विज्ञ भन्छन्- ठूलो पानी पर्दा सडक बन्द गरौं
सिमलतालमा पहिरोले बगाउँदा दुई वटा यात्रुवाहक बस त्रिशूलीमा खसेपछि विज्ञहरूले मनसुनको अवधिभर ठूलो पानी पर्दा सडक बन्द गराउन सुझाएका छन्।
पहिरोले नारायणगढ-मुग्लिन सडक अन्तर्गत भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालमा असार २८ गते बिहान साढे ३ बजे दुई वटा यात्रुवाहक बस बगायो। पहिरोले बगाएका दुवै यात्रुवाहक बस त्रिशूली नदीमा खसे।
काठमाडौंबाट रौतहटको गौरतर्फ गइरहेको गणपति डिलक्सको बागमती प्रदेश ०३-०११ ख २४९५ नम्बरको बसमा ४१ यात्रु सवार थिए। त्यस्तै, वीरगन्जबाट काठमाडौंतर्फ आइरहेको एन्जल डिलक्सको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको बसमा २४ यात्रु थिए।
चालक सहित ६५ यात्रु सवार दुवै बसको अत्तोपत्तो छैन। शुक्रबार साँझ सुरक्षाकर्मीको टोलीले बसको झ्यालमा लगाएको एउटा पर्दा भेटेका छन्। त्यो पर्दा एन्जल डिलक्स बसको रहेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ।
अँध्यारो भएसँगै शुक्रबार साँझ साढे ७ बजे खोजतलास रोकिएको छ। त्रिशूलीमा पानीको सतह घटेको छैन। राति खोजी गर्न जोखिम हुने भएकाले शुक्रबार स्थगन गरिएको खोजबिन कार्य शनिबार बिहानैदेखि फेरि शुरू भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव बताउँछन्।
काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बसमा सवार तीन जना यात्रु भने बाँच्न सफल भएका छन्। उनीहरूले त्रिशूलीमा खसेपछि दुर्घटनामा परेको थाहा भएको बताएका छन्। झ्यालको सिसा फुटेकाले बाहिर निस्किन सकेको र पौडिएर ज्यान जोगाएको उनीहरूको भनाइ छ।
नारायणगढ-मुग्लिन सडककै १७ किलोमा असार २७ गते राति पहिरो खस्दा ढुंगाले लागेर बस चालक ३६ वर्षीय मेघनाथ विकको मृत्यु भएको छ। बुटवलबाट काठमाडौं आउँदै गरेको लु २ ख ६५६६ नम्बरको बसका चालक विक ढुंगा लागेर घाइते भएका थिए। चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको ज्यान गएको हो।
यी त संघीय राजधानी काठमाडौंसँग जोड्ने सडकमा भएका घटना हुन्। मनसुन भित्रिएयता बाढीपहिरोले २५८ वटा सडकमा क्षति पुगेको छ। जसमध्ये १२० वटा सडक सञ्चालनमा आएका छन्। त्यस्तै, १२२ वटा सडक एकतर्फी मात्रै सञ्चालन भइरहेका छन् भने १६ वटा त अवरुद्ध नै छन्।
धेरै अवरुद्ध हुनेमा नारायणगढ-मुग्लिन सडक नै छ। शुक्रबार पनि तीन ठाउँमा पहिरो खसेर अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय, भरतपुरका अनुसार तीनै ठाउँको पहिरो पन्छाएर सडक सञ्चालन गरे पनि पानी परिरहेकाले केही स्थानमा पहिरो खस्ने क्रम जारी छ।
