११ महीनाको तथ्यांकले कस्तो देखाउँछ अर्थतन्त्र?
अर्थतन्त्रमा मन्दी जारी रहेको चर्चाबीच अर्थव्यवस्थाका कैयौं महत्त्वपूर्ण सूचकहरू सकारात्मक रहेको तथ्यांक नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको छ।
राष्ट्र ब्यांकको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले चालू आर्थिक वर्ष २०८०/८१ को ११ महीनामा अर्थतन्त्रका कैयौं सूचक सकारात्मक तथा सुधारोन्मुख देखाएको हो। तर यी सूचकले मात्रै अर्थतन्त्रको वास्तविक स्थितिको प्रतिनिधित्व गर्दैनन्।
राष्ट्र ब्यांकका अनुसार देशको चालू खाता र शोधनान्तर खाता भनिने बाह्य कारोबारलाई जनाउने खाताहरू सकारात्मक छन्। उपभोक्ता मूल्यवृद्धि दर निकै घटेको छ भने देशमा विदेशी मुद्राको सञ्चिति पनि बढ्दो छ। त्यस्तै, निजी क्षेत्रतर्फ जाने कर्जामा पनि सामान्य वृद्धि देखिएको छ।
जेठ मसान्तसम्म देशको चालू खाता दुई खर्ब रुपैयाँले बचतमा छ। अघिल्लो वर्षको यही अवधिमा चालू खाता ७९ अर्ब ५३ करोड रुपैयाँले घाटामा थियो। चालू खाता बचतमा हुनुले देशबाट बाहिरिने रकमका तुलनामा भित्रिने रकम बढी भएको बुझाउँछ। त्यसैगरी, शोधनान्तर स्थिति भनिने भुक्तानी सन्तुलन चार खर्ब २५ अर्ब रुपैयाँले बचतमा छ।
राष्ट्र ब्यांकका अनुसार जेठसम्म विदेशी मुद्राको सञ्चिति १४ अर्ब ७२ करोड अमेरिकी डलर पुगेको छ। यो गत असारको तुलनामा २५.७ प्रतिशत धेरै हो। दुई वर्षअघि विदेशी मुद्राको सञ्चिति तीव्र गतिमा घटेपछि सरकारले सवारीसाधन सहित कैयौं वस्तुको आयात रोकेको थियो। पछिल्लो समयमा रेमिटेन्स बढेकाले विदेशी मुद्राको सञ्चिति लगातार बढिरहेको छ।
अहिलेको विदेशी मुद्राको सञ्चितिले १२.६ महीनाको वस्तु र सेवाको आयात धान्न सक्ने राष्ट्र ब्यांकले जनाएको छ। सामान्यतया देशले सात महीनाको वस्तु र सेवा आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चितिको लक्ष्य राखेको हुन्छ।
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा बढोत्तरीसँगै रेमिटेन्स रकममा पनि उल्लेख्य सुधार आएको छ। जेठसम्म नेपालले १३ खर्ब २७ अर्ब रुपैयाँ बराबरको रेमिटेन्स भित्र्याएको छ। यो गत वर्षको यही अवधिको तुलनामा १९.३ प्रतिशत धेरै हो। अमेरिकी डलरमा पनि रेमिटेन्स भित्रिने क्रम १७.३ प्रतिशतले बढेको छ।
यस आवको ११ महीनामा ६ लाख ८६ हजार नेपालीले वैदेशिक रोजगारीका लागि अनुमति (नयाँ र पुरानो नवीकरण) लिएका छन्। गत वर्षको यही अवधिमा सात लाख २० हजारले यस्तो अनुमति लिएका थिए।
राष्ट्र ब्यांकका अनुसार यस आवको पहिलो ११ महीनामा नेपालले १४ खर्ब ५४ अर्ब रुपैयाँ बराबरको सामान आयात गरेको छ। यो अघिल्लो वर्षको यही अवधिका तुलनामा १.८ प्रतिशत थोरै हो।
