त्रिशूलीको धमिलो पानीमा कसरी गरिंदै छ यात्रुको खोजी?
तीन दिनअघि पहिरोले दुई वटा यात्रुवाहक बस बगाउँदा त्रिशूली नदीमा हराइरहेका ५७ यात्रुको सिमलताल र त्योभन्दा ५० किलोमिटर तलसम्म खोजी भइरहेको छ।
मनसुनी वर्षाले त्रिशूलीसँगै आसपासका नदीनालामा बाढी आइरहेको छ। बाढीले देशभरका सबैजसो नदीमा धमिलो पानी बगिरहेको छ। त्रिशूलीको धमिलो पानीमा सुरक्षाकर्मी र सर्वसाधारण भने तीन दिनदेखि हराइरहेका ५७ यात्रुलाई खोजिरहेका छन्।
असार २८ गते बिहान साढे ३ बजे काठमाडौंबाट गौरका लागि गएको गणपति डिलक्सको बागमती प्रदेश ०३-२४९५ ख ००१ नम्बरको बस र वीरगन्जबाट काठमाडौं आइरहेको एन्जल डिलक्सको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको बसलाई भरतपुर महानगरपालिका-२९, सिमलतालमा पहिरोले बगाएको थियो। यात्रु सहित दुवै बस त्रिशूलीमा खसेका थिए।
दुवै बसमा चालक सहित ६५ जना सवार रहेको जिल्ला प्रशासन कार्यालय, चितवनले जनाएको छ। बस चलानी हुँदाको यात्रुको सूची र खोजबिनका लागि सिमलताल पुगेका आफन्तजनले बताएका आधारमा दुवै बसमा ६५ जना सवार रहेको पुष्टि भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।
प्रमुख जिल्ला अधिकारी यादवका अनुसार काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्सको बसमा टिकट काउन्टरको चलानमा २७ जनाको नाम थियो। दुर्घटनापछि सम्पर्कमा आएका आफन्तले टिपाएको विवरणका आधारमा थप ११ यात्रु रहेको खुलेको हो। यो बसमा ३८ जना यात्रु थिए भने तीन जना त्रिशूलीमा पौडी खेलेर सकुशल बाहिर निस्केका थिए।
त्यस्तै, वीरगन्जबाट काठमाडौं आउँदै गरेको एन्जल डिलक्स बसमा २३ जना रहेको चलानीमा उल्लेख छ। दुर्घटनापछि आफन्तले टिपाएको विवरणका आधारमा थप चार जना रहेको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी यादवले बताए।
योसँगै दुवै बसमा ६५ जना सवार रहेको पाइएको छ। तीन जना सकुशल छन्। दुवै बसमा गरी ६२ जना हराइरहेका थिए। उनीहरूमध्ये पाँच जना मृत भेटिएको प्रमुख जिल्ला अधिकारी यादवले बताए। “पाँच जनाको शव आफन्तले सनाखत गरेका छन्,” उनले भने।
अहिलेसम्म भारतीय नागरिक बिहारस्थित सीतामढी बर्गिनिया जमुवाका २८ वर्षीय ऋषिपल साह, पश्चिम चम्पारण बेतियाथानाका ३० वर्षीय जयप्रकाश ठाकुर र बेतिया मझेलिया थानास्थित गुठिया ईन्दुका ३० वर्षीय सजाद अन्सारी तथा चितवनको माडी नगरपालिका-२ का २२ वर्षीय विकास परियार र सर्लाहीको बरहथवा नगरपालिका-३ का १९ वर्षीय रमितकुमार माझीको मृत भेटिएका हुन्।
अझै पनि त्रिशूली नदीमा खसेका दुई वटा बसमा सवार ५७ यात्रु हराइरहेका छन्। उनीहरूको खोजीका लागि गोताखोर र प्रविधिको प्रयोग भइरहेको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खोजबिनमा लागेको छ। सशस्त्र प्रहरी बल नेपाल एवं विपद् तालीम शिक्षालय कुरिनटारका प्रमुख एसएसपी माधव पौडेलका अनुसार बाङ्लादेशबाट तालीमप्राप्त १० जना गोताखोर परिचालित छन्। गोताखोरसँगै शिक्षालयका सशस्त्र प्रहरीको सय जनाको टोली परिचालन गरिएको पौडेलले बताए।
त्यस्तै, त्रिशूली नदीमा एन्कर (फलामे हुक), वाटर ड्रोन (सोनार), पाइप इन्स्पेक्शन स्वेर क्यामेरा लगायत आधुनिक उपकरणको प्रयोग गरी खोजी भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका वरिष्ठ उपरीक्षक तीर्थ पौडेलले बताए।
“नदीको धमिलो र बगिरहेको पानीमा गोताखोरले आधुनिक उपकरणको प्रयोग गरी खोजी गरिरहेका छन्,” पौडेलले भने, “अन्तर्राष्ट्रिय रूपमा समुद्रको सफा पानीका लागि तयार पारिएका उपकरण धमिलो पानीमा प्रभावकारी नहुने भएकाले सोही अनुसार उपकरण प्रयोग गरिएको छ।”
यसअघि त्रिशूली नदीमा खसेको गाडी खोजतलासका लागि बाङ्लादेशबाट गोताखोर आएका थिए। तर बगेको धमिलो पानीमा काम गर्न सहज नभएको भन्दै नदीमा पसेका थिएनन्।
यसैगरी, नेपाली सेनाको विपद् व्यवस्थापन गण, रसौलीको टोली खोजतलासमा खटिएको छ। नेपाली सेनाका आठ जना गोताखोर परिचालन गरिएका छन्। उनीहरूसँगै थप सैनिक पनि परिचालित छन्।
सशस्त्र प्रहरी र नेपाली सेनाको गोताखोर टोलीले नदीको १५ मिटर गहिराइसम्म पुगेर खोजतलास गरिरहेको छ। धमिलो पानीमा धेरै टाढासम्म नदेखिने भए पनि सम्भावित ठाउँ ठाउँमा गोताखोरले गहिराइसम्म पुगेर खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी यादवले बताए। “सम्पूर्ण प्रयास र जनशक्ति परिचालन गरेर खोजी गरिरहेका छौं,” उनले भने।
सुरक्षाकर्मीले असार २८ गते बिहान सिमलताल क्षेत्रबाट खोजी शुरू गरेका थिए। असार २९ मा सिमलतालभन्दा ५० किलोमिटर तल नारायणी नदीमा एक यात्रु मृत भेटिएका थिए। त्यसपछि सिमलतालदेखि गोलघाट क्षेत्रसम्म खोजबिन भइरहेको छ।