खेमराज स्रष्टा सम्मान रामेशलाई
लोकप्रिय गायक स्व. खेमराज गुरुङको नाममा स्थापित खेमराज गुरुङ ट्रस्टले जनगायक रामेशलाई ‘खेमराज स्रष्टा सम्मान’ प्रदान गरेको छ ।
‘गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ’, ‘एक जुगमा एकदिन..’ लगायत गीतमार्फत परिवर्तनका पक्षमा जनमत सिर्जना गर्न सफल भएको भन्दै रामेशलाई नगद ५० हजार सहितको सम्मान प्रदान गरिएको हो ।
पाँच दशक लामो समयदेखि जनपक्षीय गीतसंगीत मार्फत पुर्याएको योगदानको कदर गर्दै रामेशलाई स्रष्टा सम्मान प्रदान गरिएको ट्रस्टले जनाएको छ ।
यसअघि यो सम्मान वरिष्ठ गीतकार रत्न शमशेर थापा र संगीतकार प्रकाश गुरुङलाई प्रदान गरिएको ट्रस्टका महासचिव दिपेन्द्र बान्तावाले बताए।
ट्रस्टले स्मृति दिवसका अवसरमा खेमराज प्रतिभा पुरस्कार गायक सुसन लामालाई प्रदान गरेको छ । काभ्रेको चौरी देउराली गाउँपालिकाका लामा २०४७ सालमा प्रतिभाको डबलीमार्फत सिर्जना यात्रामा लागेका हुन् ।
यसअघि प्रतिभा सम्मान पहिलो स्मृति दिवसमा गायिका मेलिना राई र गत वर्ष संगीतकार तथा गायक ओमप्रकाश राईलाई प्रदान गरिएको थियो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको प्रमुख आतिथ्यमा नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न स्मृति सभामा प्रतिष्ठानका सदस्य–सचिव श्याम तमोट, सिक्किम सरकारका पूर्वमन्त्री गर्जमान गुरुङलगायत अतिथि थिए । चर्चित गायक राजेश पायल राईले ट्रस्टको तर्फबाट स्वागत गर्दै खेमराजको स्मरण गरे ।