त्रिशूलीमा भेटिएको पर्दालाई आधार बनाएर खोजिंदै यात्रुवाहक बस
चितवनको सिमलतालमा पहिरोले बगाउँदा त्रिशूली नदीमा खसेका दुई वटा यात्रुवाहक बसको शनिबार बिहानैदेखि खोजी शुरू गरिएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी कार्य शुरू गरेको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बताए। तीनै सुरक्षा निकायका गोताखोर सहितको टोली परिचालन गरिएको रिजालले जानकारी दिए।
त्रिशूलीमा पानीको बहाव घटेको छैन। जसले गर्दा राति खोजबिन गर्न जोखिम हुने भएकाले शुक्रबार स्थगित गरेर आज बिहानैदेखि खोजबिन थालिएको उनको भनाइ छ।
यात्रु खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एउटा मोटरबोट, गोताखोर टोली लगायत परिचालित छन्। शुक्रबार भेटिएका कपडालाई आधार बनाएर आज खोजबिन भइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। “हिजो बसको झ्यालमा लगाएको पर्दा भेटिएको थियो, त्यसलाई आधार बनाएर खोजबिन भइरहेको छ,” यादवले भने।
असार २८ गते बिहान साढे ३ बजे काठमाडौंबाट गौरतर्फ गइरहेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरोमा परेका थिए। पहिरोले बगाएपछि दुवै बस त्रिशूली नदीमा खसेका थिए।
काठमाडौंबाट गौर जाँदै गरेको बसमा २७ र वीरगन्जबाट काठामाडौंतर्फ आउँदै गरेको बसमा २४ यात्रु सवार रहेको प्रमुख जिल्ला अधिकारी यादवले बताए। तीन यात्रु पौडी खेलेर बाँचेका छन्।
यात्रुका आफन्तले भने खोजबिनमा सरकारले ढिलाइ गरेको गुनासो गरेका छन्। उनीहरूले खोजी गर्न आवश्यक प्रविधि र संयन्त्रको प्रयोग गर्दै सबै शक्ति परिचालन गर्न अनुरोध गरेका छन्।
हजुरबुबा दुर्घटनामा परेपछि शुक्रबार नै चितवन आएका रौतहटको गौरका विकेशकुमार पटेलले दुर्घटनापछि परिवार र गाउँ नै शोकमा डुबेको बताएर। “बिहानै दुर्घटनाको खबर पायौं, खोजी गर्न भोकभोकै नदी किनारमा बसेका छौं,” पटेलले भने।
आफ्ना भिनाजु दुर्घटनामा परेपछि रौतहटका रमेशकुमार पटेल पनि शुक्रबार नै चितवन आएका छन्। आफन्त सहित एम्बुलेन्स रिजर्भ गरेर आएको उनले बताए।
शुक्रबार रातिसम्म कोही पनि फेला नपर्दा जीवितै भेट्टाउने आश मारिसकेको उनको भनाइ छ। “शव फेला परे लैजान्थ्यौं। अरू त केही आश छैन,” उनले भने।
बाराको परसौनी गाउँपालिकाका अध्यक्ष विनोदप्रसाद जैसवालले बेपत्ताको खोजी गर्न ढिलाइ भएको गुनासो गरे। बसमा दुई छिमेकी रहेको थाहा पाएपछि घटनास्थलमा आएको उनी बताए।
हेलिकोप्टर र जहाज दुर्घटना हुँदा सबै संयन्त्र प्रयोग गर्ने राज्यले बस दुर्घटना हुँदा खासै वास्ता नगरेको उनको गुनासो छ। “५० भन्दा बढी परिवार पीडामा छन्, सरकार गम्भीर भएको छैन,” उनले भने, “राज्यका सबै संयन्त्र परिचालन गर्न अनुरोध गर्छु।”