४० मेगावाट विद्युत् खरीद-बिक्री सम्झौता गर्न बाङ्लादेशले बोलायो
बाङ्लादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरीद-बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ।
बीपीडीबीले वर्षा यामको ६ महीना ४० मेगावाट विद्युत् बिक्रीका लागि प्राधिकरणले पेश गरेको बोलपत्र सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी गराउँदै विद्युत् बिक्री सम्झौताका लागि सोमबार पत्राचार गरेको हो। बीपीडीबी २०८० पुस १६ मा नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् बाङ्लादेश, भारत र नेपालका निकायहरूबीचको त्रिपक्षीय सम्झौता अनुसार हुने गरी पाँच वर्षसम्म खरीदका लागि बोलपत्र (टेन्डर) आह्वान गरेको थियो।
प्राधिकरणले विद्युत् बिक्रीका लागि तोकिएको ढाँचामा बिक्री गरिने विद्युत्को दर सहितको बोलपत्र सम्बन्धी कागजात पेश गरेको थियो। उक्त कागजातको मूल्यांकन गरी सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी दिंदै बीपीडीबीले बोलपत्र स्वीकार गर्ने आशयको सूचना प्राधिकरणलाई दिएको हो।
प्राधिकरणले सात कार्य दिनभित्र बोलपत्र स्वीकार गरेको लिखित सूचना बीपीडीबीलाई दिनुपर्नेछ। त्यसपछि बीपीडीबीले विद्युत् बिक्री सम्झौताको मस्यौदा प्राधिकरणलाई उपलब्ध गराउनेछ।
मस्यौदा प्राप्त भएको २८ दिनभित्र सम्झौता गर्नुपर्नेछ। प्राधिकरण, एनटीपीसी विद्युत व्यापार निगम (एनभीभीएन), भारत र बीपीडीबीबीच त्रिपक्षीय सम्झौता हुनेछ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाँकी रहेका सम्पूर्ण प्रक्रिया पूरा गरी यही वर्षा यामबाट बाङ्लादेशमा विद्युत् निर्यात गर्ने गरी काम शुरू भएको बताए। उनले त्रिपक्षीय विद्युत् बिक्री सम्झौताको मस्यौदामा तीनै निकाय सहमत भइसकेकाले छिटै सम्झौता हुने बताए।
बाङ्लादेश विद्युत् निर्यात स्वीकृतिका लागि आयोजनाहरूको सूची भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा पठाउनुपर्नेछ। “नयाँ आयोजना पठाउँदा स्वीकृतिका लागि समय लाग्ने हुँदा यसअघि नै भारतमा विद्युत् निर्यात स्वीकृति पाइसकेका आयोजनाहरूबाट उत्पादित विद्युत् बाङ्लादेश निर्यात गर्ने गरी प्रस्ताव स्वीकृतिका लागि पठाउनेछौं,” उनले भने।
प्राधिकरणले भारतीय अनुदानमा निर्माण भएको तथा आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनी मार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत् बाङ्लादेश निर्यात गर्ने तयारी गरेको छ। यी दुवै भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका आयोजनाहरू हुन्।
प्राधिकरणले वर्षा यामको ६ महीना अर्थात् हरेक वर्षको १५ जून–१५ नोभेम्बरसम्म पाँच वर्ष ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बाङ्लादेशलाई बिक्री गर्नेछ। प्राधिकरणले बाङ्लादेशमा विद्युत् बिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउनेछ।
नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बाङ्लादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतको मुजफ्फरपुर बिन्दुमा पाउनेछ। अर्थात् बाङ्लादेश निर्यात हुने विद्युत्को मिटर मुजफ्फरपुरमा रहनेछ। ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ।
मुजफ्फरपुरबाट भारतको प्रसारण लाइन मार्फत बहरामपुर (भारत)–भेरमारा (बाङ्लादेश) ४०० केभी प्रसारण लाइन हुँदै बाङ्लादेशसम्म विद्युत् पुग्नेछ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुजफ्फरपुर बिन्दुपछिको प्रसारण लाइन शुल्क, चुहावट, एनभीभीएनले लिने ट्रेडिङ मार्जिन लगायत सम्पूर्ण कर तथा शुल्कहरू बाङ्लादेशले नै बेहोर्ने बताए।
घिसिङले बाङ्लादेशको सीमासम्म पुग्दा विद्युत्को प्रतियुनिट दर करीब ७.६ सेन्ट पुग्ने उल्लेख गरे। “हामीले मुजफ्फरपुर बिन्दुमा ६.४० सेन्ट पाउने हो, डलरमा भुक्तानी पाउने हुँदा मुद्रा सटहीको जोखिम हुँदैन, वर्षा यामको विद्युत् बिक्रीका लागि हामीले पाएको दर उचित हो,” उनले भने।
सरकार सरकार तहमा बाङ्लादेशसँग सांकेतिक रूपमा पहिलो चरणमा हुन लागेको विद्युत् व्यापारले आगामी दिनमा क्षेत्रीय रूपमा ठूलो परिमाणको व्यापारलाई सहयोग र सहजीकरण गर्ने र विद्युत् व्यापारका अरू धेरै बाटा खुलाउने उनले दाबी गरे।