‘प्ले द सिस्टम’ : कार्यस्थलमा महिलाको संघर्ष
३२ वर्षअघि अमेरिकामा लेखिएको नाटकले कार्यस्थलमा लैंगिक समानता र महिला कर्मचारीलाई सम्मानपूर्ण वातावरण बनाइनुपर्नेमा जोड दिन्छ।
अमेरिकी नाट्यकार थेरेसा रेबेकले सन् १९९२ मा लेखेको ह्वाट वी आर अप अगेन्स्ट ३२ वर्षपछि नेपाली भाषामा मञ्चित भइरहेको छ। प्रियंकरले अनुवाद गरेको नेपाली संस्करणलाई कथा घेराकी आकांक्षा कार्कीले निर्देशन गरेकी छन्। नाम दिइएको छ- प्ले द सिस्टम। यस नाटकले पुरुष हावी रहेका कार्यस्थलमा महिला कर्मचारीले भोग्नुपर्ने दुःख, अवरोध र संघर्ष उजागर गर्छ जुन समकालीन नेपाली महिलाका हकमा पनि मिल्छ।
कथावस्तु र पात्रहरूको चरित्रचित्रण यस्तो छ-
नमिता एक कुशल इन्जिनीयर हुन्। प्रतिष्ठित कम्पनीमा भर्खरै काम थालेकी उनी कामचोर प्रवृत्तिका तर विभिन्न प्रपञ्च लगाएर आफ्नो अक्षमता लुकाइरहेका सहकर्मीबाट निराश छिन्। नमिताको भूमिकामा छिन्, रञ्जना भट्टराई। उनको अभिनय उत्कृष्ट छ। काममा अत्यन्तै उत्साही नमिता अनावश्यक कुराहरूको प्रतिवाद पनि गर्छिन्।
महिला यति बलियो देखिएको पुरुषहरूलाई मन पर्दैन। त्यसैले हाकिम शैलेश (इलम दीक्षित)ले उनलाई सकेसम्म जिम्मेवारीविहीन बनाएर पन्छाउन खोज्छन्। उनी नमिताको क्षमताबाट प्रत्येक पल आफूलाई खतरा महसूस गर्छन्। रक्सीका लती शैलेश अरूमाथि हैकम जमाउने स्वभावका हुन्छन्। अरूले आफ्नो कुरा काटेको रुचाउँदैनन्।
नमितालाई काम गर्न पुरानो गोदाम कोठा दिइएको छ। जबकि उनीभन्दा पछि आएका पंकज बस्याल (हृषीकेश बस्याल)लाई व्यवस्थित र राम्रो कोठा छ। पंकजलाई प्रपञ्ची, काममा बेइमान र आत्मप्रशंसक व्यक्तिका रूपमा देखाइएको छ। उनी हाकिम शैलेशलाई रक्सीले रिझाउँदै जागीर टिकाइरहेका हुन्छन्।
कम्पनीले ललितपुरमा पुरानो मललाई नयाँ स्वरूप दिने ठेक्का लिएको हुन्छ। र, यो जिम्मेवारी दिइएको हुन्छ, पंकज र विश्वास (सुरज मल्ल)लाई। विश्वास कम्पनीका भित्री कुरा र सहकर्मीबीचको फाटो राम्ररी बुझेका व्यक्ति हुन्। ‘पाइप’ सम्बन्धी एउटा समस्याले मलको काम रोकिएकामा उनी चिन्तित हुन्छन्।
अर्की कर्मचारी छिन्- चाहना (रोशनी स्याङ्बो)। उनी उति सिपालु इन्जिनीयर त होइनन्, तापनि जागीर टिकाइरहेकै छिन्। किनकि उनी हाकिमसँगै कार्यालयका अन्य पुरुषसामु आफूलाई कमजोर देखाउँछिन्। तिनले जे भन्दा पनि ‘हजुर-हजुर’ भन्दै स्विकार्छिन्।
ठेक्काको अवधि नाघ्न लाग्दा पनि मल तयार हुने छाँट देखिंदैन। नमिता यो समस्या भलिभाँती जान्दछिन् र समाधानका लागि डिजाइन पनि तयार गरिसकेकी हुन्छिन्। तर हाकिम शैलेशले आफूलाई नरुचाउने भएकाले उनले त्यो डिजाइन हाकिमकै प्रिय पात्र पंकजको रहेको भन्दै अघि सार्छिन्।
