पाथीभरा क्षेत्रमा किन रोपिए हजारौं बिरुवा?
पाथीभरामा निर्माण हुने केबलकारको विरोध गर्दै आएका स्थानीयवासीले यस परियोजनाका लागि ठूलो संख्यामा रूख कटान गरिएपछि प्रतिवादस्वरूप वृक्षरोपण गरेका छन्।
ताप्लेजुङको पाथीभरा क्षेत्रमा जेठ ३१ गतेदेखिका दुई साता डाँडा-पाखामा स्थानीय मानिसहरू छपक्कै फैलिए। उनीहरूले दिनहुँ धाएर पाखामा खूब ध्याउन्नले बिरुवा रोपिरहे। जेठ ३१ देखि असार १५ गतेसम्म ३० हजार बिरुवा रोपेको पाथीभरा याङवरक गाउँपालिका-३, तिरिंगेका सरोज कालिङ्वा बताउँछन्।
पाथीभरा क्षेत्रका बासिन्दाले त्यहाँ केबलकार निर्माण कम्पनीले ठूलो संख्यामा रूख काटेपछि त्यसको प्रतिवादमा वृक्षरोपण गरेका हुन्। पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिले काफ्लेपाटीदेखि पाथीभरा मन्दिर पुग्ने केबलकार बनाउने प्रक्रिया अगाडि बढाएको छ।
यस विरुद्ध मुक्कुमलुङ संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समिति लगायतका स्थानीय नागरिक समूह विगतदेखि नै आन्दोलनरत छन्। मुक्कुमलुङ पाथीभरा लिम्बू समुदाय तथा आदिवासीहरूको ऐतिहासिक तथा धार्मिक स्थल भएकाले यस क्षेत्रमा केबलकार निर्माणको योजना आदिवासीको मौलिक पहिचानमाथि अतिक्रमण र हस्तक्षेप भएको संघर्षरत पक्षले बताइरहेका छन्। पाथीभरा क्षेत्र किरात समुदायको दर्शनशास्त्र मुन्धुममा उल्लेख गरिएको मुक्कुमलुङ भएको बताइन्छ।
केबलकार निर्माण परियोजनालाई गति दिन कम्पनीले पछिल्लो पटक गत वैशाख ३१ गते ठूलो संख्यामा रूख काटेपछि स्थानीय जनता थप विरोधमा उत्रेका हुन्। स्थानीयवासीका अनुसार २७ जना मान्छे रातभर खटाएर मशिनबाट रूख काटिएका थिए।
केबलकार निर्माण गर्ने भनेर रातारात रूख काटिएपछि त्यही ठाउँमा आफूहरूले वृक्षरोपण गरेको कालिङ्वा बताउँछन्। भन्छन्, “रूख काटिएका ठाउँमा धूपी, लालीगुँरास, लौठसल्ला, गोब्रेसल्ला लगायत बिरुवा रोपेका छौं।”
कालिङ्वाका अनुसार पाथीभरा क्षेत्रमा पहिलो पटक २०७२ सालमा ताप्लेजुङभरिका गाविससचिवहरूले केबलकार बनाउने निर्णय गरेका थिए। सोही अनुसार केबलकार परियोजना बनाउन दुई कम्पनी अगाडि आएको तर स्थानीय नागरिक समूहको अवरोधकै कारण पछि हटेको उनी बताउँछन्। पछिल्लो समय व्यवसायी चन्द्र ढकाल अध्यक्ष रहेको पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिले परियोजना निर्माण गर्न लागेको हो।
संघर्षरत समूहले केबलकारको परियोजना खारेजीसँगै पाथीभराको रैथाने नाम मुक्कुमलुङ राखिनुपर्ने माग पनि गर्दै आएको छ। मुक्कुमलुङ अभियन्ता निरन्ती तुम्बापो यस क्षेत्रमा केबलकार बने यहाँको अर्थतन्त्र खलबलिने र १७ सय जनसंख्या विस्थापित हुने बताउँछिन्।