यो सडक किन यति धेरै जोखिमपूर्ण बन्यो? भूविपद् विशेषज्ञ रञ्जनकुमार दाहाल नारायणगढ-मुग्लिन सडकको पर्याप्त भौगोलिक अध्ययन नगरी सडक निर्माणका काम भइरहेकाले समस्या भएको बताउँछन्। “नेपालमा विगतमा शक्तिशाली भूकम्प गएकाले त्यो क्षेत्रमा माटो खुकुलो छ। भीर काटेर सडक बनेका छन्। थोरै पानी पर्दा पनि पहिरो जान्छ,” दाहाल भन्छन्।
यस्ता सडकमा पूर्व तयारी गर्नुपर्ने उनको भनाइ छ। त्यस्तै, पहिरो व्यवस्थापन गर्दा पनि त्यसको मूल स्रोतमै व्यवस्थापन गर्नुपर्ने उनी बताउँछन्। उनका अनुसार पानी पर्ने सूचना पाइसकेपछि सतर्कता अपनाउनुपर्छ।
स्थानीय सरकार, स्थानीय प्रशासन र प्रहरीको लापरवाहीले सिमलताल घटना भएको उनले औंल्याएका छन्। “जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्म देशभर अत्यधिक पानी पर्ने सूचना दिइसकेको थियो। यस्तो अवस्थामा केही समयका लागि सडक बन्द गरिनुपर्थ्यो,” दाहाल भन्छन्।
अत्यधिक पानी पर्दा के-कस्तो समस्या आउँछ भन्ने विषयमा दाहालले अध्ययन पनि गरेका छन्। अध्ययनमा १४४ मिलिलिटर पानी पर्दा जोखिम हुने र सडक बन्द गर्नुपर्ने देखिएको उनी सुनाउँछन्। मौसम विज्ञान विभागले त १४० मिलिमिटरभन्दा बढी पानी पर्दा उच्च जोखिम हुने बताउँदै आएको छ।
यस्तो अवस्थामा के गर्नुपर्छ? सांसदले रात्रिकालीन यातायातमा रोक लगाउनुपर्ने आवाज उठाएका छन्। प्रतिनिधि सभाको असार २८ गतेको बैठकमा बोल्दै अधिकांश सांसदले सिमलताल घटनाको उदाहरण दिएर मनसुन अवधिभर रात्रिकालीन बस बन्द गर्न माग गरेका छन्। त्यस्तै, गृह मन्त्रालयले पनि उच्च जोखिम रहेका क्षेत्रमा रात्रिकालीन बस नचलाउन र लामो दूरीका सार्वजनिक यातायातमा अनिवार्य टिकट काट्नुपर्ने निर्णय गरेको छ।
विज्ञ दाहाल भने रात्रिकालीन बसले समस्या नल्याएको तर्क गर्छन्। सरकार व्यवस्थापनभन्दा पनि निषेधतिर लागेको उनको आरोप छ। “रात्रिकालीन बसले समस्या ल्याएको होइन, अत्यधिक वर्षा हुँदा जोखिममा भएका सडक, बस्तीबारे पूर्व जानकारी नदिएर समस्या भएको हो,” दाहाल भन्छन्, “पानी बढी परेको ठाउँमा मोबाइलबाट सतर्कताका लागि सूचना दिनुपर्छ। सडकखण्डमै विपद्बारे जानकारी दिन प्रविधि जडान गर्न सकिन्छ।”
विपद् व्यवस्थापन विज्ञ तथा पूर्व शिक्षामन्त्री गंगालाल तुलाधार पूर्व जानकारी दिन नसक्दा सिमलताल घटना भएको औंल्याउँछन्। यससँगै १२० दिने मनसुनजन्य विपद्को पूर्व तयारी नभएको तुलाधरको भनाइ छ। “मौसम पूर्वानुमान महाशाखाले यो वर्ष बढी वर्षा हुने जानकारी गराइसकेको थियो। मुसलधारे पानी पर्न लागेको १५ दिन भइसक्यो, खै पूर्व तयारी?” उनी प्रश्न गर्छन्।
विपद् विज्ञले नेपालमा १४४ मिलिलिटरभन्दा बढी पानी पर्दा पहिरो जाने गरेको बताउँदै आएका छन्। सरकारले पनि १४० मिलिलिटर पानी पर्नुलाई अत्यधिक मानेको उनी बताउँछन्। मुसलधारे पानी पर्दा पनि सडक सञ्चालन भइराखेको र विज्ञको सुझाव नमान्दा दुर्घटना भएको उनको भनाइ छ।
नारायणगढ-मुग्लिन सडकबारे त सरकारले सोचविचारै गर्न नसकेको उनको भनाइ छ। “सडक फराकिलो बनाउने नाममा त्यसको दीर्घकालीन असरबारे सोच्ने गरिएको छैन,” पूर्व मन्त्री तुलाधर भन्छन्, “नारायणगढ-मुग्लिन सडकको भौगर्भिक अध्ययन नै गरिएको छैन।”
विगतबाट पाठ नसिक्दा पनि सिमलताल घटना भएको उनको भनाइ छ। उनी २०५० सालमा भएको घटनालाई स्मरण गर्छन्। पोखराबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा थुप्रै यात्रुको ज्यान गएको उल्लेख गर्दै तुलाधर भन्छन्, “त्यसपछि पाठ सिक्नुपर्ने हो, तर सिकेनौं। यो घटना हुन पुग्यो।”
मनसुनजन्य विपद्बाट जोगिन पूर्व तयारी गर्नुपर्नेमा विज्ञहरूको जोड छ। विपद् व्यवस्थापन विज्ञ तुलाधर कञ्चनपुरको उदाहरण दिन्छन्। अहिलेसम्म सबैभन्दा बढी कञ्चनपुरमा पानी परेको थियो। पूर्व जानकारी दिएकै कारण कञ्चनपुरमा ठूलो क्षति हुनबाट जोगिएको उनको भनाइ छ। “२४ घन्टामा ६४० मिलिलिटर पानी पर्दा पनि तीन जनाको मात्रै ज्यान गयो, त्यो पनि दु:खद हो। सतर्कता अपनाउँदा धेरैको ज्यान जोगियो,” उनी भन्छन्।
अत्यधिक वर्षा हुने प्रक्षेपण गर्दै जल तथा मौसम विज्ञान विभागले दुई दिनअघि नै जानकारी दिएको थियो। सिमलताल पहिरो गएको आसपासको क्षेत्रमा मौसम सम्बन्धी जानकारी दिने तीन वटा सबस्टेशन छन्। देवघाट, काली खोला र तनहुँ सरखरमा रहेको सबस्टेशनले पछिल्लो २४ घन्टामा १३२ मिलिसम्म पानी परेको देखाएको मौसम विज्ञान विभागका प्रवक्ता सुनील पोखरेल बताउँछन्।
“मौसम विभागले १४० मिलिलिटरभन्दा बढी पानी पर्यो भने त्यसलाई जोखिम मान्छ,” प्रवक्ता पोखरेल भन्छन्, “नारायणगढ-मुग्लिन क्षेत्रमा १०० मिलिलिटरभन्दा बढी पानी पर्दा बाढी आउने गरेको हाम्रो अनुभव छ।”
विभागले उच्च जोखिम रहेको ठाउँमा सतर्कता अपनाउन मोबाइल मार्फत सूचना दिने गरेको छ। तर सडकखण्डमा चालक र यात्रुको मोबाइल ट्रेस गर्न कठिन हुने उनी बताउँछन्। “ठूलो पानी पर्दा मौसम विभागले दुई पटक मोबाइल ट्रेस गरेर एसएमएस पठाएका थियो। तर चालक र बस अर्कै ठाउँ पुगिसक्ने हुँदा प्रभावकारी भएन,” पोखरेल भन्छन्।
उनी अत्यधिक पानी पर्दा यातायात बन्द गर्नु नै उपयुक्त हुने बताउँछन्। “मनसुनको समयमा १०० मिलिलिटर पानी पर्दा सडक यातायातलाई रोक्दा नै राम्रो हुन्छ,” पोखरेल भन्छन्।
भूविपद् विज्ञ दाहाल पनि अत्यधिक वर्षा हुने क्षेत्रमा मनसुन अवधिभर सडक यातायात रोक्नुपर्ने बताउँछन्। अध्ययनले पनि मनसुनको अवधिमा धेरै पानी परेको ठाउँमा पहिरो जाने जोखिम देखाएको उनको भनाइ छ। “मैले करीब दुई दशकदेखि ठूलो पानी पर्दा यातायात बन्द हुनुपर्छ भन्दै आएको छु, तर राज्य सुन्दैन,” दाहाल भन्छन्, “जनधनको क्षतिबाट जोगाउन ठूलो पानी परेको क्षेत्रमा सडक बन्द गर्नुपर्छ।”