मन्त्री छान्ने मापदण्ड सहित यस्ता छन् कांग्रेसका तीन निर्णय
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मन्त्री छान्ने मापदण्ड तय गर्नेसँगै तीन वटा निर्णय गरेको छ।
कांग्रेस केन्द्रीय कार्यालयमा शनिबार बसेको कार्यसम्पादन समितिको बैठकले तीन वटा निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले बताए। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता महतले सरकारमा सहभागी हुने निर्णय भएको बताए।
“केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेपाली कांग्रेस र नेकपा (एमाले) बीच असार १७ गते भएको सहमति अनुसार नेपालको संविधानको धारा ७६(२) बमोजिम गठन हुने एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ,” महतले भने।
कांग्रेसले गरेको दोस्रो निर्णयमा मन्त्री छनोटको मापदण्ड रहेको छ। कार्यसम्पादन समितिको बैठकले मन्त्री छान्ने मापदण्ड पनि तय गरेको महतले बताए। “सरकारमा सहभागी हुने मन्त्री चयन गर्दा मुख्य दुई वटा मापदण्ड तोकिएको छ। पहिलो समावेशिता र दोस्रो प्रादेशिक सन्तुलन,” महतले भने, “दुवै मापदण्डलाई दृष्टिगत गरेर मन्त्री चयन गरिनेछ।”
यससँगै कांग्रेसले गरेको तेस्रो निर्णयमा चितवनको सिमलतालमा पहिरोमा बगेर त्रिशूली नदीमा खसेका दुई वटा यात्रुवाहक बसका विषयमा छ। त्रिशूलीमा हराइरहेका यात्रुको खोजीका लागि राज्यको सबै शक्ति प्रयोग गर्न सरकारलाई आग्रह गरेको छ।
कांग्रेसबाट को को मन्त्री बन्दै छन् भन्ने प्रश्नमा प्रवक्ता महतले तय हुन बाँकी रहेको बताए। मापदण्ड तय भएको र त्यसकै आधारमा मन्त्री छनोट हुने उनको भनाइ थियो।
राष्ट्रपतिले आह्वान गरे अनुसार एमाले अध्यक्ष ओलीले शुक्रबार नै प्रधानमन्त्रीमा दाबी गरेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा लगायत नेता सहित शीतल निवास पुगेका ओलीले आफूलाई १६५ सांसदको समर्थन रहेको जनाएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत गुमाएपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए। राष्ट्रपतिले आइतबार साँझ ५ बजेसम्मको समय दिएका छन्।