जब वृद्धलाई बचाउन अपरिचत युवाले उर्लिएको खोलामा हाम फाले...
काठेपुल समेत नहुँदा जाजरकोटको शिवालय गाउँपालिकाका हजारौं बासिन्दाको खुशी एउटा खहरे खोलाले खोसिरहेको छ।
घरमा चामल सकिएको थियो। केही दिनदेखि लगातार झरी परिरहेको थियो। झरीमै गाउँको बजार पुगेर चामल किन्ने साहस जुटेको थिएन। किनकि बजार पुग्न तर्नुपर्ने खोला उर्लिएर आएको थियो।
असार २३ को बिहान झरी अलिकति थामियो। जाजरकोटको शिवालय गाउँपालिका-३ का सीमागाउँका ६५ वर्षीय गंगेबहादुर बस्नेत गाउँकै ऐरीबजार पुगे। तर चामल किनेर फर्किंदा नेपाखोला उर्लिसकेको थियो।
शिवालय गाउँपालिका-३ मा पर्छ, नेपाखोला। यसले सीमागाउँ र ऐरीबजारलाई छुट्याएको छ। दैनिक उपभोग्य सामानका लािग सीमागाउँका बासिन्दा ऐरीबजार पुग्छन्। स्कूल, स्वास्थ्य संस्था पनि ऐरीबजार क्षेत्रमै छन्।
स्थानीय युवा नेपाखोलामा काठेपुल हाल्दै थिए। काठेपुल हाल्न लागेको ठाउँभन्दा करीब २० मिटर जति माथि पर्खिरहेका थिए, बस्नेत। “महिला, बालबालिका, विद्यार्थी, कर्मचारी, बजार जानेहरू सबै खोला तर्न नसक्दा ओत लागेर बसेका थिए,” स्थानीय लिलन रेग्मी भन्छन्।
शिवालय गाउँपालिकाको पशुपन्छी विकास विभागका प्राविधिक रेग्मी पनि खोला तर्न नसकेर पर्खिरहेका थिए।
बस्नेत भने छिटै घर पुग्ने छटपटीमा थिए। बिहानै बजार गएका उनी चामल किनेर फर्किंदा दिउँसोको २ बजिसकेको थियो। घरमा वृद्धा श्रीमती मात्रै थिइन्। छोराबुहारी कोही भारत त कोही तराई झरेका छन्। “म पनि खोला तर्न नसकेर बसेको थिएँ, तर उहाँ (बस्नेत) एक्कासि आफै खोला तर्न जानुभएछ,” रेग्मी भन्छन्।
उर्लिएको नेपाखोलामा बस्नेतले सामानको भारीसँगै धेरै बेर पाइला चल्न सकेनन्। ढुंगामाटोसँगै बगे।
पर्खेर वरपर बसिरहेका मान्छे कराउन थाले। सबै भनिरहेका थिए, ‘मान्छे बग्यो। बचाऊ, बचाऊ!’
काठेपुल राख्दै गरेका स्थानीय योगेन्द्र सिंहले पनि मानिस बग्दै आएको देखे। “एक जना मान्छे माथिबाट बगेर आइरहेका थिए, तर कसैले खोलामा हाम फाल्ने आँट गर्न सकिराखेका थिएनन्,” सिंह भन्छन्, “हामी तल रोक्नलाई काठ हालेर बसेका थियौं।”
एकाएक एक जनाले खोलामा हाम फाले। उनको टाउकोमा हेल्मेट थियो। खोलामा जाँदा चाहिने अन्य तयारीका सामान केही थिएनन्। उनले बस्नेतलाई त समाते, तर उर्लिएको खोलामा सम्हालिन सकेनन्। बस्नेत बग्न थाले। “बुबालाई निकाल्न हाम फाल्नुभएका दाइ पनि बग्नुभयो केही बेर,” सिंह भन्छन्, “अलि तल सजिलो ठाउँमा काठ तेर्स्याएर बग्नबाट रोक्यौं। धन्न, बचाउन सफल भयौं।”
यो खोलाले सधैं दुःख दिन्छ। ठूलो पानी पर्ने बित्तिकै उर्लिएर आउँछ। असार तेस्रो साता पनि त्यही भएको थियो। दुई दिन लगातार पानी परेपछि नेपाखोला वारपार गर्न नसकिने भएको थियो। “दुवैतिरका मान्छे कोही स्वास्थ्य चौकी, काेही स्कूल र कोही कार्यालय जानेहरू रोकिएका थिए,” सिंह भन्छन्।
त्यो देखेपछि खोला तर्न सघाउने सिंहसँगै स्थानीय भीमबहादुर पुन, प्रकाश शाही, छत्र हमाल, प्रकाश सिंह र विमल रावल लगायत युवा नेपाखोला पुगेका थिए। सिंह साहस नेपाल पाइला परियोजना अन्तर्गत जलवायु, परिवर्तन र विपद्, कृषि तथा खाद्य सुरक्षा कार्यक्रममा कार्यरत छन्।
