मनसुनी विपद्मा ७४ को मृत्यु, ८८ घाइते
मनसुन शुरू भएयता देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो, डुबान लगायत विपद्मा परी ७४ जनाको ज्यान गएको छ भने ८८ जना घाइते भएका छन्।
गत जेठ २८ मा मनसुन भित्रिएको थियो। त्यति वेला पूर्वी पहाडमा जनधनको क्षति भएको थियो। अहिले पश्चिमी क्षेत्रमा जनधनको क्षति भइरहेको छ।
विपद्जन्य घटनामा परी काठमाडौं उपत्यकामा एक, कोशीमा १८, मधेशमा तीन, बागमतीमा चार, गण्डकीमा २२, लुम्बिनीमा १८, कर्णालीमा चार र सुदूरपश्चिम प्रदेशमा चार जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बताए।
त्यस्तै, काठमाडौं उपत्यकामा तीन, कोशीमा २१, मधेशमा पाँच, बागमतीमा चार, गण्डकीमा २६, लुम्बिनीमा चार, कर्णालीमा १५ र सुदूरपश्चिममा १० जना घाइते छन्।
विपद्का क्रममा कोशी प्रदेशमा ४१ र गण्डकीमा १२ गरी ५३ जनाको उद्धार गरिएको कार्कीले बताए। बाढी र पहिरोमा परी कोशीमा दुई, बागमतीमा दुई र सुदूरपश्चिममा एक गरी पाँच जना हराइरहेका छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
बाढीका कारण १६१ घर डुबानमा परेका छन् भने ९४ घर, ५३ गोठ, ४१ पुल, एक विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुगेको छ। त्यस्तै, ३३५ पशुचौपाया मरेको प्रहरीले जनाएको छ।
यस अवधिमा विपद्का घटनाबाट दुई हजार २९६ परिवार विस्थापन भएका छन्। बाढी र पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय तथा सहयोगमा भइरहेको प्रहरीले जनाएको छ।