नागरिकलाई खुलेको दरबारको ढोका
शाहवंशीय राजाको शीतकालीन दरबारको ढोका साढे पाँच दशकपछि नागरिकका लागि खुलेको छ।
घुमफिरमा निस्किंदा भरतपुरका बासिन्दा दियालो बंगला पुग्थे। सडक छेउबाट नियाल्थे र फर्किन्थे। बंगलाभित्र छिर्न पाउँदैनथे। उनीहरूलाई यो बंगला रहस्यमय लाग्थ्यो।
साढे पाँच दशकपछि भने त्यो रहस्यमयी बंगलाको ढोका खुलेको छ। भरतपुर भ्रमण वर्षका लागि असार २३ मा शाहवंशीय राजाहरूको शीतकालीन दरबार नागरिकका लागि पनि खुला गरिएको हो।
भरतपुर महानगरपालिका-१, आँपटारीमा रहेको दियालो बंगला राजा महेन्द्रले २०२६ सालमा निर्माण गरेका थिए। त्यसयता राजपरिवारका सदस्य आउँथे, बस्थे र फर्किन्थे। नागरिक भने दियालो बंगलाको गेटभित्र छिर्न पाउँदैनथे।
नागरिकलाई खुला गरिएसँगै नयाँ पर्यटकीय गन्तव्य बनेको भरतपुरकी मेयर रेनु दाहाल बताउँछिन्। “दियालो बंगला नयाँ गन्तव्यका रूपमा थपिएको छ,” मेयर दाहाल भन्छिन्, “पर्यटकीय गन्तव्यसँगै राजाहरूको जीवनशैली, शासन व्यवस्था बुझ्न, अध्ययनमा चासो राख्नेहरूका लागि दियालो बंगला अध्ययन तथा अनुसन्धानको केन्द्र पनि हुन्छ।”
देश संघीय गणतन्त्रमा गएसँगै राजा वीरेन्द्रको परिवारको सम्पत्ति सरकारीकरण गरिएको थियो। त्यसलाई नेपाल ट्रस्टको स्वामित्वमा लिइएको थियो। दियालो बंगला पनि ट्रस्टकै स्वामित्वमा छ।
यसलाई नागरिकका लागि खुला गर्न भरतपुर महानगरले व्यवस्थापनको जिम्मा लिएको हो। गत चैत ९ मा नेपाल ट्रस्ट र महानगरबीच व्यवस्थापन गर्ने सम्झौता भएपछि मर्मतसम्भार थालिएको थियो। ट्रस्टको ९० लाख रुपैयाँ र महानगरको २० लाख रुपैयाँ खर्च गरेर मर्मतसम्भार गरिएसँगै नागरिकका लागि खुला गरिएको हो।
राजा महेन्द्रका दुई वर्ष
शिकार खेल्न शोखीन राजा महेन्द्र काठमाडौंबाट तराई झरिरहन्थे। तराई झर्दा वा पूर्व-पश्चिमको भ्रमणमा निस्किँदा आराम गर्न २०२६ सालमा बनाएका थिए, दियालो बंगला।
पछि हिउँदमा चिसो छल्न राजा र राजपरिवारका सदस्य दियालो बंगलामा बसाइँ सर्ने गर्थे। त्यसैले यसलाई शीतकालीन दरबार पनि भनिन्छ। राजा महेन्द्रले करीब दुई वर्ष बंगलाको प्रयोग गरेका थिए।
२०२८ माघ १७ गते दियालो बंगलामै राजा महेन्द्रको निधन भएको थियो। उनीपछि दुई छोरा राजा वीरेन्द्र र राजा ज्ञानेन्द्रले पनि दियालो बंगलाको प्रयोग गरेका थिए। राजा वीरेन्द्र नियमितजसो बंगलामा बस्न आउने गरेको लामो समयदेखि यसको रेखदेखमा खटिंदै आएका दानबहादुर ढकाल बताउँछन्।
दियालो बंगलाको रेखदेखका लागि १५ जना कर्मचारी खटाइएका थिए। अहिले चार जना मात्रै छन्। दानबहादुरका बुबा कर्णबहादुर ढकालले पनि यसमा काम गरेका थिए। “बुबाले महेन्द्र सरकारको पालादेखि नै काम गर्नुभयो,” ढकाल भन्छन्, “मैले ज्ञानेन्द्र सरकारका लागि काम गर्न पाएँ।”
राजा ज्ञानेन्द्र पछिल्लो पटक २०६१ सालको असोजमा दियालो बंगलामा बस्न आएका थिए। त्यसको लगत्तै गणतन्त्र आएपछि राजपरिवारको आवतजावत बन्द भयो। त्यसयता बंगला पनि बन्द थियो।
दियालोभित्र के छ?
भरतपुरबाट काठमाडौं र देवघाट जाने राजमार्गको आडैमा रहेको बंगला रहेको जमीनको क्षेत्रफल ५२ बिघा छ। बंगलासँगै जोडिएको राजमार्गपारि पनि पाँच बिघा जमीन छ। यसको सुरक्षार्थ नेपाली सेना खटिंदै आएको छ।
शिकार खेल्न आउँदा राजा महेन्द्र दियालो बंगलामै बस्थे। उनले शिकार गरेका घडियाल गोही, बाघको टाउको र छाला सजाएर राखिएका छन्। बंगलाको पहिलो तलामा रहेको ठूलो बैठक कक्षको भित्तामा राजा महेन्द्र र वीरेन्द्र दम्पतीको तस्वीर सजाइएको छ।
बंगलामा दुई डाइनिङ हल, बार, राजपरिवारका सदस्यले प्रयोग गर्ने बेग्लाबेग्लै कक्ष, राजाले प्रयोग गर्ने खाट सुरक्षित राखिएका छन्। राजा महेन्द्रको निधन भएको कक्ष, डाइनिङ र भान्साका भाँडाकुँडा, शिकार गर्ने सामग्री तथा क्याम्पका सामान पनि छन्।
त्यस्तै, बंगलाको आडैमा महिला सुसारेका लागि ‘नानीगन्ज’, सुरक्षा गार्डका लागि एडीसी क्वार्टर, ग्यारेज र त्यसको छेउमा स्वीमिङ पुल छ। अब यी सबै आगन्तुकले हेर्न पाउनेछन्।
बंगला नेपाल ट्रस्टको स्वामित्वमा रहेकाले सञ्चालन कार्यविधि बनाउने तयारी भइरहेको मेयर दाहाल बताउँछिन्। कार्यविधि तयार भएपछि टिकटको व्यवस्था गरिनेछ। तत्कालका लागि भने सर्वसाधारणका लागि प्रवेश निःशुल्क रहेको मेयर दाहाल बताउँछिन्।
बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म दियालो बंगलाको अवलोकन गर्न सकिनेछ।