शैलेशले पहिला त खूब प्रशंसा गर्छन्। तर डिजाइन नमिताको रहेको खुलेपछि भन्छन्, “यो त केही काम लाग्दैन।” नमिताको यो चलाखीले शैलेश झन् रुष्ट हुन्छन् र उनलाई पाखा लगाएर चाहनालाई अघि सार्छन्।
तब नमिता चाहनाले बिर्सिसकेको अदालत भवनको कामतिर लाग्छिन्। ग्राहकले रुचाउने खालको नयाँ डिजाइन तयार पार्छिन् र बैठकमा प्रस्ताव गर्छिन्। तर बैठकमा शैलेशले हैकम चलाउँदै नमितालाई फेरि पनि होच्याउँछन्, धम्क्याउँछन्। यहाँ चाहनाले हाकिमकै पक्ष लिन्छिन्। नमिता चाहनासँग रिसाउँछिन्।
यसरी नाटकमा कार्यालयमा हुने शक्ति-सम्बन्धलाई चित्रण गर्दै उत्पादकत्वमै बाधा पुर्याउने तहको लैंगिक राजनीति पनि देखाइएको छ। नमिता कुशल इन्जिनीयर रहेको बुझेरै पुरुष कर्मचारीहरू उनलाई ‘काम गर्न गाह्रो व्यक्ति’ भन्दै पन्छाउनतिर लाग्छन्। चाहना चाहिं राम्ररी काम गर्न नसक्ने, प्रतिवाद पनि नगर्ने भएकैले उनीहरूका निम्ति अनुकूल छिन्। अर्कातिर चाहना पनि नमिताको सहायकको भूमिकामा खुम्चिनुपर्ने हो कि भन्ने त्रासमा छिन्।
अन्तिम चरणमा नमिता एउटा रणनीति अपनाउँछिन्- सक्षम महिलालाई अघि बढ्न रोक्ने प्रवृत्तिलाई नै उपयोग गर्ने। उनले जानीजानी एउटा त्रुटिपूर्ण डिजाइन तयार पार्छिन्। अनि त्यसको श्रेय आफैले लिएर शैलेशसम्म पुर्याउन चाहनालाई भन्छिन्।
शैलेशले त्यही अपरिपक्व योजना संस्थापकसामु प्रस्तुत गर्छन्। यतिन्जेल विश्वासले सबै घटनाक्रम बुझिसकेका हुन्छन्। यसबारे सोध्न भनी उनी कार्यालय पुग्दा नमिता आफ्ना सरसामान पोको पार्दै हुन्छिन्। किनकि त्यो डिजाइन अपूर्ण रहेको पोल खुल्ने र आफू जागीरबाट निकालिने उनले बुझिसकेकी हुन्छिन्।
तर यो भेटपछिको परिस्थिति त्यो हदसम्म पुग्दैन। बरु विश्वास र नमिताबीच ललितपुरको मलमा देखिएको ‘पाइपिङ’ को समस्याबारे छलफल गर्न रात्रिभोजमा भेट्ने सहमति हुन्छ। यसले समस्या समाधानतर्फको सकारात्मक कदम र सम्भावित सहकार्यको संकेत गर्छ। नाटक यहीं सकिन्छ। नमिताको भविष्य के होला त? अनुमान गर्ने ठाउँ दर्शकलाई नै छाडिएको छ।
नाटक कटु भाषाले भरिएको छ जसले प्रस्तुति ठाउँ ठाउँमा तीव्र र आक्रोशमय देखाउँछ। समग्र ‘टोन’ चाहिं हलुका नै छ जसले गम्भीर विषयवस्तुलाई सन्तुलनमा राख्न सघाएको छ। कार्यस्थलमा महिलाको निम्ति सिर्जित जटिल स्थिति नाटकमा पटक पटक दोहोरिइरहन्छ। यससँगै चाहना पात्र मार्फत गहन प्रश्न उठाइएको छ- के उनी पनि कुनै वेला सक्षम र महत्त्वाकांक्षी थिइन्? कतै वर्षौंको निराशा र असमानताले उनलाई कमजोर मनोदशामा पुर्याएको त होइन?