उनका अनुसार पाथीभरा दर्शनमा आउने तीर्थालुलाई लक्ष्य गरेर २७ वटा होटल खोलिएका छन्। यस्तै, हिंड्न समस्या हुने तीर्थालुलाई फेदीबाट बोकेर तीन किलोमिटर माथिको मन्दिरमा पुर्याउने काममा धेरैले रोजगारी पाइरहेका छन्। केबलकार बनेमा यो सबै व्यवसाय र रोजगारी गुम्ने तुम्बापो बताउँछिन्।
ऐतिहासिक पाटोको दाबी
प्रकृतिपूजक किरातहरू मुक्कुमलुङ दर्शन गर्न जाँदा कान्छी मुक्कुमलुङ (ठूलो फेदी)को पूजा गरेर धागो टाँग्दै जान्छन्। केबलकार बनेमा यो परम्परा मासिने र ठूलो फेदीमा पूजा नगरी शिर नाघेर जाँदा अनिष्ट समेत हुने मुन्धुमी मान्यता रहेको उनीहरूको भनाइ छ।
मुक्कुमलुङ संयुक्त संघर्ष समितिका संयोजक श्री लिङ्खिम मुक्कुमलुङ क्षेत्रमा केबलकार निर्माण हुनु हुँदैन भनेर आफूहरूले पाँच वर्षदेखि आन्दोलन गरिरहेको तर सरकारले धार्मिक संवेदनशीलतामा ध्यान नदिएको बताउँछन्।
“सरकारले विकासको नाममा हाम्रो पहिचान र मूल्यमान्यता नाश गर्न पाउँदैन,” उनी भन्छन्, “प्रकृति र संस्कृतिमा भएका कुरालाई निरन्तरता दिनुपर्छ भन्ने हाम्रो माग हो।”
यस क्षेत्रमा अघि बढाइएको केबलकार निर्माणको काम तत्काल रोक्नुपर्ने र भविष्यमा पर्यावरणलाई प्रतिकूल असर गर्ने एवम् मुन्धुमको मूल्यमान्यता विपरीत कुनै पनि संरचना बनाउन नहुने उनको भनाइ छ।
अहिले हिन्दूहरूको प्रसिद्ध धार्मिक स्थलका रूपमा परिचित पाथीभराको असली नाम मुक्कुमलुङ भएको लिम्बू समुदायको भनाइ छ। आफ्ना आदिम पुर्खाले अद्भुत दैवी शक्ति मानेर यही नामबाट पुजेकाले यो रैथाने नाम कायम हुनुपर्ने उनीहरूको माग छ। यस्तै, सरकारले २०५३ सालमा गठन गरेको पाथीभरा क्षेत्र विकास समिति अस्वीकार गरी जनस्तरबाट बनाइएको मुक्कुमलुङ संरक्षण तथा विकास समितिलाई मान्यता दिनुपर्ने माग पनि उनीहरूले गरेका छन्।
सय रोपनी वन क्षेत्र ओगट्ने
पाथीभरा केबलकारको दूरी २.७ किलोमिटर लामो हुन्छ। कम्पनीका अनुसार काफ्लेपाटी डढेलेछेउ मुख्य स्टेशन रहने केबलकारबाट करीब दुई हजार ७०० मिटर उचाइमा रहेको पाथीभरा मन्दिरसम्म पुगिनेछ।
डढेलेछेउको तल्लो स्टेशनमा यसले २९.८ रोपनी (१.५२ हेक्टर) जमीन ओगट्छ भने माथिल्लो स्टेशन थाप्लोमा १० रोपनी (०.६१ हेक्टर) ओगट्छ। तल्लो स्टेशन रहने निजी जमीन हो भने माथिल्लो स्टेशनको सरकारी जमीन हो। यस परियोजनाले करीब १०० रोपनी वन क्षेत्र ओगट्नेछ।
पाथीभरा केबलकार बनाउन १० हजार २३१ वटा रूखबिरुवा कटान गर्नुपर्ने निर्णय वन तथा वातावरण मन्त्रालयले गरेको छ। तीमध्ये ६ हजार ६२१ वटा साना बोटबिरुवा, दुई हजार ९९५ वटा अलि ठूला बुट्यान, ५०३ वटा पोल आकारका रूख र ११२ वटा ठूला रूख पर्छन्।
कटान गरिने अधिकांश रूखबिरुवाको मुन्धुमी एवम् सांस्कृतिक महत्त्व रहेको संघर्षरत पक्षको भनाइ छ।