प्रधानमन्त्री दाहालको विपक्षमा मतदान गर्ने कांग्रेसको निर्णय
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।
कांग्रेस संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले बताए। कांग्रेसको निर्णयमा भनिएको छ, ‘प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम मिति २०८१ असार २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मतको प्रस्ताव कार्यसूचीमा समावेश गर्न माग गर्नुभएकोमा यो बैठक उक्त प्रस्ताव निर्णयार्थ पेश हुँदा प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गर्दछ।’
नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा)ले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले असार २८ गते प्रतिनिधि सभामा विश्वासको मत लिन लागेका छन्। नेपाली कांग्रेससँग मिलेर नयाँ सरकार गठन गर्ने सहमति भएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यससँगै अशोक राई नेतृत्वको जसपाले पनि समर्थन फिर्ता लिएको हो।
कांग्रेस संसदीय दलको बैठकले एमालेसँगको सहमतिको पनि स्वागत गरेको छ। एमालेसँग भएको सहमति दृढतापूर्वक कार्यान्वयन गर्ने निर्णय भएको प्रमुख सचेतक लेखकले बताए।
कांग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ। जस अनुसार पहिलो चरणमा एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्को चरणमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भएका छन्।