धेरै पुरुषलाई आफ्नो पेशामा अर्को पुरुष राम्रो रहेको सुन्न प्रीतिकर लाग्दैन। तर जब महिलाको क्षमता अब्बल देखिन्छ, उनीहरू अझ लघुताभासी बन्दै पौरुष अहंकार झल्काउँछन्। नमिता जस्ता आत्मविश्वासी र सक्षम महिलाबाट उनीहरू यस्तै खतरा महसूस गरिरहन्छन्।
शैलेशले नमितालाई सम्बोधन गर्ने शब्दहरूले समाजमा व्याप्त लैंगिक पूर्वाग्रहको गम्भीरता देखाउँछन्। नाटकले पुरुष पात्रहरूको विरोधाभासी व्यवहार पनि उजागर गर्छ जहाँ उनीहरू आफ्ना व्यावसायिक कमजोरीलाई बेवास्ता गर्छन्।
शैलेशको कार्यालय विषाक्त पुरुषत्वको विम्ब हो जहाँ मदिरापानले लट्ठ दुई पुरुष नमिताबारे अपमानजनक र आपत्तिजनक टिप्पणी गरिरहन्छन्। यसले महिलाले कार्यस्थलमा सामना गर्नुपर्ने दुर्वचन र भेदभाव प्रकट गर्छ। नाटकभरि यी दुई पुरुष पात्रले कतिखेरै कार्यालयको काम गरेको देखिंदैन। उनीहरूको समय र ऊर्जा सक्षम महिला सहकर्मीको आलोचनामै सकिइरहेको हुन्छ। तापनि उनीहरू आफैलाई श्रेष्ठ ठान्छन्।
नाटकले कार्यस्थलमा हुने लैंगिक पूर्वाग्रह, असमान व्यवहार र व्यावसायिक नैतिकताका मुद्दामा गम्भीर चिन्तन गर्न झकझक्याउँछ।
नाटकमा नमिताको अप्रत्याशित प्रवेशले पुरुषप्रभुत्वमा हलचल ल्याइदिन्छ। उनले आफ्ना लागि गिलासमा ‘ह्विस्की’ राख्दै गरेको दृश्य त्यो प्रभुत्व विरुद्धको शक्तिशाली विम्ब हो। यसले परम्पराले तय गरेका असमान लैंगिक मापदण्डलाई चुनौती दिंदै महिलाको साहस र दृढता प्रस्ट पार्छ।
विश्वास पात्रले परिस्थितिको गम्भीरता बुझ्छ, तर ऊ काम गर्न असमर्थ छ। उसको यो निष्क्रियताले कार्यालयको सांगठनिक संरचनामै समस्या रहेको उजागर गर्छ। अर्थात् त्यहाँ ज्ञान र क्षमता हुँदाहुँदै पनि काम गर्ने साहसको अभाव छ। यसले संस्थागत परिवर्तनका लागि को जिम्मेवार छ भन्ने प्रश्न पनि खडा गर्छ।
कथानकको प्रस्तुतीकरण उत्तिकै उल्लेखनीय छ। एउटै ठूलो सेटको प्रयोगले कथावस्तुलाई निरन्तर प्रवाहमय बनाउँछ। मञ्चको केन्द्रमा देखिइरहने टेबलले कार्यालयको मुख्य क्षेत्रलाई प्रतिनिधित्व गर्छ, जहाँ महत्त्वपूर्ण निर्णयहरू लिइन्छन्। चाहना र नमिताका डेस्क दायाँ-बायाँ रहनुले उनीहरूको प्रतिस्पर्धात्मक स्थितिलाई संकेत गर्छ।
शैलेशको कार्यकक्ष भर्याङमाथि रहनुले कार्यालयको पदानुक्रम झल्काउँछ। यसबाट उच्च पदमा रहेका व्यक्तिले कसरी सबै कुरा नियाल्छन् र नियन्त्रण गर्छन् भन्ने बुझ्न सकिन्छ।
समग्रमा, तीन दशकअघि अमेरिकामा लेखिएको नाटक नेपाली समाजमा आज पनि उत्तिकै सान्दर्भिक छ। यसले कार्यस्थलमा लैंगिक समानता र सम्मानपूर्ण वातावरण निर्माणमा जोड दिन्छ। यो नाटक टेकुस्थित कौसी थिएटरमा असार ३१ सम्म प्रदर्शन हुनेछ।
समय : साँझ ५ः१५ बजे (मंगलबार बाहेक), शनिबार दिउँसो १ः०० बजे पनि
अगाडिका सीटको टिकट : रु. १,०००
सामान्य टिकट : रु. ५००
सम्पर्क नम्बर : ९८६१०७८८७६
(नेपाली टाइम्समा हेट द गेम, नट द प्लेयर शीर्षकमा प्रकाशित यो सामग्री अन्शु खनालले अनुवाद गरेकी हुन्।)