मनसुन फेरि सक्रिय, तीन दिन अत्यधिक वर्षा हुन सक्ने
मनसुन फेरि सक्रिय भएकाले बुधबार रातिदेखि तीन दिनसम्म देशका कैयौं स्थानमा धेरै पानी पर्ने प्रक्षेपण गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले बुधबार साँझ विशेष मौसम बुलेटिन जारी गरेर मनसुन फेरि सक्रिय भएकाले असार २९ गते बिहानसम्म देशका विभिन्न स्थानमा अत्यधिक वर्षा हुन सक्ने आकलन गरिएको जनाएको छ। विभागका अनुसार देशको पूर्वी र मध्य भागका धेरैजसो जिल्लामा छोटो अवधिमा धेरै पानी पर्न सक्ने जोखिम छ। कैयौं जिल्लामा सचेतना अपनाउन सुझाव दिइएको छ।
बुधबार रातिदेखि शनिबार बिहानसम्म मनसुन सक्रिय हुने भएकाले देशैभरिको आकाश बादलले ढाक्ने, धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको प्रक्षेपण गरिएको छ। तर कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म वर्षा भएमा त्यसलाई भारी वर्षा मानिन्छ। त्यस्तै, १०० देखि २०० मिलिमिटरसम्म वर्षा भएमा धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा बढी पानी परेमा अति भारी वर्षा भएको मानिन्छ।
गत आइतबार र सोमबार कञ्चनपुरको दोधारा, हनुमाननगर र सुन्दरपुरमा अति भारी वर्षा भएको थियो। नेपालमा वर्षा मापन हुन थालेको ७७ वर्षयताकै सर्वाधिक वर्षा रेकर्ड गरिएको थियो। २४ घण्टाको अवधिमा दोधारामा ६२४ मिलिमिटर, हनुमाननगरमा ५७३.६ मिलिमिटर र सुन्दरपुरमा ५५५.८ मिलिमिटर वर्षा भएको थियो।
विभागले मनसुन न्यूनचापीय रेखा र पश्चिमी न्यूनचापीय रेखा दुवैको मिश्रण हुन सक्ने भएकाले शनिबारसम्म तीव्र गतिमा पानी पर्न सक्ने आकलन गरेको हो।
अहिले मनसुन न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अर्थात् नेपालको दक्षिण भूभाग र सिमाना आसपास छ।
आज रातिबाट उक्त रेखा अझ नेपालतिर सर्ने सम्भावना देखिएको विभागले जनाएको छ। साथै, भोलिदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित हुने सम्भावना देखिएको छ। यी दुवै प्रणालीको प्रभावले गर्दा बढी पानी पर्ने सम्भावना देखिएको हो।