मनसुनी विपद्मा सयभन्दा बढीको मृत्यु
यस वर्ष मनसुन भित्रिएयता बाढी, पहिरो तथा डुबानमा परेर सयभन्दा बढी जनाको मृत्यु भएको छ।
पूर्वी नेपाल भएर गत जेठ २८ मा मनसुन भित्रिएको थियो। त्यसयता असार २८ गते बिहान ८ बजेसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परी १०१ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले बताए।
प्रहरीका अनुसार मनसुनी विपद्मा १०८ जना घाइते भएका छन्। त्यस्तै, बाढी र पहिरोमा परेर ६ जना हराइरहेका छन्।
बाढी र पहिरोमा परेर काठमाडौं उपत्यकामा एक जना, कोशी प्रदेशमा १९, मधेश प्रदेशमा पाँच, बागमती प्रदेशमा ६, गण्डकी प्रदेशमा ३६, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा सात जनाको मृत्यु भएको कार्कीले बताए। अहिलेसम्म बाढीबाट २७, पहिरोमा परी ५० र चट्याङबाट २३ जनाको ज्यान गएको छ।
अविरल वर्षाकै कारण कोशी र बागमती प्रदेशका दुई-दुई तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-एक जना हराइरहेका छन्।
त्यस्तै, घाइतेमध्ये काठमाडौंका तीन, कोशी प्रदेशका ३१, मधेश प्रदेशका सात, बागमती प्रदेशका चार, गण्डकी प्रदेशका २८, लुम्बिनी प्रदेशका नौ, कर्णाली प्रदेशका १५ र सुदूरपश्चिम प्रदेशका ११ जना छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।