‘पल्टुराम’ प्रवृत्तिले गुमेको विश्वास
डेढ वर्षअघि पहिलो पटक झन्डै दुईतिहाइ सांसदको मत पाएका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल आफ्नो ‘पल्टुराम’ प्रवृत्तिका कारण पाँचौं पटकको परीक्षणमा संसद्को विश्वास गुमाएर सत्ताबाट बाहिरिएका छन्।
२०७९ सालको प्रतिनिधि सभाको निर्वाचन लगत्तै नेकपा (एमाले)सँग गठबन्धन गरेर प्रधानमन्त्री बनेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि सभामा विश्वासको मत लिंदा झन्डै दुईतिहाइ मत पाएका थिए। २०७९ पुस २६ मा प्रतिनिधि सभाका २७५ मध्ये २६८ सांसदले विश्वासको मत दिएका थिए। विपक्षमा दुई मत मात्रै परेको थियो।
त्यति वेला दाहाल नेपाली कांग्रेससँगको चुनावी गठबन्धन तोडेर एमालेसँगको सहकार्यमा प्रधानमन्त्री बनेका थिए। उनलाई एमाले र माओवादीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नेपाल, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए। उनीहरू सरकारमै सहभागी भएका थिए।
त्यति वेला कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विपक्षमा थिए। चुनावी गठबन्धन तोडेको भए पनि कांग्रेस लगायत विपक्षमा रहेका पार्टीले पनि दाहाललाई विश्वासको मत दिएका थिए।
कांग्रेससँगको चुनावी गठबन्धन तोडेर एमालेसँग सत्ता सहकार्य गर्न पुगेका दाहाल धेरै दिन टिक्न सकेनन्। तीन महीना नबित्दै फागुन १२ मा फेरि कांग्रेससँगै सहकार्य गर्न पुगे। राष्ट्रपतिको चुनावमा कांग्रेसका रामचन्द्र पौडेललाई सघाए।
त्यसपछि एमाले सरकारबाट बाहिरियो। दाहाललाई दिएको समर्थन फिर्ता लियो। प्रधानमन्त्री दाहालले फेरि विश्वासको मत लिनुपर्ने भयो।
उनले २०७९ चैत ६ मा प्रतिनिधि सभाबाट पुन: विश्वासको मत लिए। त्यति वेला उनले १७२ सांसदको समर्थन पाए। विपक्षमा ७९ मत परेको थियो। कांग्रेस, माओवादी, जसपा, लोसपा, एकीकृत समाजवादी र नाउपाले विश्वासको मत दिए भने एमाले लगायत दल विपक्षमा उभिए।
कांग्रेससँगको सहकार्य एक वर्ष नपुग्दै फेरि दाहालले सत्ता समीकरण फेरबदल गरे। उनले २०८० फागुन २१ मा कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग गठबन्धन बनाए। त्यसपछि कांग्रेस सरकारबाट बाहिरियो भने सरकारलाई दिएको समर्थन फिर्ता लियो।
संविधान अनुसार दाहालले फेरि विश्वासको मत लिनुपर्ने भयो। उनले २०८० चैत १ मा तेस्रो पटक विश्वासको मत लिए। त्यति वेला उनले मुश्किलले विश्वासको मत जुटाउन सके। उनको पक्षमा १५७ मत खस्यो भने विपक्षमा ११० मत पर्यो। तीन सांसद अनुपस्थित थिए भने एक जना तटस्थ बसेका थिए।
गठबन्धन तोडेका कारण रुष्ट माधवकुमार नेपाल र उपेन्द्र यादवलाई फकाएर विश्वासको मत पाउन सफल भएका थिए। एमालेका ७५, माओवादीका ३२, रास्वपाका २१, जसपाका १२, एकीकृत समाजवादीका १०, नागरिक उन्मुक्तिका चार, आम जनता पार्टीका एक सांसद तथा स्वतन्त्र सांसद अमरेशकुमार सिंह र योगेन्द्र मण्डलले विश्वासको मत दिएका थिए।
कांग्रेसका ८७, राप्रपाका १३, जनमतका पाँच, लोसपाका चार र जनमोर्चाका एक सांसदले विपक्षमा मत दिएका थिए। नेपाल मजदूर किसान पार्टीका प्रेम सुवाल तटस्थ बसेका थिए।
दुई महीना नपुग्दै दाहालले चौथो पटक विश्वासको मत लिनुपर्ने भयो। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव कांग्रेससँगको गठबन्धनमा जान लागेको भन्दै दाहालकै सहयोगमा अशोक राईले जसपा, नेपाल विभाजन गरेर जसपा बनाए। जसपा, नेपालका सात सांसद जसपामा गए।
त्यसपछि यादव नेतृत्वको जसपा, नेपाल सरकारबाट बाहिरियो र सरकारलाई दिएको समर्थन फिर्ता लियो। २०८१ जेठ ७ मा फेरि दाहालले चौथो पटक विश्वासको मत लिए। त्यति वेला उनले १५७ मत पाए।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग गरिरहेको कांग्रेस मत विभाजनमा सहभागी भएन। दाहाललाई एमाले, माओवादी, रास्वपा, एकीकृत समाजवादी, जसपा र नाउपाका सांसदले विश्वासको मत दिएका थिए।
त्यसको एक महीना नबित्दै दाहाल फेरि विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका हुन्। यसमा पनि उनकै उही ‘पल्टुराम’ प्रवृत्ति कारक रहेको एमालेका नेताहरूको भनाइ छ। एमालेसँगको गठबन्धन तोडेर फेरि कांग्रेससँगै गठबन्धन गर्न खोजेपछि सत्ता समीकरण बदल्नुपरेको एमालेका नेता बताउँछन्।
यस पटक भने कांग्रेसले पनि दाहाललाई बोक्न खोजेन। कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले असार १७ मा नयाँ सरकार बनाउने सहमति गरे। जसमा पहिलो चरणमा अध्यक्ष ओली र दोस्रो चरणमा देउवा प्रधानमन्त्री हुने समझदारी कायम गरिएको छ।
यो सहमतिसँगै एमाले सरकारबाट बाहिरियो भने दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लियो। एमालेसँगै जसपाले पनि समर्थन फिर्ता लिएको थियो।
यस पटक भने दाहालले विश्वासको मत जुटाउन सकेनन्। उनले ६३ मत मात्रै पाए। विपक्षमा १९४ मत पर्यो। प्रमुख दुई दल कांग्रेस र एमालेसँगै राप्रपा, जसपा, जसपा, नेपाल, लोसपा र जनमत पार्टीले विपक्षमा मतदान गरेका हुन्।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनपछि झन्डै दुईतिहाइ सांसदको समर्थन पाएका दाहाल यताउता गरिराख्ने आफ्नै प्रवृत्तिका कारण डेढ वर्षपछि संसद्को विश्वास गुमाएर सरकारबाट बाहिरिएका छन्। यस पटक भने उनलाई ठूला मात्रै होइनन्, साना दलले पनि साथ दिएनन्। उनको पक्षमा माओवादी बाहेक दुई दल रास्वपा र एकीकृत समाजवादी मात्रै उभिए।