पहिरोमा पुरिएका एक मृत भेटिए, दुईको खोजी गरिंदै
तनहुँको शुक्लागण्डकी नगरपालिका-७, काउरेमा गएको पहिरोमा पुरिएकामध्ये एक जनाको शव भेटिएको छ।
पहिरोमा पुरिएकी ४० वर्षीया हीरा नेपालीको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरोमा पुरिएका अन्य दुई जनाको खोजी भइरहेको छ।
पहिरोमा परी ३७ वर्षीया अनिसा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारी हराइरहेका छन्। उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक रायले बताए। नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दा खोजीमा जुटेका छन्।
पहिरोले हीरा नेपाली र सुनमाया कुमालको घरमा क्षति पुगेको थियो। घरभित्रका सामान निकाल्ने क्रममा तीनै जना पुरिएको डीएसपी रायले बताए।
पहिरोमा परी ४० वर्षीय विष्णुबहादुर नेपाली, २६ वर्षीय विशाल तिमिल्सिना, ३५ वर्षीय रवि घिमिरे, १८ वर्षीया रूपकुमारी नेपाली र १५ वर्षीय विमल नेपाली घाइते भएका छन्। घाइतेको शुक्लागण्डकी नगरपालिका-५, बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ।