राजा विजयनारान याक्थुङ/लिम्बू कि सेन?
विजयपुरका राजा विजयनारान पाल्पाका सेनवंशी नभई फेदापे-चौबिसे लिम्बूहरूका पुर्खा भएको यथेष्ट प्रमाणहरू छन्।
धरान उपमहानगरपालिकाले कक्षा ६ को पाठ्यपुस्तकमा पाल्पाका सेनवंशी राजा विजयनारानले विजयपुर गढी बनाएको उल्लेख गरेपछि विजयपुरको इतिहासबारे बहस शुरू भएको छ। पालिकाका शिक्षा विभागका वरिष्ठ अधिकृत गणेश खतिवडाका अनुसार यस विषयमा विभिन्न जातीय संघसंस्थाको उजुरी परेकाले पठनपाठन रोकिएको छ। ती संघसंस्थाको रायसुझाव तथा सम्बन्धित विषयका विज्ञहरूको अध्ययन-अनुसन्धान सहितको प्रतिवेदन आएपछि विवादित पुस्तक छपाइ र पठनपाठन अगाडि बढ्ने उनले बताए।
ऐतिहासिक ज्ञानमणि नेपालको २०४० सालमा प्रकाशित पुस्तक नेपाल निरुक्तमा ‘विजय सेनको नामले नै विजयपुर नाम रहेको भन्ने लोकोक्ति पनि छ, तर विजय सेन विजयनारायणको नाउँबाट हो वा यो भन्दा पहिला यो नाम थियो, यो कुरा सही प्रमाणको आधारमा मात्र भन्न सकिन्छ’ लेखिएको छ।
त्यस्तै, गूगल सर्च गर्दा विजय सेन बंगाली राजपूत घरानाका सेन राजा हेमन्त सेनका छोरा देखिन्छन्। उनले गुप्तहरूका गोउडा, कामरूप जस्ता राज्यहरू मिलाएर विशाल बंगाल राज्य खडा गरेको भेटिन्छ।
विजयपुर राज्य र राजा विजयनारानबारे स्वदेशी-विदेशी लेखकहरूले मनग्य कलम चलाएका छन्। मुसलमान आक्रमणपछि भारतको चितौरबाट सेनहरू नेपाल पसेको भन्नेमा स्वदेशी-विदेशी इतिहासकारहरूमा एकै मत पाइन्छ। सेनहरू चितौरबाट मकवानपुर हुँदै पाल्पा गए वा पाल्पाबाट मकवानपुर आए भन्नेमा मात्र मतैक्य छैन।
२०२० सालमा शंकरमान राजवंशीबाट सम्पादित सेन वंशावलीमा मोरङ, विजयपुरका सेन राजाहरूको पंक्तिमा विजयनारायनको नाम छैन। २०२५ सालमा प्रकाशित बाबुराम आचार्यको श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी (विसं, पृष्ठ १९७-१९९)का अनुसार मकवानपुरका लोहाङ सेनले दखल गरेको विजयपुर राज्य उनका नाति हरिहर सेनका पालामा दुई टुक्रा भई शुभ सेनको भागमा मकवानपुर र विधाता इन्द्र सेनको भागमा विजयपुर पर्यो। विजयपुरका अन्तिम राजा कामदत्त सेन थिए।
धरान उपमहानगरपालिका-१४ स्थित हाल पञ्चकन्या भनिने जंगलको उपल्लो छेउ डाँडामा ढुंगाका किल्लाको जग देखिन्छ। यो भग्नावशेषलाई कसैले ‘विजयनारानको दरबार’ त कतिले ‘लथालिंगे राजाको भताभुंगे दरबार’ भनेको सुन्न पाइन्छ। त्यहाँ इनार, खलंगा र सुरुङका पनि अवशेषहरू स्पष्ट देखिन्छन्।
अहिले हात्तीसार क्याम्पस भएको ठाउँमा सेनकालमा हात्ती बाँधिन्थे। हात्तीसार क्याम्पसदेखि उक्लिनासाथ देब्रेतिरको ढिस्कोबाट अव्यवस्थित बसोबास शुरू हुन्छ, जुन सेनकालीन विजयपुरगढी हो।
अहिले बस्तीका पेटीमा छिनाले काटिएका तख्ती, बटम जस्ता लामा लामा ढुंगाहरू तेर्स्याइएका छन्। पिण्डेश्वर मन्दिर परिसरका लामा लामा चेप्टा ढुंगाहरूमा फूल र सर्पका आकृति भेटिन्छन्।
२०१८ सालमा प्रकाशित शंकरमान रांजवंशीको पुरातत्त्व पत्र-संग्रह दोस्रो भागमा वोआजी राय, वेलानजी रायका नाममा विसं १७७९ मा विजयपुरबाट स्याहामोहोर जारी भएको प्रमाण पाइएको छ।
इतिहासमा विजयपुर र मोरङको नाम सँगसँगै आउँछन्। विसं १७१९ मा हरिचन्द्र सेन, वृष सेनले टुह राय, यलेकला राय, खेजिम राय, थिदिउ रायको नाममा मोरङबाट जारी गरेको स्याहामोहोर सोही संग्रहमा छ। खेजिम राय भनेका छथरका खजुम लिम्बूका पुर्खा हुन्।
हज्सन कलेक्शन खण्ड ८४ को पत्र २४४ मा उति वेलाका नामी लिम्बू राजाहरूको चर्चा गर्ने क्रममा बुद्धिमोरङ र मोरोङ राजा उल्लेख गरिएको छ। धनकुटा-चौबिस क्षेत्रमा ‘मोरङ’ नामका अरू पनि ठाउँ भेटिन्छन्। हंसेमोरङमा हाङसेम्मालुङ (राजाहरू छुट्टिंदा गाडिएको ढुंगो) थियो। खुवाफुक र साप्तेनका मरङे राजाहरूले ठूल्ठूला मट्यांग्राले हानाहान गरेको लोकोक्ति पाइन्छ।
आजसम्मै पनि भेडेटारमुनिका केही भागलाई छोटीमोरङ भनिन्छ। पहिलेदेखि राजकाज भएर हुन सक्छ, चौबिसको बुढीमोरोङमा सबभन्दा धेरै थरी लिम्बूको बसोबास छ। त्यहाँ २०६२ सालमा घाँटीमा लगाउने मट्टीमाला, पुलिकमाला, कान छेडेर लगाउने गहना, मुसलमानी सिक्का र भोटे अक्षर भएको सिक्का पनि भेटिएका थिए।
चेग्रामा अग्ला अग्ला ढुंगा (लुङकेम्बा)हरू गाडिएका छन्। चेग्रा पश्चिम चक्रक डाँडालाई अझै पनि सुलिकोट भनिन्छ। पहिले राजद्रोहीहरूलाई उक्त ठाउँमा झुन्ड्याइन्थ्यो। त्यहाँ मानव कंकाल पनि भेटिएका छन्।
विसं १७६३ मा जितपुर पारवानागीबाट चेमजेग राय, माजिम राये, आका राये, वोआजी राये, रावाआ राये, शोहा रायेका नाममा स्याहामोहोरहरू जारी भएका थिए। चेमजेग राय भनेका हाल धनकुटा, चौबिस, पाँचथर र इलामका चेम्जोङ लिम्बूहरूका पुर्खा हुन्। माजिम राये भनेका पाँचथरका माख्खिम थरी लिम्बूका पुर्खा हुन्।
अहिले मोरङ जिल्लामा सीमित मोरङ राज्य चौबिस बुढीमोरोङबाट विस्तार भएको देखिन्छ। मोरङ राज्यको राजधानी विजयपुर उल्लेख भएका कागजातहरू भेटिन्छन्।
गोर्खालीहरूले विसं १८३०-३१ मा विजयपुर कब्जा गरेको २८ वर्षपछि १८५९ (सन् १८०२) मा ब्रिटिश वैद्य तथा इतिहासकार फ्रान्सिस बुकानन ह्यामिल्टन पश्चिम बंगालको बाटो हुँदै काठमाडौं ओहोरदोहोर गरेका थिए। त्यसको १७ वर्षपछि सन् १८१९ मा उनको पुस्तक एन अकाउन्ट अफ द किङडम अफ नेपाल प्रकाशित भयो।
सन् १९९० मा आएको सो पुस्तकको नयाँ संस्करणको पृष्ठ १३३-१५६ मा चौदण्डीका राजा कर्ण सेनका चौतरिया अगमसिंको वृत्तान्त छ। उतिखेर राज्य विप्लवमा परेका अगमलाई ब्रिटिश-भारतकालीन अंग्रेज इलाकामा भेटेका थिए ह्यामिल्टनले।
अगमसिंका अनुसार राजकुमार विजयनारानका पुर्खाले पहिले मोरङ राज्यका केही मैदानी भागमा अधिकार जमाएका थिए। विजयनारानले मोरङ राज्यदेखि उत्तर पहाडी भेगका वंशानुगत राजपरम्परा भएको किराती शासक खेबाङका छोरा सिंग रायलाई आफ्नो सेवामा राखे। विजयपुर राज्यमा खेबाङका सन्तान वंशानुगत चौतरिया रहने नियम संस्थागत गरिएको थियो।
आफूलाई धर्ती (संसार)को विजेता ठानेर आफ्नो राज्यको नाम विजयपुर राखेका विजयनारानले नै विजयपुर दरबार निर्माण गरेका थिए। उनले ‘हिन्दू आइमाईसँग लसपस गरेका’ आफ्नो चौतरिया सिंग रायको हत्या गराएका थिए। सिंगका छोरा बाजु रायले मकवानपुरका राजा लोहाङ सेनको सहयोगमा विजयनारानको हत्या गरेर आफ्ना पिताको बदला लिए। त्यसपश्चात् विजयपुर लोहाङसेन मातहत गयो।
ह्यामिल्टनको लेखाइलाई याक्थुङ्बा/लिम्बूहरूका टिपोटसँग दाँज्नु जरूरी छ। ह्यामिल्टनका स्रोतव्यक्ति अगमसिंबारे हज्सन कलेक्शनको खण्ड ८५ को पत्र १३२ मा पनि चर्चा गरिएको छ।
ब्रायन हग्टन हज्सन सन् १८२० (विसं १८७७) मा ब्रिटिश-भारतकालीन कर्मचारी भएर काठमाडौंस्थित ब्रिटिश रेजिडेन्सीमा आएका थिए। पछि रेजिडेन्ट (राजदूत)मा बढुवा भएर लामै समय नेपाल बसे। सन् १८४५ पछि उनी दार्जीलिङ बसे।
हाल ताप्लेजुङ, मैवा खोलाका जोभानसिं फागो वनेमले गोर्खालीसँग आफ्ना पुर्खाहरूको युद्धवर्णन लेखेर विसं १९०३ मा दार्जीलिङमा हज्सनलाई बुझाएका थिए। सिरिजंगा लिपिमा याक्थुङ/लिम्बू भाषाको त्यस लेखोटमा गोर्खालीले खम्बू (किरात राई)हरूको नरसंहार गरेको विवरण छ। त्यस्तै, खम्बुवान/माझ किरात, चौदण्डीका चौतरिया अगमसिं खम्बू/किरात/राई अरुण पूर्वका याक्थुङ्हरू काङ्सोरे, जयकर्ण, तेसाक्पा, गंगारे, साङबोत्रे, सिपा, फाक्ते लगायतसँग सहयोग माग्न सभाखोलासम्म आएको बयान छ।
टिपोट (संख्या १)को मूल पाठ
लिप्यन्तरण
...कोशीपारी शुकनाक्रा खेछिङ लासे हा? यो युङरो। अगमसिङ चवतारारो। खम्फाङ गर्खाले तुराइन अरुन थाबे खबुहाङ मेक्सुथो याक्थुङहाङ लाजे तेरुफाङ अरुनपार मेक्सिङ करेल्ले याक्थुङहाङ मेपोगेआङ सोभाया दोभान मेथोक्तेरो। जयकर्न रे तक्नामरो। केथक्पाहा साङबोत्रे, तेसाक्पा, गंगारे, काङ्सोरे, सिपा, फाक्ते एनहा मेवारो। सभाया घाट यक मेफान रो। थाप्ला...
अनुवाद
कोशीपारि सुक्रानाक्रामा भागेर आई बस्यो है। अगमसिं चौतारा है। अनि त गोर्खाली सेना अरुण नदीपारि देखिए याक्थुङ्बाको माटो लान्छु भनेर अरुणपार आइपुग्दा याक्थुङ्हाङहरूसँग सोभाया दोभान (सभाखोला र अरुणनदी)मा लडाइँ भयो है। जयकर्नको तर्फबाट है। योद्धाहरू साङबोत्रे, तेसाक्पा, गंगारे, काङसोरे, सिपा, फाक्तेहरू थिए। सोभाया घाटमा आडा बनाए ...
ह्यामिल्टनको लेखनसँग याक्थुङ/लिम्बूका अरू टिपोट पनि मिल्छन्। पाँचथर, नवमीडाँडाका अम्बिकाप्रसाद आङदेम्बेसँग भएको १८८९ वैशाख १७ गते देवनागरी लिपिमा याक्थुङ/लिम्बू भाषामा लेखिएको टिपोट यस्तो छ-
टिपोट (संख्या २)को मूल पाठ
लिप्यन्तरण
...षेवहां लाजे यो हां पोषे। कुसा सिंग राई आं कुम्बारे सेष यो हां पोषे १८।...
लेखोटले याक्थुङ पुर्खाबारे चर्चा गर्छ। त्यसपछि खेबहाङ मोरङ राज्यमा राजा भए, बाबुपछिको सेखमा सिंग राई राजा भए (पंक्ति १८) भनिएको छ। ह्यामिल्टनले खेबाङका छोरा सिंग रायलाई विजयनारानले आफ्नो राज्यको चीफ/चौतरिया बनाएको भनेर लेखेका छन्।
तेह्रथुम, फेदाप-जलजलेका विजय सम्बाहाङ्फेले कुलनाथ निङ्लेकु मार्फत प्राप्त गरेको देवनागरी लिपिमा याक्थुङ/लिम्बू भाषामै लेखिएको अर्को टिपोट हेरौं-
टिपोट (संख्या ३)को मूल पाठ
लिप्यन्तरण
...वीजयपुरे हाङीन षांंवोंवा याकथुं वा रो। यांवीछा सा होपते मिछीमा कुसान सांलाइंले तेरु वांं षें पी ६।७ पुस्ता राज मेजोगु आं वीज्यानारांंले पाला र्सेनीन थारुआं मैती पाहाड पेगेरो।। सें ले ६।७ पुस्ता चोगुआं अपुताल पोक्सेले मुदेंवाले अरुनाङ कना मांफा याक राज चोगु ञांसी पेनेहांले नादु वा. चोगुर पतलो...
मुल पुर्षा वंसवलिरो
सीदीआं नु सांलाअीं २ भाई १ आगेकमी २ आम्रवोमी ३ माहांदो ४ माहांदो ५
सदंहां ६ सगेहां ७ गेंवाहां ८ सकचोवा ९ थासुहां १० मुदेपा ११ मुसुहां १२ पुनहां १३ तेंहांमुक्पा १४...
टिपोटमा विजयपुरमा पहिले भूमिपुत्र याक्थुङ राजा भएको भनेर किटेर लेखिएको छ। उनका छोरा थिएनन्, छोरी साङ्लाइङपट्टिका सात पुस्तापछि विजयनारान राजा भए। विजयनारानको पालामा सेन वंशले राज्य लियो। विजयनारानका सन्तान पहाडमा गए। त्यसपछि सिदिइङ र साङ्लाइङपछिका पुस्तैनी नामहरू राखिएका छन् टिपोटमा।
लिलाबहादुर तुम्बाहाङ्फे र इन्द्र तुम्बाहाङ्फेद्वारा संकलित सातरेनुहाङ तुम्बाहाङफे वंशावली र फेदाप लिम्बुवान (२०६३)को पृष्ठ २५८ मा विसं १८१४ मा अभिलेख गरिएको फेदापका सात राय (सात लिम्बू प्रमुख)को वंशावली टिपोट छापिएको छ।
टिपोटमा उनीहरूको पुर्खा सिदिइङका सन्तान पहाड फेदापमै रहेका र साङ्लाइङका सन्तान- याम्बेनारान, आपनारान, कृइन नारान, चारै नारान, ईतवी नारान, वीज्या नारानसम्म जम्मा सात पुस्ता मोरङमा राज्य गरी बसेको र राज्य भंग भएपछि दक्षिण माइती पहाड आएको उल्लेख छ।
अर्थात्, विजयनारानको पालामा साङ्लाइङका सन्तान राज्य विप्लवमा पर्छन्। माथि उल्लिखित टिपोट- ३ मा साङ्लाइङका सन्तानको सात पुस्तापछि विजयनारानको पालामा विजयपुरमा सेनहरूको प्रवेश भएको र वंशावलीमा विज्यानारानको पालामा सात पुस्तामा राज्य भंग भएको व्यहोरा मिल्छ।
अघि सेनहरूको पालामा विजयपुर दरबारमा वानहाङफुङ रहँदा उनकी श्रीमती उनकै कमारा कोचोपंगेसँग लहसिएर जन्मिएको सन्तान निरंशी भएर अंशीसँग भएको झगडाको कागज पनि उक्त वंशावलीमा छ। वंशावलीको पृष्ठ २९२ मा यस्तो लेखिएको छ-
टिपोट (संख्या ४)को मूल पाठ
लिप्यन्तरण
...सेन मगुवानी पाला विजैपुर दरवार छंदा विजैपुर दरबारमा बानहाङफुङ रुजु १०।१५ वर्ष बस्ता वानहाङफुङको सन्तान होइनस औ काचवोगेको सन्तानहोस जातको भाइ होइनस जातको जग्गाको निरअंसि होस भनि पजनसिंले मनजितलाइ पक्रनदा अंसि भाइ र निसअंसि भाइका झगडामा १८७० सालदेखि झगडा अंसि भाइ र निअंसि भाइका ब्यहोरामा अड्डा अमाल कचहरीमा बरोबर मन्जित र पञ्जनसिंसंग जोडि विडिकर्पन परि खेपजा को रीतको मुडका विधो अदालतमा लेखाई मन्जित र पञ्जनसिंको न्यापर्दा मन्जितले खेप्जा रीतमा हार्यो...
यो कागजले विजयपुरसँग तेह्रथुम, फेदाप-म्याङलुङका तुम्बाहाङ्फे लिम्बूहरूको इतिहासलाई जोड्छ। वंशावलीले दक्षिण माइती पहाड भनेर तेह्रथुमको फेदापबाट दक्षिणमा पर्ने धनकुटाको चौबिसलाई इंगित गर्छ। स्व. भरत तुंघङसँग भएको फेदाप र चौबिससँग जोडिएको अर्को कागज हेरौं-
टिपोट (संख्या ५)को मूल पाठ
लिप्यन्तरण
...सातिंगे इतिंगे लेप्सामी षाम्भुल्लुम वादुसो चौविस्या हुं....मिक्लुक पाहाड मैति पाहाड तम्बरपारमा चौविस्या छं...
लेखोटको अन्तिममा ‘सातिंगे इतिंगे’ भनेर साङ्लाइङ भनिएको हो। उनीहरूका पुर्खा जो डाँफे, मुनालका प्वाँखको कल्की लगाउँथे भनेर प्रशस्ति गाइएको हो। यसरी साङ्लाइङका सन्तान चौबिसका नेयोङ, संयक, लाङभेवा र थक्सुहरू भएको सजिलै पुष्टि हुन्छ।
तमोर नदीपारि मिक्लुक पहाडका फेदीमा चौबिसे लिम्बूहरू बस्छन् भनिएको हो। यो कागजमा तमोर पार चौबिसलाई माइती पहाड भनिएको छ। माथि उल्लिखित फेदापेहरूको कागजमा पनि माइती पहाड शब्दहरू परेकाले तेह्रथुमका फेदापे र धनकुटा चौबिसका लिम्बूहरूका वंश जोडिन्छन्।
तमोर वारिपारि बसोबासलाई लिएर उनीहरूले माइती पहाडको संज्ञा दिइरहेको बुझिन्छ। हालको तेह्रथुम जिल्ला पर्ने पहिलेको फेदाप थुमका सिदिइङ र साङ्लाइङमध्ये सिदिइङका सन्तान पयांगु, तुम्बाहाङ्फे, खापुङ, लुम्फुङ्वा, चोङबाङ, सिंगक, सम्बाहाङ्फे, कुरुम्बाङ, निङलेकु, आङ्बुङ, चिलिफुङ लगायत लिम्बू थरी भएर बसेका हाल फेदापमा नै रहेका र साङ्लाइङका सन्तानहरू नेयोङ, संयक, लाङभेवा, थक्सुहरूका पुर्खा चाहिं विजयपुरको शासक भएको स्पष्ट हुन्छ।
तुम्बाहाङ्फे वंशावली अनुसार साङ्लाइङपछिका यम्बेनारान हिन्दू मतमा गएको बुझिन्छ। किनकि उनको नाम पछाडि विष्णु भगवान्लाई भनिने ‘नारायण’ शब्द ‘नारान’ भएर जोडिएको छ। यिनै फेदापे साङ्लाइङको सातौं पुस्ताका विज्यैनारान विजयपुरका राजा विजयनारान भएको पुष्टि हुन्छ।
ह्यामिल्टनले भने जस्तै मोरङदेखि फेदाप उत्तरमै पनि पर्छ। विजयपुर राज्यबारे थप पुष्टि गर्न विजयपुरमाथिको साँगुरीगढीसँग चौबिसका संयक थरी याक्थुङ लिम्बूसँग जोडिएको भनाइको पनि चर्चा गर्नै पर्ने हुन्छ। मुन्धुमका ज्ञाता स्व. भरत तुंघङसँग भएको संयक लिम्बूहरूको उत्पत्तिस्थल साँगुरी लेखिएको कागज हेरौं-
टिपोट (संख्या ६)को मूल पाठ
लिप्यन्तरण
...सोञोपाको मांकेना सांगुरी यक सातिके येतिकेले वारु कर कुवामा सा ...
यो टिपोटमा चौबिसका संयक लिम्बूहरूको पुर्खा डाँफे/मुनालको पुच्छरको कल्की लगाउने सादिगे/वेदिगे/इदिगे भएको र उत्पत्तिस्थल धनकुटा, भेडेटार परको साँगुरीगढी रहेको लेखिएको छ।
पाँचथर, अम्लाबुङका अम्बिकाप्रसाद आङ्देम्बेसँग भएको विसं १८८९ वैशाख १७ को याक्थुङ लिम्बू भाषामा लेखिएको कागजमा दश लिम्बू राजाहरूको चर्चा गर्ने क्रममा सोइयो पालाहाङको साँगुरीमा राजधानी भएको उल्लेख छ।
धरान-भेडेटार नजिकको डाँडोलाई साँगुरी भनिन्छ। संयकहरू बसेकाले यो नाम रहेको हुन सक्छ। साँगो भनेको लिम्बू भाषामा घरको धुरी हो। साँगोबाटै साँगुरी डाँडाको नाम रहन गएको पनि हुन सक्छ।
राजा सोइयो पालाहाङ संयक याक्थुङ लिम्बूका पुर्खा हुन्। यो कागजमा पनि संयकपाको उत्पत्तिस्थल साँगुरी रहेको लेखिएको छ। घरको धुरी (साँगो) जस्तै डाँडोलाई साँगुरी भनिएको हो। साँगोबाटै संयक थरी लिम्बूको उत्पत्ति भएको हुन सक्छ। संयकमा तुम्बा र तुम्सा दुई थरी छन्।
विजयपुरको सवालमा इमानसिंह चेम्जोङको पुस्तक किरातकालीन विजयपुरको संक्षिप्त इतिहास (विसं २००५) अनुसार कोच राजा सिंग राईले आफ्नो राज्य मोरङसम्म विस्तार गरे। उनका छोरा विजयनारान मोरङका राजा भए। उनले फेदापका राजा मुरेहाङलाई कज्याएर आफ्नो सेवामा राखे।
चेम्जोङको मतमा पनि मुरेहाङ नामका पात्र मात्र फरक देखिन्छन्। उक्त पुस्तकमा तिब्बतका दलाई लामाले फेदापका बाजहाङलाई भोटे भाषामा लेखेको स्याहामोहोर छापिएको छ।
स्याहामोहोरमा ‘...फेदापसा बाजाहाङ दिपा फास्युल फुज्याक कुजाक छथेसि। थेना खोराङ्गी फाज्यो द्वि कि थोप खुङ। नुहाङ्मा भागासुम लाङफेल दुन्चये याक्ने...’ भन्दै उप्रान्त फेदाप देशका राजा बाजाहाङले आफ्नो राजभार पुत्रहरूलाई जिम्मा लगाएको लेखिएको छ।
उक्त स्याहामोहोरमा ‘नुहाङ्मा’ ‘भागासुम’ लगायत शब्दहरू छन्। फेदापे सात दाजुभाइलाई नुहाङ्मा भनिएको हो। भागासुम भनेका गाउँहरूका नाम हुन्। ह्यामिल्टन (ऐजन, पृष्ठ १३२)ले पनि सिंग रायका छोरा बाजु रायको चर्चा गरेका छन्। चेम्जोङले भनेका मुरेहाङ चौबिसका खुवाफुक साप्तेनका मरङे राजाहरू हुन सक्छन्।
विजयनारान अपुताली भएको चर्चा भइसकेको छ। उनकी श्रीमती थिन्दोलुङ खोयाहाङ वंशी मेयाङ्बो र आङभाङ/आङ्बुहाङ लिम्बूहरूका पुर्खा चेली थाङ्सामा हुन सक्ने आकलन गर्न सकिन्छ।
ताप्लेजुङ, थेचम्बु पोखरी बस्ने बज्रधोज लिम्बूले विसं १९५९ ....शुदि १४ रोज ७ (महिना नबुझिए पनि अरू ठाउँमा सोही व्यहोरा भएको कागजमा १९६० साल चैत्र १४ गते रोज ७ लेखिएको) याङरुपको फावाखोला, साङबांगो, थेचम्बुको मेयाङ्बोको खोयाहाङ वंशावली लेख्ने क्रममा आठौं पुस्ताका मुहांकेपकी छोरी विजयपुर मोरङराजाले लगेको (विवाह गरेको) लेखिएको छ।
कागजको टिपोट (संख्या ७) को मूल पाठ
भेटिएका वंशावली टिपोटहरूको मुहांकेपदेखि मुनि आङ्बुहाङपट्टिका नाम्बाहाङ हुँदै ५-६ पुस्तामुनिका जस रायले सेन राजा महिपतिबाट विसं १७४३ मा र जगदिप रायले विसं १७५४ मा स्याहामोहोर पाएको भेटिन्छ।
स्याहामोहोरहरूमा आङ्बुहाङहरूको घना बस्ती भएको ताप्लेजुङको चाँगे र तमोर फाँटका जग्गाहरूको उल्लेख भेटिन्छ। महिपति सेनभन्दा ५-६ पुस्ता अगाडिका हुन् लोहाङ सेन।
लोहाङ र विजयनारान समकालीन रहेको चर्चा माथि भइसकेको छ। कागजातहरूले लोहाङ सेन, विजयनारान र मुहांकेपलाई समकालीन देखाउँछन्। प्रकाशमान आङ्बुहाङ (विसं २०१८) र इमानसिंह चेम्जोङ (विसं २०३१)को प्रकाशनबाट थाङ्सामालाई कामदत्त सेनले नभई विजयपुरका राजा विजयनारानले विवाह गरेको पुष्टि हुन्छ।
विजयनारानको समकालीन देखिए पनि पूर्व एकीकरणमा लागेका वेला लोहाङ सेन युवा भएको अनुमान गर्न सकिन्छ। ह्यामिल्टन (ऐजन पृष्ठ १३४)ले विजयनारान सन्न्यासी भएर बँदेल पूजा गर्न बराहक्षेत्र गएको र उतै देहत्याग गरेको लेखेकाले उनी वृद्ध देखिन्छन्।
ह्यामिल्टनका अनुसार लोहाङ सेनका राघव र भगवन्तनाथ मध्य राघवका छोरा हरिहर थिए। शंकरमान राजवंशीको संकलन अनुसार लोहाङका नाति हरिहर सेन विसं १७१९ मा मोरङका राजा भएका देखिन्छन्।
