प्रधानमन्त्रीले अविलम्ब राजीनामा दिनुपर्छ : एमाले
नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई अविलम्ब राजीनामा दिन आह्वान गरेको छ।
एमाले संसदीय दलको आइतबार बिहान बसेको बैठकले प्रधानमन्त्री दाहाललाई तत्काल राजीनामा दिनुपर्ने माग गरेको हो। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने, “एमाले संसदीय दलको बैठकले स्पष्ट अल्पमतमा परिसकेपछि सरकारको नेतृत्व गरिराख्नु अनुचित हुन्छ, प्रधानमन्त्रीले अविलम्ब राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न आह्वान गरेको छ।”
एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालले समय लम्ब्याउनु अनुचित रहेको ठहर गरेको छ। अहिलेको अवस्थामा एक/दुई दिन पनि नेतृत्वमा बस्नु ठीक नहुने बर्तौलाको भनाइ छ।
प्रधानमन्त्री दाहालले असार २८ गते प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन्। एमाले संसदीय दलले प्रधानमन्त्री दाहालको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय पनि गरेको छ।
यससँगै एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गरेको सहमतिको स्वागत गरेको छ। एमाले संसदीय दलको बैठकले बलियो सरकार निर्माण गर्न कांग्रेसले खेलेको भूमिकाका लागि धन्यवाद दिने निर्णय गरेको बर्तौलाले बताए।
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले दुई दल मिलेर नयाँ सरकार निर्माण गर्ने सहमति गरेका थिए। उनीहरूले पहिलो चरणमा ओली र दोस्रो चरणमा देउवा प्रधानमन्त्री हुने पनि तय गरेका छन्।
त्यसै सहमतिका आधारमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ।