त्रिशूलीमा हराएको बसमा सवार एक यात्रु ५० किलोमिटर तल मृत भेटिए
चितवनको सिमलतालबाट त्रिशूली नदीमा खसेको बसमा सवार एक यात्रु करीब ५० किलोमिटर तल नारायणी नदी किनारमा मृत भेटिएका छन्।
चितवनको भरतपुर महानगरपालिका-२८ स्थित नारायणी नदी किनारमा एक यात्रु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालले बताए। नारायण किनारमा मृत भेटिएका युवक काठमाडौंबाट गौरतर्फ गइरहेको गणपति डिलक्सको बसमा सवार भारतीय नागरिक ऋषिपाल साहको रहेको रिजालले बताए।
“नदी किनारमा घोप्टो परेको अवस्थामा आज बिहान शव भेटिएको थियो। शवको साथमा केही कागजात पनि भेटिएका थिए,” डीएसपी रिजालले भने, “कागजातका आधारमा शव भारतीय नागरिक ऋषिपल साहको रहेको पुष्टि भएको छ।”
उनीसँगै भेटिएका कागजातका आधारमा खोजबिन गर्दा ऋषिपालका दाइ सत्यपाल साहले बसमा सवार यात्रु रहेको पुष्टि गरेका हुन्। भारतको मोतिहारीस्थित राजमुनुवाका २८ वर्षीय ऋषिपाल नेपालमा काम गर्दै आएका थिए। उनी काठमाडौंको जोरपाटीबाट गौर जान बसमा चढेको सत्यपालले बताए।
त्यस्तै, शनिबार दिउँसो गैंडाकोट नगरपालिका-७ स्थित नारायणी नदी किनारमा दुई जना मृत भेटिएका छन्। उनीहरू सिमलतालबाट त्रिशूलीमा खसेका दुई वटा बसमा सवार यात्रु हुन् कि होइन भन्ने यकीन गर्न प्रहरी टोलीलाई घटनास्थल पठाइएको डीएसपी रिजालले बताए। यो सिमलतालबाट करीब २५ किलोमिटर तल हो।
काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्सको बागमती प्रदेश-०३-००१ ख २४९५ नम्बरको बस सिमलतालमा पहिरोले बगाउँदा त्रिशूलीमा खसेको थियो। त्यसमा सवार नन्दन दास, सुरजप्रसाद गुप्ता र जगेश्वर यादव त्रिशूली नदीमा पौडी खेलेर जोगिएका थिए।
त्यस्तै, शुक्रबार बिहान साढे ३ बजे नै वीरगन्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश-०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्सको बस पनि नदीमा खसेको थियो। दुवै बसमा गरेर ६५ यात्रु रहेको प्रहरीको अनुमान छ।
दुई दिनदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले त्रिशूली नदीमा खोजबिन गरिरहेको छ। शनिबार अपराह्नसम्म एक जनाको मात्रै शव भेटिएको छ। अन्य यात्रुको खोजी जारी रहेको प्रहरीले जनाएको छ।