प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बिहीबार ह्वीप जारी गरेका हुन्। लेखकले भनेका छन्, ‘प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो ह्वीप जारी गरिन्छ।’
नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले प्रतिनिधि सभामा विश्वासको मत लिंदै छन्। यसका लागि असार २८ गते बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ।
कांग्रेसले जारी गरेको ह्वीपमा प्रतिनिधि सभाको बैठकमा आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन पनि भनेको छ। यससँगै तटस्थ नरहन पनि ह्वीप जारी गरेको छ।
यस्तै, एमालेले बुधबार नै ह्वीप जारी गरेको थियो। एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जारी गरेको ह्वीपमा प्रधानमन्त्री दाहालको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न भनिएको छ। एमालेले पनि आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन भनेको छ।
असार १७ मा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच नयाँ सरकार बनाउने सहमति भएको थियो। दुवै पार्टीले सहमतिलाई अनुमोदन गरिसकेका छन्।
प्रधानमन्त्री दाहालले विश्वासको मत नपाएमा स्वतः पदमुक्त हुनेछन्। त्यसपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने सहमति छ। पहिलो चरणमा ओली र दोस्रो चरणमा देउवाले सरकारको नेतृत्व गर्ने तय गरिएको छ।