बाढीले कञ्चनपुरका १६ सय परिवार विस्थापित
नदीनालामा आएको बाढीले कञ्चनपुरका एक हजार ६०० परिवार विस्थापन भएका छन्।
तीनदेखि लगातारको वर्षाले खोलानालामा बाढी आएको छ। त्यस्तै, महाकाली लगायत ठूला नदीमा आएको बाढीले तटीय क्षेत्रका बासिन्दा विस्थापन भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जोशीले बताए।
उनका अनुसार बाढीका कारण बस्ती डुबानमा पर्दा एक हजार ६०० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। अन्य थुप्रै बस्ती जोखिममा रहेको उनले बताए।
त्यस्तै, घरभित्र बाढी पस्दा एक बालकको ज्यान गएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका-१, मोटीपुरका सात महीनाका सोलु धानुकको ज्यान गएको जोशीले बताए।
राति सुतिरहेका वेला ती बालक पलङबाट भुइँमा खसेको जनाइएको छ। भुइँमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएको उनले बताए।
कञ्चनपुरका दोधारा चाँदनी, भीमदत्त, बेलौरी र पुनर्वास नगरपालिका क्षेत्र डुबानमा परेका छन्। डुबानमा परेका बस्तीका बासिन्दालाई विद्यालयमा सारिएको छ।
त्यस्तै, महाकाली नदीमा पानीको सतह बढेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार महाकालीमा पानीको बहाव तीन लाख ४० हजार क्युसेक पुगेको छ। जसले गर्दा शारदा बाँधका सबै ढोका खोलिएका छन्।
बाँधका सबै ढोका खोल्दा तटीय क्षेत्रका बासिन्दा डुबानमा परेका हुन्। भीमदत्त नगरपालिकाका वडा नं. ११, १२ र १३ का बस्ती डुबानमा परेका छन्।
त्यस्तै, कैलालीको मोहना नदीमा पानीको सतह बढेपछि दक्षिण-पूर्वी भेगका कैलारी गाउँपालिका, भजनी नगरपालिका, टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकाका अधिकांश बस्ती जोखिममा छन्। जिल्ला प्रशासन कार्यालयले ती बस्तीका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।