बागमतीमा एमालेका मन्त्रीले दिए राजीनामा
बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का मन्त्रीले राजीनामा दिएका छन्।
सोमबार बिहान एमालेबाट सहभागी पाँच जना मन्त्रीले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजीनामा बुझाएका हुन्। एमालेबाट जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजनामन्त्री, केशवप्रसाद पोखरेल वन तथा वातावरणमन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्यमन्त्री, एकलाल श्रेष्ठ खानेपानी, ऊर्जा तथा सिंचाइमन्त्री र प्रकाश श्रेष्ठ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री थिए।
मन्त्रीले राजीनामा दिएसँगै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको प्रदेश संसदीय दलका नेता थपलियाले बताए। एमालेले समर्थन फिर्ता लिएसँगै नेकपा (माओवादी केन्द्र)का नेता जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको छ।
नेपाली कांग्रेस र एमालेबीच केन्द्रमा नयाँ सरकार बनाउने सहमति भएसँगै प्रदेशमा पनि असर परेको छ। प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीले राजीनामा दिइरहेका छन् भने सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइरहेका छन्।
यसअघि सुदूरपश्चिम सरकारमा सहभागी एमालेका मन्त्रीले राजीनामा दिएका थिए। त्यस्तै, मधेश प्रदेशमा माओवादी, जनता समाजवादी पार्टी (जसपा), नेपाल र नेकपा (एकीकृत समाजवादी)का मन्त्रीलाई बर्खास्त गरिएको थियो।