प्रहरी अध्ययन भन्छ- आत्महत्या गर्नेमा युवा धेरै
नेपालमा भएका आत्महत्याका घटनामा सबैभन्दा धेरै युवा संलग्न देखिएका छन्।
गत १० वर्षमा भएका आत्महत्याका घटनाबारे नेपाल प्रहरीको अन्वेषण योजना शाखाले गरेको अध्ययनमा युवाले आत्महत्याको बाटो रोज्ने गरेको डरलाग्दो तथ्यांक देखिएको हो। आत्महत्या गरेकामध्ये करीब ४० प्रतिशत युवा छन्।
त्यस्तै, आत्महत्या गरेकामध्ये १८ देखि २५ वर्षसम्मका २१ प्रतिशत र २५ देखि ३५ वर्षसम्मका १८.१ प्रतिशत छन्। यसमा बालबालिकाको संख्या समेत धेरै देखिएको छ। आत्महत्या गरेकामध्ये १० देखि १८ वर्षसम्मका बालबालिकाको संख्या १५ प्रतिशत छ।
सबैभन्दा धेरै कोशी प्रदेशमा आत्महत्याका घटना हुने गरेको देखिएको छ। जातिगत रूपमा आदिवासी जनजाति समुदायका व्यक्ति सबैभन्दा धेरै देखिएका छन्। यो समुदायका ३९ प्रतिशत छन्।
दोस्रोमा ब्राह्मण/क्षेत्री समुदायका छन्। यस समुदायका ३१.१ प्रतिशत छन्। आत्महत्या गरेकामध्ये तेस्रोमा दलित समुदायका व्यक्ति छन्। यो समुदायका २०.५ प्रतिशत रहेको अध्ययनमा देखिएको छ।
आत्महत्या गरेकामध्ये सबैभन्दा धेरै साधारण लेखपढ गर्ने मात्र छन्, जसको संख्या ६३.१ प्रतिशत छ। त्यसपछि माध्यमिक तह र स्नातक तहको शैक्षिक योग्यता भएकाहरू देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
आत्महत्याको मूल कारणमा मानसिक रोग र तनाव रहेको अध्ययन प्रतिवेदनको निष्कर्ष छ। आत्महत्या गरेकामध्ये ३८ प्रतिशत मानसिक रोग लागेका व्यक्ति र २७ प्रतिशत तनाव झेल्न नसकेका व्यक्ति देखिएका छन्।
अध्ययन अनुसार बुधबार र आइतबार आत्महत्या बढी हुने गरेको छ। यी दुई बारमा ३० प्रतिशतले आत्महत्या गरेको देखिएको छ।
आत्महत्याको दर बर्सेनि बढिरहेकाले प्रहरीले न्यूनीकरण कार्ययोजनामा समावेश गरेर कार्यान्वयनमा लैजानुपर्ने पनि प्रतिवेदनले औंल्याएको छ। बजेट छुट्याएर कार्ययोजना बनाउन र प्रहरी मुख्यालयले अनुगमन गर्ने गरी संयन्त्र बनाउन पनि सुझाइएको छ।