राष्ट्रपतिलाई बहुमतीय सरकार गठनका लागि आह्वान गर्न संविधानविद्को सुझाव
संविधानविद्ले संविधानको धारा ७६(२) अनुसारको बहुमतीय सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई सुझाव दिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार साँझ संविधानविद्हरू पूर्णमान शाक्य, विपिन अधिकारी, शेरबहादुर केसी, गोपालकृष्ण घिमिरे, टीकाराम भट्टराई र चन्द्रकान्त ज्ञवालीसँग परामर्श गरेका थिए। ज्ञवाली बाहेक सबैले दुई वा दुईभन्दा बढी दलको सरकार गठनका लागि आह्वान गर्न सुझाव दिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।
संविधानविद् विपिन अधिकारीले धारा उल्लेख नगरी बहुमतीय सरकार गठनका लागि आह्वान गर्न सुझाव दिएका थिए। धारा ७६(२) अनुसारको सरकार गठन हुने अवस्था हुँदाहुँदै राष्ट्रपतिले कमजोर सरकार गठनका लागि आह्वान गर्न नहुने अधिकारीको भनाइ थियो।
संविधानविद् चन्द्रकान्त ज्ञवालीले भने धारा ७६(३) अनुसार प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्ने सुझाएका थिए। धारा ७६(२) अनुसारको सरकार गठन गर्दा ७६(३) को पालो कहिल्यै नआउने ज्ञवालीको जिकिर थियो।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले संविधानविद्सँग परामर्श गरेका हुन्। शुक्रबार प्रतिनिधि सभामा विश्वासको मतको पक्षमा ६३ र विपक्षमा १९४ मत परेको थियो।
राष्ट्रपति कार्यालयले अर्को सरकार गठन नहुँदासम्म दाहाल नेतृत्वकै मन्त्रिपरिषद्लाई काम चलाउ सरकारको जिम्मा दिएको छ।