हरिहरभन्दा दुई पुस्तामाथिको २५ वर्ष गणना गर्दा लोहाङ सेन विसं १६७० मा मकवानपुरका राजा थिए भन्न सकिन्छ। विजयनारानको उमेर ढल्दो मान्दा विसं १६२० तिर उनको शासनकाल अनुमान गर्न सकिन्छ।
ह्यामिल्टनका अनुसार विजयपुर राज्यको तराई (केटोनीं)मा सप्तरी, महोत्तरी, मोरङ र पहाडमा चयनपुर प्रमुख थिए। विजयपुरको पूर्वी भेगमा कामरूप (आसाम)बाट आएका बंगाली भाषा बोल्ने कोच वा राजवंशी र मेचेहरूको बसोबास थियो। पश्चिमपट्टि मिथिलाभाषी गंगेय जातहरूको बसोबास थियो भने पहाडमा खसहरूको। उनीहरू राजपूत, मगर र पर्वतिया हिन्दूहरूसँग लसपस भएका थिए।
उत्तरको चयनपुरमा लोहाङ सेनको पालामा एउटा सुब्बा (प्रशासक) राखेर जिल्ला स्थापना गरिएको थियो। चयनपुरको उत्तरमा अरुण नदी, संखुवा खोला हुँदै तिब्बत, पश्चिममा कोशी र पूर्वमा टिस्टा सिमाना थियो। विजयपुर राज्यको सीमांकन गर्दा वर्तमान सप्तरी, महोत्तरीदेखि टिस्टासम्मका सम्पूर्ण तराई र पहाडी भागहरू पर्छन्।
इतिहासमा विजयपुरको पुरानो नाम वाराताप्पा भेटिन्छ। विसंं २०३१ मा प्रकाशनमा आएको इमानसिंह चेम्जोङको किरातकालीन विजयपुरको संक्षिप्त इतिहासको पृष्ठ २२-२६ अनुसार पहिले मोरोङ राज्यका राजा साङ्लाइङ र राजधानी वारताप्पामा थियो। वारताप्पालाई विजयपुर भनिएको चेम्जोङको मत छ।
धनकुटा चौबिस बोधेका भक्तबहादुर देवानसँग भएको विसं १८४७ फागुन वदि ३० रोज ५ मा देवानहरूका पुर्खा पंचकर्ण राई, आसिकराम राईहरूका नाममा जारी भएको लालमोहोर (रातो छाप)मा ‘...पश्चिम तमोरपुर्व वोधैवो पानांगी. दक्षिण साप्तिन डांडो. उतर माककवा डांडा... दछिन निसान गाछ उतर वारदापा पूर्व गुवावारी पश्चिम तेलिया षोलो... येति चार किल्ला भित्रको काला वंजर उघार्न वाझो जिमि पनि छाप गरि बक्स्यौं’ लेखेको भेटियो।
वोधैवो/बोधे, पानांगी/राजारानी र साप्तिन लगायत ठाउँ धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकामा पर्छन् अहिले। पानवारीछेउ गुवाबारी (सुपारी) पर्छ। तेलिया खोला भनेको चाहिं जाँते छेउको तेली खोला हो।
निशान गाछ भनेको हालको धरानबाट भेडेटार उक्लिँदाको निशाने खोला हो। पहिले त्यहाँ गोर्खालीहरूले युद्ध दिग्विजयका क्रममा निशान राखेका थिए। वाराताप्पा भनेको चाहिं विजयपुर नै रहेछ। कागजमा निशान गाछ र वाराताप्पा नाम सँगै परेकाले इमानसिंह चेम्जोङले भनेको वारताप्पा हालको विजयपुर नै भएको पुष्टि हुन्छ।
पहिले लिम्बूहरूले ठूलठूला सुँगुरका साँढे/योपा पाल्थे। योपाले उधिनेको खोरियामा ढुंगो गाढेर आफ्नो स्वामित्वमा पारिन्थ्यो। यस्तो चलनलाई योपालुङ भनिन्थ्यो। यसरी योपाले उधिनेको वा ‘योपारे वारुतेरु’ खोरियाहरूलाई वारांगी, वारताप्पा भनियो।
मोरङको सिंहदेवीछेउको वारांगी र विजयपुर भनिने वारताप्पा नाम यसरी रहेका थिए। चौबिस, कुरुलेमुनिको अठारसयसँग जोडिएको गाउँलाई अझै पनि सारतप्पा भनिन्छ। सेरा (बँदेल)ले उधिनेको ठाउँलाई सारताप्पा भनिएको हो।
छथरको फाक्चामारा भन्ने ठाउँ सुँगुरले चारो खाइसकेको भनिएको हो। सुँगुरको खुट्टा वा फाकलाङ अल्झिएकाले फाकलाङबाट हाल चौबिसको फलामेटार नामकरण भएको हो।