उनीहरूले शुरूमा डोरी हालेर मान्छे तार्ने प्रयास गरेका थिए, तर सफल भएनन्। त्यसपछि पाइप राख्न खोजे। त्यो पनि सफल भएन। “अन्तिममा काठका दुई ठूला मुढा काटेर खोलाको बीचमा राख्यौं,” सिंह भन्छन्।
मुढा राखिसकेपछि त्यसमाथि काठ राख्नै खोज्दा बस्नेत बगेका थिए। नेपाखोलामा बगेका बस्नेतलाई जोगाउन हाम फाल्ने युवा बर्दियाका हुन्। उनी बाटो बनाउने कामका लागि सीमागाउँ पुगेका थिए।
“गंगे बुबालाई बचाउन नदीमा हाम फाल्ने दाइ चौधरी हुन् भन्ने सुनेको छु, धेरै थाहा छैन,” उनी भन्छन्, “गाउँका अरू मान्छेलाई पनि उनीबारे थाहा छैन। काम गर्न आएको वेला त्यो घटना भयो, त्यसपछि गइहाले।”
बस्नेतको घुँडा र घाँटीमा चोट लागेको छ। स्थानीय मेडिकलमा उपचारपछि उनी घर फर्किसकेका छन्। अहिले उनी सामान्य अवस्थामा रहेको रेग्मी बताउँछन्।
उनीहरूले खोलाबाट बाहिर निकालेपछि बस्नेत केही बेर चूप लागे। उद्धार गर्नेहरूलाई एकटकले हेर्दै बोले, “बाबुहरू भएर बाँचें।”
जोखिम उस्तै
यो खहरे खोला हो। हिउँदमा निकै सानो भए पनि बर्खा लागेसँगै ठूलो हुन्छ। यो खोला भएर शिवालय गाउँपालिकाका वडा नं. ३, ४, ५, ६ र ७ का बासिन्दाले आवतजावत गर्ने गरेको सिंह बताउँछन्।
यो बाटो मध्यपहाडी राजमार्गको छेडा-कचाली सडकखण्ड अन्तर्गत पर्छ। यो मध्यपहाडी राजमार्ग अन्तर्गत दैलेख जिल्लासँग जोडिन्छ। तर खोलामा पुल छैन।
पुल नहुँदा हरेक बर्खामा स्थानीय बासिन्दाले सास्ती खेप्नुपरेको रेग्मी सुनाउँछन्। “यो क्षेत्रका नागरिकले साह्रै दुःख पाएका छन्,” उनी भन्छन्, “सरकारले एउटा झोलुंगे पुल समेत बनाएको छैन।”
गत वर्ष बर्खामा पनि यही ठाउँमा दुई जना बगेको सिंह सुनाउँछन्। त्यति वेला गाडी चालकले जोगाएका थिए। “पुल नहुँदा दुःख पाइरहेका छौं, तर स्थानीय सरकारले वास्ता गर्दैन,” उनी भन्छन्।
स्थानीय सरकारले आवश्यकता हेरेर काम नगरेको स्थानीय बासिन्दाको गुनासो छ। पुल नबनाएर मन्दिर र घेरबारमा बजेट हाल्ने गरेको उनीहरूको भनाइ छ। नागरिकको आवश्यकता नहेरी नेताले आफ्नो इच्छा अनुसार बजेट बाँडफाँड गरिरहेको स्थानीय बासिन्दा बताउँछन्।
बस्नेत बगेको दिन गाउँपालिका अध्यक्ष शेरबहादुर शाही पनि पुगेका थिए। “खोला बढेकाले मान्छे थुनिएको सुनेपछि म पनि गएको थिएँ,” अध्यक्ष शाही भन्छन्, “यो समस्या मलाई पनि थाहा छ, तर स्थानीय सरकारको बजेटले भ्याउँदैन।”
यस ठाउँमा पुल हाल्न प्रदेश र संघीय सरकारलाई पटक पटक आग्रह गरेको उनी सुनाउँछन्। “स्थानीय सरकारसँग ठूलो संरचना बनाउन पैसा पुग्दैन, तर प्रदेश र संघीय सरकारले हाम्रो कुरा सन्दैनन्,” अध्यक्ष शाही भन्छन्।
गत वर्ष संघीय सरकारले झोलुंगे पुल निर्माणका लागि ३० लाख रुपैयाँ छुट्याएको उनी जनाउँछन्। तर काम अघि नबढेको उनको भनाइ छ।
यस क्षेत्रमा पहिरोको पनि उच्च जोखिम छ। गत वर्ष गएको जाजरकोट भूकम्पको केन्द्रबिन्दु यही क्षेत्र आसपास थियो। त्यसयता पहिरोको समस्या बढेको अध्यक्ष शाही बताउँछन्। उनी भन्छन्, “पोहोर साल भूकम्पले दुःख दियो, अहिले पहिरोले सताउन थालेको छ।”