प्रधानमन्त्री दाहालको विपक्षमा मतदान गर्न एमालेको ह्वीप
नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बुधबार ह्वीप जारी गरेका हुन्। प्रतिनिधि सभाको असार २८ गतेको बैठकमा सांसदलाई अनिवार्य उपस्थित भई प्रधानमन्त्री दाहालको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरिएको बर्तौलाले बताए।
नेपाली कांग्रेसले यसअघि नै प्रधानमन्त्री दाहालको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ। कांग्रेस संसदीय दलको बैठकले दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको थियो।
एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले असार २८ मा प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन्। यसका लागि उनले एक साताअघि संसद् सचिवालयलाई पत्राचार गरिसकेका छन्।
प्रतिनिधि सभाबाट विश्वासको मत पाउन नसकेमा प्रधानमन्त्री दाहाल स्वतः पदमुक्त हुनेछन्। त्यसपछि कांग्रेस र एमालेले नयाँ सरकार गठन गर्ने सहमति गरेका छन्।
पहिले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने समझदारी छ। त्यसपछि कांग्रेस सभापति देउवाले सरकारको नेतृत्व गर्ने दुई दलले तय गरेका छन्।
यो पनि पढ्नुहोस् : मिलिजुली सरकार नै बन्छ : एमाले