मिलिजुली सरकार नै बन्छ : एमाले
नेकपा (एमाले)ले संविधान अनुसार नेपाली कांग्रेससँगको आगामी सरकार मिलिजुली नै बन्ने निष्कर्ष निकालेको छ।
ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले संविधानको धारा ७६ को उपधारा २ अनुसार नै सरकार बन्ने निष्कर्ष निकालेको हो। “संविधानमा स्पष्ट व्यवस्था छ, कांग्रेससँगको सरकार संविधानको धारा ७६ को उपधारा २ बमोजिम नै बन्छ,” बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, “अहिले जानीजानी भ्रम फैलाउन खोजिएको छ।”
प्रतिनिधि सभाका कुनै दलको बहुमत नभएमा दुई वा दुईभन्दा बढी दलको मिलिजुली सरकार गठन हुने व्यवस्था संविधानको धारा ७२ को उपधारा २ मा छ। अहिले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल त्यही उपधारा अनुसार प्रधानमन्त्री छन्। दाहालले असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिंदै छन्।
कांग्रेस र एमाले विपक्षमा रहेकाले दाहालले विश्वासको मत पाउने सम्भावना छैन। प्रतिनिधि सभाबाट विश्वासको मत पाउन नसकेमा स्वतः पदमुक्त हुने संवैधानिक व्यवस्था छ।
दाहाल पदमुक्त भएपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार बन्ने माओवादी लगायत अन्य दलले जिकिर गर्दै आएका छन्। यस उपधारामा प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।
एमालेले भने दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउने अवस्था नभएमा मात्रै उपधारा ३ अनुसार सरकार बन्ने जनाएको छ। अहिले कांग्रेस र एमाले मिलेर सरकार बनाउन खोजेकाले उपधारा २ अनुसार नै मिलिजुली सरकार बन्ने ज्ञवालीले बताए।
“संघीय संसद्मै पनि उपधारा २ अनुसार नै सरकार गठन भएका नजीर छन्,” ज्ञवालीले भने, “कोशी प्रदेशमा त सर्वोच्च अदालतको आदेश अनुसार नै फेरि उही धारा अनुसार सरकार गठन भएको छ। त्यसैले आगामी सरकार पनि उपधारा २ अनुसार नै बन्छ।”