आज तीन प्रदेशमा अत्यधिक वर्षा हुने आकलन
हाल देशभर मनसुनी वायुको प्रभाव रहे पनि पूर्वी क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
अहिले कोशी प्रदेश, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने विभागले जनाएको छ।
विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा अत्यधिक वर्षा हुने विभागको अनुमान छ।
त्यस्तै, आज राति देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको आकलन छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भने अत्यधिक वर्षाको सम्भावना छ।
आगामी २४ घण्टामा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा अत्यधिक वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढीपहिरोको क्षतिबाट बच्न विभागले अनुरोध गरेको छ।