लिम्बू भाषामा ‘ताप’ भनेको जंगल हो। बोधेछेउमा पनि लाहातप्पा भन्ने गाउँ छ। म्याङलुङमुनि लम्बु खोला र पिङ्वा खोला दोभानमाथि पनि लाहातप्पा गाउँ छ। सोल्मामा पनि नगरतप्पा गाउँ छ। छथर, ओख्रेमुनि पनि फुवातप्पा भन्ने गाउँ छ। यसरी विजयपुरलाई वारताप्पा भनेर याक्थुङ लिम्बूहरूले नै बोलेका रहेछन्।
बुद्धिकर्ण रायको चर्चा नगर्दा विजयपुरको इतिहास अपुरो हुन्छ। उनी विजयपुरका अन्तिम सेन राजा कामदत्तका चौतरिया थिए।
शंकरमान राजवंशीको ऐजन पुस्तकको पृष्ठ १७ मा विसं १८२४ मा बुद्धिकर्ण रायले रामभद्र पण्डितलाई पानोन गावो (पानवारी गाउँ), बेली गावो (बेलबारी) र लवरापुर (लखनपुर गाउँ)मा पुरोहित्याइँ गर्ने अधिकार दिएको उल्लेख छ। उनले विसं १८२९ मा तुलाराम पण्डितलाई पनि कटहरी गाउँमा पुरोहित्याइँ गर्न स्याहामोहोर गरिदिएका थिए।
योगी नरहरिनाथको सन्धिपत्र संग्रहको पृष्ठ १८६ मा भने विसं १८२८ मा दिवान बुद्धिकर्ण रायले चौबिसका फुङ्मा रायलाई स्याहामोहोर दिएको उल्लेख छ। बुद्धिकर्ण विसं १८२४ देखि १८२९ सम्म सत्तामा देखिन्छन्।
ह्यामिल्टनका अनुसार (ऐजन, पृष्ठ १४०) बुद्धिकर्णले सिक्किमबाट भुटियाहरू ल्याएर कामदत्त सेनको हत्या गरेका थिए। राजा थुतोव नामग्याल र रानी येशे डोल्माको संकलनमा सन् १९०८ (विसं १९६५) मा बाइन्डिङ भएको हिस्ट्री अफ सिक्किमको पृष्ठ ४२ मा सिक्किमका पाँचौं महाराज नामग्याल फुन्छोको राज्यकालमा बुद्धिकर्ण पश्चिम सिक्किमको राबदेन्ची दरबार पुगेको उल्लेख छ। सिक्किमका लागि तिब्बतका आवासीय दूत नालुङदिङ खर्बाको उपस्थितिमा तराईबाट चोकारीका भतिज भोतिकर्ण भेट्न आएको भनेर त्यहाँ लेखिएको छ।
भोतिकर्ण भनेका बुद्धिकर्ण नै हुन्। चोखा रायलाई चोकारी भनिएको हो। चोखा विसं १७६९ मा विजयपुर-मोरङ राज्यका चौतरिया देखिन्छन्।
धनकुटा, बोधेका भक्तबहादुर देवानसँग भएको विसं १८४७ मा रणबहादुर शाहले पञ्चकर्ण रायलाई गरिदिएको लालमोहोरमा चोखा रायको नाम छ। अपुताली जग्गा सम्बन्धी मोहोरमा पञ्चकर्ण र उनका भाइ ब्रम्हादत्त चोखा रायका सन्तान भेटिन्छन्।
पञ्चकर्ण रायका पुर्खा चयनपुरको मादी, पुत्लुङबाट चौबिस आएका हुन्। उनका सन्तानहरू चौबिसका देवान भए। हज्सन कलेक्शनको खण्ड ८५ को पृष्ठ १३१ मा गोर्खालीसँग लड्ने लडाकूहरूको नामावलीमा याक्थुङ् लिम्बूका काङ्सोरे, जयकर्णसँगै पुलुङहाङ र इयकहाङको नाम पनि भेटिन्छ।
हज्सन कलेक्शनकै खण्ड ८४, पत्र २४३ र २४५ मा याक्खा राजाहरूको सूचीमा पुलुङ र इयकहाङको नाम छ। वास्तवमा मोरङ-विजयपुरका बुद्धिकर्ण राय चौबिस बोधेका याक्खा देवान थिए।
विजयपुरका राजा विजयनारान पाल्पाका सेनवंशी नभई फेदापे-चौबिसे लिम्बूहरूका पुर्खा भएको माथिका प्रमाणहरूले पुष्टि गर्छन्। तसर्थ धरान उपमहानगरपालिकाले विषयविज्ञहरू राखी प्राइमरी डेटाहरूलाई मुख्य स्रोत मानेर पाठ्यपुस्तक सच्याउनु बुद्धिमानी हुन्छ।
(सम्पादन : आनन्द राई, भाषा : प्रद्युम्न खनाल)