त्रिशूलीमा हराएका ६२ मध्ये चार यात्रु मृत भेटिए
पहिरोले बगाउँदा त्रिशूली नदीमा खसेका दुई वटा यात्रुवाहक बसमा सवार चार यात्रु मृत भेटिएका छन्।
आइतबार गैंडाकोटमा मृत फेला परेका यात्रु भारतको बेतिया मझेलिया थानास्थित गुठिया ईन्दुका ३० वर्षीय सजाद अन्सारी रहेको पुष्टि भएको छ। उनका दाइ मेराज हुसेनले सनाखत गरेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।
दाइ मेराजका अनुसार सजाद वीरगन्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा सवार थिए। बस त्रिशूलीमा हराएको खबर पाएपछि खोजबिनका लागि मेराज सिमलताल पुगेका थिए। आइतबार गैंडाकोटमा शव भेटिएपछि भरतपुर ल्याइएको थियो।
यसअघि तीन जना यात्रुको सनाखत भएको थियो। गैंडाकोटमै सर्लाहीको बरहथवा नगरपालिका-३ का १९ वर्षीय रमितकुमार माझी मृत भेटिएका थिए। उनका बुबा रवीन्द्रकुमार माझीले सनाखत गरेका हुन्। रमित काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको बसमा सवार रहेको बुबा रवीन्द्रले बताएका छन्।
त्यस्तै, गैंडाकोटमै मृत भेटिएका चितवनको माडी नगरपालिका-२ का २२ वर्षीय विकास परियार वीरगन्जबाट काठमाडौं आउँदै गरेको बसमा सवार रहेको पाइएको छ। उनका दाइ विजय परियारले सनाखत गरेका थिए। उनी काठमाडौं आउन भरतपुरबाट बसमा चढेको दाइ विजयले बताए।
यसअघि शनिबार गोलाघाटमा मृत भेटिएका भारतको बिहारस्थित सीतामढी बर्गिनिया जमुवाका २८ वर्षीय ऋषिपल साह काठमाडौंबाट गौर जाँदै गरेको बसमा सवार यात्रु रहेको पुष्टि भएको थियो। उनका दाइ सतपाल साहले सनाखत गरेका थिए। उनी काठमाडौंमा काम गर्दै आएका थिए।
गैंडाकोटमै एक जना मृत भेटिएका छन्। उनी त्रिशूलीमा हराइरहेका बसमा सवार यात्रु हुन् कि होइन भन्ने पुष्टि हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी यादवले बताए।
त्रिशूली नदीमा खसेका दुई बसमा ६५ यात्रु सवार थिए। जसमध्ये तीन जना पौडी खेलेर बाहिर निस्केका थिए। हराइरहेका ६२ मध्ये चार जना मृत भेटिएका छन्। अन्यको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेको छ।