बाढीले पुल भत्किंदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
बाढीले पुल भत्किएपछि पूर्व-पश्चिम राजमार्गको महेन्द्रनगर-अत्तरिया खण्ड अवरुद्ध छ।
गए राति आएको बाढीले कञ्चनपुरको सुडा चोकमा रहेको पुल भत्किएको छ। पुल भत्किएसँगै आइतबार रातिदेखि राजमार्ग अवरुद्ध छ। सीमान्त शहर महेन्द्रनगरबाट सुदूरपश्चिमसँगै देशका पूर्वी शहरसम्म चल्ने सवारीसाधन बाटामै रोकिएका छन्।
त्यस्तै, लगातारको वर्षाले कञ्चनपुर र कैलालीका अधिकांश भूभाग डुबानमा पर्दा जनजीवन प्रभावित छ। गए राति कैलालीको भजनीमा बाढी बस्तीमा पसेपछि केही परिवार विस्थापित छन्। उनीहरूलाई रातभरि हुलाकी सडक र उच्च ठाउँमा रहेका भवनमा सारिएको छ।
टीकापुर नगरपालिकामा केही परिवार विस्थापित छन्। विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले पथरैया नदीमा आएको बाढीले पर्सेनी, भर्तापुर, भगवानपुरका ६५ घर डुबानमा परेको जनाएकी छन्।
कञ्चनपुरको दक्षिण क्षेत्रका अधिकांश बस्ती डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कतिपय परिवारलाई राति नै सुरक्षित स्थानमा सारिएको छ।
त्यस्तै, महाकाली नदीमा पानीको बहाव बढेपछि आवतजावत बन्द गरिएको छ। बनबासा पुलमा सवारीसाधन चल्न रोक लगाइएको छ।