रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रोकियो
वित्तीय विवरणमा छेडखानी गरी सर्वसाधारणलाई झुक्याएर महँगो मूल्यमा शेयर बेच्न खोजेको रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक शेयर निष्कासन (आईपीओ)को प्रक्रिया तत्कालका लागि रोकिएको छ।
संघीय संसद्को सार्वजनिक लेखा समितिले चासो राखेर रिलायन्सको आईपीओको विषयमा धितोपत्र बोर्डलाई असार २५ मा पत्र काटेपछि बोर्ड अध्यक्ष नरेन्द्रकुमार रानाले आईपीओको प्रक्रिया रोक्न निर्देशन दिएका छन्। “लेखा समितिले चासो राखेपछि आईपीओ तत्कालका लागि स्थगन गर्ने निष्कर्षको नजिक पुगेका छौं,” अध्यक्ष रानाले भने।
रिलायन्सले असार २७ मा वैदेशिक रोजगारीमा रहेका नागरिकका लागि एक लाख १५ हजार ५९६ कित्ता आईपीओ निष्कासन गर्न लागेको थियो। धितोपत्र बोर्डले गत असार १२ गते रिलायन्सलाई आईपीओ निष्कासनको स्वीकृति दिएको थियो। बूक बिल्डिङ विधि मार्फत अघि बढाइएको आईपीओका लागि प्रतिकित्ता मूल्य ८२० रुपैयाँ ८० पैसा तोकिएको थियो।
रिलायन्सले बूक बिल्डिङ मार्फत आईपीओ जारी गर्न अनुमति माग्ने क्रममा बोर्डमा पेश गरेको वित्तीय विवरणमा यो वर्ष प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ९० पैसा हुने आकलन गरेको थियो। तर चैत मसान्तसम्म यसको प्रतिशेयर आम्दानी दुई रुपैयाँ आठ पैसामा खुम्चिएको छ। यसअघि यसको नेटवर्थ २५९ रुपैयाँ २३ पैसा रहेको देखाइए पनि यथार्थमा १७९ रुपैयाँ ४५ पैसामा ओर्लिएको छ।
अनुमतिका लागि आवेदन दिने वेलाको भन्दा वित्तीय विवरण निकै खस्किएको देखिएपछि लेखा समितिले कम्पनीको शेयरको मूल्य निर्धारणको आधार के हो भनेर सोधेको थियो। त्यस्तै, वित्तीय विवरणमा छेडखानी गरिएको किन नमान्ने भनी धितोपत्र बोर्डसँग स्पष्टीकरण मागेको थियो। यसका लागि एक साताको समय दिएको छ।
यो पनि पढ्नुहोस् : सर्वसाधारणलाई झुक्याएर रिलायन्सको आईपीओ