राष्ट्रपतिद्वारा नयाँ सरकार गठनका लागि आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार सरकार गठनका लागि आह्वान गरेका छन्।
आइतबार साँझ ५ बजेभित्र दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गरी राष्ट्रपतिबाट संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान भएको जनाएकी छन्।
राष्ट्रपतिको कार्यालयको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि सम्मानीय राष्ट्रपतिज्यू समक्ष आफ्नो दाबी मिति २०८१/३/३० गते आइतबार अपराह्न ५ बजेभित्र पेश गर्न आह्वान भएको छ।’
शुक्रबार प्रतिनिधि सभाबाट विश्वासको मत नपाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल पदमुक्त भएका थिए। त्यस लगत्तै संविधानविद्सँग परामर्श गरेका राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।
संविधानविद्हरूले संविधानको धारा ७६(२) अनुसार नै नयाँ सरकार गठनका लागि आह्वान गर्न सुझाव दिएका थिए।