सामसङ इनोभेशन क्याम्पसबाट ५३ विद्यार्थीले पूरा गरे कोर्स
सामसङको सीएसआर कार्यक्रम सामसङ इनोभेशन क्याम्पसबाट तेस्रो ब्याचका ५३ विद्यार्थीले कोर्स पूरा गरेका छन्।
इनोभेशन क्याम्पसबाट कोडिङ एन्ड प्रोग्रामिङ पूरा गरेका त्रिभुवन विश्वविद्यालय इन्स्टिच्यूट अफ इन्जिनीयरिङको पुल्चोक क्याम्पसका ५३ जना विद्यार्थीलाई प्रमाणपत्र पनि प्रदान गरिएको छ। अब नयाँ ब्याचका विद्यार्थीले विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स कोर्स शुरू गर्ने कम्पनीले जनाएको छ।
कार्यक्रममा सामसङ नेपाल कार्यालयका प्रमुख इन सु किम र त्रिभुवन विश्वविद्यालयका डीन डा. शशिधरराम जोशी, सहायक डीनद्वय विनोदकुमार भट्टराई र सुरज लामिछाने तथा पुल्चोक क्याम्पसका क्याम्पस प्रमुख डा. इन्द्रप्रसाद आचार्य उपस्थित थिए।
कार्यक्रममा बोल्दै सामसङ नेपाल कार्यालयका प्रमुख किमले कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याचको सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्न पाउँदा खुशी लागेको बताए।
“प्रतिष्ठित त्रिभुवन विश्वविद्यालय इन्स्टिच्यूट अफ इन्जिनीयरिङसँग एआई, बिग डेटा र आईओटी जस्ता भविष्यका प्राविधिक डोमेनहरूमा विद्यार्थीलाई उच्च दक्षता हासिल गर्नका लागि हामीले आकर्षक साझेदारीको अपेक्षा गरेका छौं,” उनले भने, “हामीले नेपाली युवालाई निरन्तर सशक्तीकरण गर्ने र उनीहरूलाई रोजगारीका लागि तयार बनाउने लक्ष्य राखेका छौं।”
सामसङले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्यूट अफ इन्जिनीयरिङको पुल्चोक क्याम्पसमा गत वर्ष सामसङ इनोभेशन क्याम्पसको उद्घाटन गरेको थियो। यस अन्तर्गत सामसङले नेपाली युवालाई आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिङ्स, बिग डेटा र कोडिङ एन्ड प्रोग्रामिङ जस्ता प्राविधिक सीपमा तालिम दिंदै आएको छ।