रिलायन्स स्पिनिङ मिल्सबारे धितोपत्र बोर्डसँग लेखा समितिको प्रस्टीकरण माग
संघीय संसद्को सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्डसँग रिलायन्स स्पिनिङ मिल्सलाई प्राथमिक शेयर निष्कासनका लागि अनुमति दिएको सम्बन्धमा जवाफ माग गरेको छ।
लेखा समितिले एक साताभित्र यस सम्बन्धी विस्तृत विवरण पठाउन निर्देशन दिएको छ। सार्वजनिक लेखा समितिले मंगलबार बोर्डलाई पत्र लेखेर बूक बिल्डिङ विधि मार्फत प्राथमिक शेयर निष्कासन गर्न लागेको रिलायन्स स्पिनिङ मिल्सबारे सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको समाचारले समितिको ध्यानाकर्षण गराएको उल्लेख गरेको छ।
लेखा समितिका सभापति ऋषिकेश पोखरेलले रिलायन्सको प्राथमिक शेयर निष्कासनका विषयमा प्रश्न उठेकाले त्यसको जवाफदेहिता कसको हुने भनी धितोपत्र बोर्डसँग जवाफ माग गरिएको बताए। उनले भने, “अब बोर्डको जवाफ र प्रतिक्रिया हेरेर थप निर्णय गर्छौं।”
लेखा समितिले रिलायन्सको शेयरको मूल्य के आधारमा तय गरिएको हो भनी प्रश्न सोधेको छ। ‘बूक बिल्डिङको आधार मूल्य तय गर्ने अधिकार कसलाई छ र यसको प्रक्रिया के हो?’ पत्रमा उल्लेख छ।
त्यसैगरी, रिलायन्सले आफ्नो वित्तीय विवरणमा यसअघि गत वर्ष प्रतिशेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा रहेको उल्लेख गरेकोमा अहिले एक वर्ष नपुग्दै उक्त आम्दानी दुई रुपैयाँ आठ पैसामा झर्नुलाई लेखा समितिले प्रश्न उठाएको छ। ‘यसअघि वित्तीय विवरण तयार गर्दा हेराफेरी गरिएको भनी अनुमान गर्न किन नमिल्ने?’ लेखा समितिको प्रश्न छ।
लेखा समितिले विगत वर्षहरूको प्रतिशेयर आम्दानी र यस वर्षको चैतसम्मको प्रतिशेयर आम्दानीका विषयमा सामञ्जस्य नदेखिएको उल्लेख गरेको छ। यसबारे पनि प्रश्न उठाइएको छ।
त्यस्तै, बूक बिल्डिङ प्रक्रियाका लागि बोलकबोल गर्ने योग्य संस्थागत लगानीकर्ताको रिलायन्स र सञ्चालकसँग स्वार्थ बाझिएको/नबाझिएकोबारे पनि प्रश्न सोधिएको छ।
समितिले रिलायन्सको प्रतिशेयर आम्दानी घटिरहेको हुँदा सर्वसाधारण लगानीकर्ताको सुरक्षाबारे धितोपत्र बोर्डको धारणा पनि माग गरेको छ।
हिमालखबरले रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक शेयर निष्कासनमा सर्वसाधारणलाई झुक्याइएको विषयमा समाचार प्रकाशन गरेको थियो।
सर्वसाधारणलाई झुक्याएर रिलायन्सको आईपीओ