प्रधानमन्त्रीलाई विश्वासको मत दिने रास्वपाको निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ।
रास्वपा संसदीय दलको शुक्रबार बसेको बैठकले प्रधानमन्त्री दाहालको विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले बताए। “आज प्रधानमन्त्रीले विश्वासको मत लिंदै छन्, प्रधानमन्त्रीको पक्षमा मतदान गर्ने निर्णय भएको छ,” परियारले भने।
यससँगै रास्वपाका मन्त्रीले गरेका कामबारे पनि संसदीय दलको बैठकमा समीक्षा भएको उनले बताए। रास्वपाबाट चार जना मन्त्री सरकारमा सहभागी छन्। प्रतिनिधि सभामा रास्वपाका २१ सांसद छन्।
प्रधानमन्त्री दाहाल आज बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिंदै छन्। नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि दाहालले विश्वासको मत लिन लागेका हुन्।
प्रमुख दुई दल नेपाली कांग्रेस र एमालेले भने प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन्। दुवै पार्टीले विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन्।