राप्रपाले पनि दाहाललाई विश्वासको मत नदिने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ।
राप्रपा संसदीय दलको बिहीबार बसेको बैठकले प्रधानमन्त्री दाहालले राख्ने विश्वासको मतको प्रस्तावको पक्षमा मतदान नगर्ने निर्णय गरेको हो। बैठकका निर्णयबारे जानकारी गराउँदै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भने, “आजको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको छ।”
प्रतिनिधि सभामा राप्रपाका १४ सांसद छन्। २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनपछि एमालेको समर्थनमा दाहाल प्रधानमन्त्री हुँदा राप्रपा पनि सरकारमा सहभागी भएको थियो।
नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहाल प्रतिनिधि सभाबाट विश्वासको मत लिंदै छन्। यसका लागि असार २८ गते प्रतिनिधि सभाको बैठक बोलाइएको छ।
बिहीबारै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले पनि सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको थियो। उपेन्द्र यादव नेतृत्वको जसपा, नेपालबाट विभाजन भएर बनेको जसपाका प्रतिनिधि सभामा सात सांसद छन्।
त्यस्तै, नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा), नेपाल र नागरिक उन्मुक्ति पार्टीले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन्। कांग्रेस र एमालेले विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप समेत जारी गरेका छन्।
अहिलेसम्म नेकपा (माओवादी केन्द्र)सँगै नेकपा (एकीकृत समाजवादी) मात्रै दाहाललाई विश्वासको मत दिने पक्षमा उभिएको छ।