मनसुनी विपद्मा १४ जनाको मृत्यु
मनसुनी विपद्मा परी देशभर दुई दिनमा १४ जनाको ज्यान गएको छ।
बाढी, पहिरो र डुबानमा परी आइतबार बिहानसम्म १४ जनाको ज्यान गएको नेपाल प्रहरीले जनाएको छ। बाढी र पहिरोमा परी तीन जना हराइरहेका छन्।
मनसुनी विपद्मा परी १८ जना घाइते भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले बताए। बाढी, पहिरो तथा विपद्जन्य घटनामा पुरिएर काठमाडौंमा एक, स्याङ्जामा तीन, पर्वतमा दुई, उदयपुरमा एक, काभ्रेपलान्चोकमा दुई, पाल्पामा एक, तनहुँमा तीन र दाङमा एक जनाको ज्यान गएको कार्कीले बताए।
काठमाडौंस्थित नागार्जुन नगरपालिका-३ को पहिरोमा पुरिएर गोरखाको लखन थापा गाउँपालिका-६ का मनोज विकको मृत्यु भएको हो। पहिरोमा परी उदयपुरको रौतामाई गाउँपालिका-५ का राज राई, काभ्रेको रोशी गाउँपालिका-११ का जालमाया रुजाल मगर र सेतीमाया रुजालको मृत्यु भएको छ।
त्यस्तै, पहिरोमा पुरिएर तनहुँको शुक्लागण्डकी नगरपालिका-७ का हिरा नेपाली, अनिशा बास्तोला, श्याम भण्डारी, स्याङ्जाको बिरुवा गाउँपालिका-६, स्याङ्दीका गुह्येश्वरी शर्मा मरासिनी, माधव शर्मा र हरिमाया शर्माको मृत्यु भएको छ।
पर्वतको फलेबास नगरपालिका-१, कार्किनेटाका झलकप्रसाद शर्मा र तुलसीप्रसाद शर्मा, पाल्पाको माथागढी गाउँपालिका-६ की रिमा सराहा रानामगर तथा दाङको लमही नगरपालिका-८ बग्रपुरका मनियम चौधरीको पनि पहिरोमा पुरिएर ज्यान गएको छ।
बाढी र पहिरोमा परी दोलखा गौरीशंकर गाउँपालिका-९ का जाङ्मु शेर्पा, दाङको राजपुर गाउँपालिका-२ का राजकुमार यादव तथा स्याङ्जाको भिरकोट नगरपालिका-५, ज्यामिरेकी खेमकुमारी मल्ल हराइरहेका छन्।
यसैगरी, बाढी र पहिरोमा परी तनहुँमा पाँच, गुल्मीमा एक, ओखलढुंगामा दुई, काठमाडौंमा तीन, चितवनमा एक र स्याङ्जामा ६ जना घाइते भएको प्रहरीले जनाएको छ।
अत्यधिक वर्षाले गर्दा आज पनि देशभरको जनजीवन प्रभावित छ। कोशी, नारायणी, महाकाली लगायत ठूला नदीमा जलसतह उच्च भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।