एक वर्षपछि २२ सयमा उक्लियो नेप्से
शेयर बजार परिसूचक नेप्सेको सूचकांक एक वर्षपछि २२ सयमा उक्लिएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से परिसूचक २९.२१ अंकले बढेर दुई हजार २०४.६१ को बिन्दुमा पुगेको छ। यसअघि गत साउन ७ मा नेप्से दुई हजार २२७.१६ को बिन्दुमा पुगेको थियो।
त्यसयता नेप्से निरन्तर ओरालो लागेको थियो। पछिल्लो केही समययता सुधार देखिंदै आएको छ। नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सरकार बन्ने सहमति भएसँगै नेप्से पनि उकालो लाग्न थालेको छ।
बिहीबार सात अर्ब आठ करोड ६ लाख ९८ हजार १४६ रुपैयाँ बराबरको कारोबार भएको छ। दुई करोड दुई लाख ३७ हजार ७८० कित्ता शेयर कारोबार भएको नेप्सेले जनाएको छ।
यसैगरी, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि बढेको छ। सेन्सेटिभ परिसूचक ५.९० अंकले उकालो लागेर ३९१.६६ मा पुगेको छ।
१३ वटा उपसूचकमध्ये माइक्रोफाइनान्स र ट्रेडिङ समूह बाहेक ११ वटा उपसूचक धनात्मक भएका छन्। सबैभन्दा बढी जीवन बीमा समूहको उपसूचक ३.०६ प्रतिशतले बढेको छ भने ब्यांकिङ समूहको उपसूचक २.४२ प्रतिशतले र हाइड्रोपावर समूहको उपसूचक १.४३ प्रतिशतले बढेको छ।
त्यस्तै, बलेफी हाइड्रोपावर ९.९९, सिटिजन सुपर ३० म्युचुअल फन्ड ९.९७, एनआईबीएल स्टेबल फन्ड ९.८३, जानकी फाइनान्स ८.७६ र सिटिजन म्युचुअल फन्ड दोस्रोका लगानीकर्ताले ७.८२ प्रतिशतले कमाएका छन्।
त्यस्तै, समाज लघुवित्त ४.५९, साधना लघुवित्त ४.५६, सेन्चुरी डिबेन्चर ३.९१ र गुडबिल फाइनान्सका लगानीकर्ताले ३.८२ प्रतिशतले गुमाएका छन्।