त्यसैगरी, यस अवधिमा एक खर्ब ३९ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। यो अघिल्लो वर्षका तुलनामा तीन प्रतिशत थोरै हो।
जेठमा उपभोक्ता मूल्यवृद्धि पनि न्यून रहेको राष्ट्र ब्यांकले जनाएको छ। जेठको वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि दर ४.१७ प्रतिशत मात्रै छ। गत वर्षको जेठमा उपभोक्ता मूल्यवृद्धि दर ६.८३ प्रतिशत थियो।
खासगरी खाद्य तथा पेयपदार्थ समूहको मूल्यवृद्धि दर भने औसतभन्दा माथि छ। जेठमा खाद्य तथा पेयपदार्थ समूहको मूल्यवृद्धि दर ५.७६ प्रतिशत छ भने गैरखाद्य समूहको मूल्यवृद्धि दर २.९४ प्रतिशत मात्रै छ।
जेठमा तरकारीको मूल्यवृद्धि दर सबैभन्दा धेरै १६ प्रतिशत छ। त्यसैगरी, दाल तथा गेडागुडीको मूल्य ११.७६ प्रतिशतले, खाद्य तथा खाद्यजन्य पदार्थको मूल्य ७.३२ प्रतिशतले, चिनी तथा चिनीजन्य वस्तुको मूल्य ६.९८ प्रतिशतले बढेको छ। यद्यपि घ्यू तथा तेलको मूल्य सूचकांक ५.५१ प्रतिशतले घटेको छ।
ब्यांक तथा वित्तीय संस्थाको निजी क्षेत्रतर्फ जाने कर्जामा पनि सामान्य विस्तार देखिएको छ। जेठसम्म ब्यांक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा जाने कर्जा अघिल्लो वर्षको तुलनामा ५.६ प्रतिशतले बढेको छ। यस आवको जेठसम्म ब्यांक तथा वित्तीय संस्थाले निजी क्षेत्रलाई दुई खर्ब ४७ अर्ब रुपैयाँ थप ऋण प्रवाह गरेका छन्।
विगतमा एकै वर्षमा सरदर २० प्रतिशतका दरले कर्जा प्रवाह बढ्ने गरेकोमा अहिले त्यस्तो अनियन्त्रित कर्जाको विस्तारमा रोकावट आएको छ। यसैकारण व्यवसायीले अहिलेको कर्जा प्रवाहको गति कम भएकाले बढाउन माग गर्दै आएका छन्। यद्यपि नेपाल संसारमै कुल गार्हस्थ्य उत्पादनको तुलनामा उच्च कर्जा विस्तार भएको मुलुकमध्ये एक हो। नेपालको कुल गार्हस्थ्य उत्पादनको तुलनामा निजी क्षेत्रतर्फको कर्जा ९० प्रतिशतभन्दा धेरै छ।
राष्ट्र ब्यांकको तथ्यांकले अर्थतन्त्रका महत्त्वपूर्ण सूचकहरू ठीकठीकै देखाए पनि व्यवसायीले भने देशको अर्थतन्त्र मन्दीमा रहेको बताउने गरेका छन्। खासगरी देशभित्र वस्तु र सेवाको माग पर्याप्त सिर्जना नभएको, लगानीको वातावरण नभएको, उद्योग व्यवसाय शिथिल रहेको र कतिपय बन्द हुन पुगेको व्यवसायीको तर्क छ।
देशभित्रका कतिपय तथ्यांकले पनि अर्थतन्त्र हुनुपर्ने जति चलायमान हुन नसकेको देखाउँछन्। राष्ट्रिय तथ्यांक कार्यालयले यस वर्ष नेपालको अर्थतन्त्र ३.८ प्रतिशतले बढ्ने अनुमान गरेको छ। यो विगत तीन दशकको औसत आर्थिक वृद्धिदरको तुलनामा सामान्य घटी हो।