकाले जगर संकलन गर्नु लिम्बू चुरौटेहरूको मुख्य चासो हुन्थ्यो।
चुरौटेहरूले महिलाको हात समाएर चुरा लगाइदिनुपर्ने उनीहरूको व्यावसायिक बाध्यता थियो। काँचका चुरा फुट्ने भएकाले हात समाएरै कुन आकारको चुरा दिनुपर्ने भनेर उनीहरू राम्ररी ठम्याउन सक्थे। अर्कातिर, आफैं चुरा लगाउन खोज्ने महिलाले धेरै चुरा फुटाइदिने भएकाले त्यो क्षति चुरावालहरू लिन चाहँदैनथे। चुरौटेले चुरा लगाइदिने क्रममा कुनै चुरा फुटेमा त्यसको साटो अर्को चुरा उसैले दिने भएकाले महिलाहरू पनि चुरौटेकै हातबाट लगाउन अघि सर्थे। लिम्बू चुरौटेहरू चुरा बेच्नकै लागि आफ्नी श्रीमती लिएर जगर खोज्न जान पनि सक्दैनथे। त्यस वेला धेरै लिम्बुनी तान बुन्ने पेशामा लागेका थिए। तानका कपडाको राम्रो माग थियो।
लिम्बू चुरौटेका लागि चुरा लगाउने क्रममा महिलाको हात समाउनै नपाउने भन्ने नियम नौलो र हास्यास्पद थियो। किनभने लिम्बू समाजमा साइनो नलाग्ने विवाहित/अविवाहित जोकोही महिला र पुरुष हाटबजार, बिहेभोज आदिमा एकअर्काको हात समाएर धान नाच्ने चलन आदिकालदेखि चलिआएको संस्कार थियो।
महिलाको हात समाएर चुरा लगाउन बन्द गर्नू भन्ने व्यहोराको इस्तिहार जारी भएको ६ वर्षपछि विसं १९९० मा धान नाच बन्द गराउनू भनी श्री ३ महाराजबाट सनद जारी भयो। उक्त वर्षको कात्तिक ९ गते तत्कालीन पल्लो किरात ताप्लेजुङ अमिनीबाट जारी गरिएको सनदमा पनि महिला र पुरुषको हातको स्पर्शप्रति आपत्ति प्रकट गरिएको छ। उक्त सनद भगिराज इङ्नाम लिखित पुस्तक लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (२०७७) पुस्तकमा छापिएको छ। यो सनद जारी गरिएको ताका जुद्धशमशेर श्री ३ थिए।
सनदमा लेखिएको छ, ‘लिंबु राई समेतका मतवाली जातका तरुनी तंनेरीहरु जाहां जाहांं धेरै मानिस जम्मा भै अदल मिची हास ष्याल ठट्टा मस्केवारी समेत इत्यादि सधुवा स्वास्नी लगायेत नीति धर्म बीरुद्ध किसिम अरु कोही लोगने मानीस संग धां नाचने चलं गरी येसबाट उनैहरुमा हानी नोकसानी बुझाई हुदामा सबै कुराबाट बदमासी कां मात्र भैरहने असल कां भनु यौटै नभएको तेस्माथी अरु जातमा पनि यो चलं हुन लागी बदमासी मात्रै बडदै गयाको बेहोरा हाम्रा हजुरमा भयाको हुनाले बंद गर्ने मनासीव हाम्रो चित्तमा लागेकोले यो चलं बंद गर्ने तेस अडा इलाका संमका रैती सबैलाई धां नाचन नदिनु।’
चुरा बेच्ने चुरौटेले महिलाको हात समाएर चुरा लगाइदिनु उसको पेशा थियो। यस्तै, लिम्बू पुरुष र महिला हात समाएर धान नाच्नु उनीहरूको संस्कृति हो। नागरिकको परम्परागत पेशा र संस्कृति राज्यले संरक्षण गर्नुपर्ने विषय हो। तर ती पेशा र संस्कृतिभित्र पर्न गएको पुरुष र महिलाको हातको स्पर्श त्यस वेला राज्यले अँगालेको नीति-धर्मसँग मेल नखाएको देखिन्छ। सनदमा धान नाच नीति-धर्म विरुद्ध भएको लेखिएकाले उक्त कार्य राज्यले अँगालेको नीतिनियम विरुद्ध थियो भन्ने बुझिन्छ।
सधुवा महिलाले धान नाचेकोमा सनदको विशेष आपत्ति देखिन्छ। अरू जातिमा पनि यो चलन बढ्दै गएको विषयमा समेत चिन्ता व्यक्त गरिएको देखिन्छ। धान नाच्दा गाइने लोकगीतलाई पालाम भनिन्छ। प्रायः नौ वटा शब्दको छन्दबाट बनेको सुर, लय भाका मिलाएर गाउनुपर्ने पालामले आदिकालदेखिको लिम्बू लोकसाहित्य उजागर गर्छ।
सनदमा उल्लेख भए जस्तो धान नाचमा अश्लीलता हुँदैन। यो नाच बन्द गराउनू भन्ने यो सरकारी आदेशको मुख्य आपत्ति पुरुष र महिलाले हात समातेर नाचिनेप्रति थियो। यस्तै, चुरा लगाइदिने कार्यबारेको इस्तिहार पनि पुरुष र महिलाको हातको स्पर्शप्रतिको आपत्ति नै थियो।
विसं १९८६ मा जन्मेका पाँचथरको फिदिम नगरपालिका-१ का गंगाराम भट्टराई र फाल्गुनन्द गाउँपालिका-१ का रणबहादुर आङदेम्बेका अनुसार त्यस वेला राणा सरकारबाट जारी भएको त्यो इस्तिहार र सनदबारे सबैलाई थाहा थियो। तर त्यस वेला भित्रभित्रै राणाहरू विरुद्धको अवज्ञा आन्दोलन शुरू भइसकेकाले ती आदेश खासै प्रभावकारी भएनन्।
यद्यपि यसभन्दा अघि राज्यले अवलम्बन गरेको नीति-धर्मसँग मेल नखाएको भनेर यस्तै इस्तिहार वा निर्देश जारी गर्दा देशभित्र कति संस्कार, संस्कृति र परम्परागत पेशाहरू लोप भए होलान्, त्यो खोजीको विषय बनेको छ।