डम्फुको आत्मालापले गरेको प्रतिवाद
सामाजिक तथा सांस्कृतिक रूपमा वर्षौंदेखि थिचोमिथो झेल्दै आएको सीमान्तीकृत समुदायका कथा मार्फत डम्फुको आत्मालापले प्रतिवादको भाषा बोल्छ।
सिन्धुलीको महाभारत क्षेत्रमा जन्मे-हुर्केका भक्त स्याङतानको बाल्यकाल दौंतरीसँगै वनपाखा चहार्दै बित्यो। कहिले आफन्तका हात समातेर बन्दीपुरकोे उकाली-ओराली गर्थे त कहिले मरिण खोलामा पौडिंदै, माछा मार्दै दिन बिताउँथे। गाउँको भीरपाखा, लेकका डाँडाकाँडा, नदीका बगर उनका पैतालाले नापिराख्थे।
उनले त्यही आफू बाँचेको परिवेश टपक्क टिपेर कथा बुनेका छन्। सांस्कृतिक र भौगोलिक परिदृश्य मिसाएका छन्। सामुदायिक तथा सांस्कृतिक रूपमा हुँदै आएको थिचोमिचोलाई प्रतिवाद गरेका छन्, कथामै। उनका ११ वटा कथा मिलेर बनेको छ, डम्फुको आत्मालाप।
सांग्रिला बूक्सले बजारमा ल्याएको स्याङतानको पुस्तकमा कथा र पात्रका नाममा पनि स्थानीयता झल्किन्छ। लुङ्दर, छ्योर्तेन, न्होरला, छेदिङमो, म्लाङगैको आपा, पेम्बाको कथा, डम्फुको आत्मालाप, याम्बुमा लाक्पाको संघर्ष लगायत कथानकमा फरक स्वाद पाइन्छ।
तामाङ समुदायले जन्मदेखि मृत्युसम्म अपनाउने सांस्कृतिक विधिविधानबारे पाठकले सजिलै थाहा पाउँछन्। आफूले पस्किएका शब्द एवं प्रसंग बुझ्न गाह्रो नहोस् भन्नेमा पनि लेखक स्याङतान सजग देखिन्छन्। प्रत्येक कथाको समापनपछि तामाङ भाषाका शब्दको अर्थ प्रस्ट्याएका छन्।
किशोरावस्था महाभारत क्षेत्रको ग्रामीण बस्तीमा बिताएका उनी पढाइका लागि काठमाडौं आउँछन्। त्यस सँगसँगै फराकिलो बन्दै गएको सोचाइ र चेतनाले उनलाई राजनीतिक, सामाजिक तथा सांस्कृतिक रूपमा पनि सचेत बनाउँछ। आफ्नो समुदायमाथि वर्षौंदेखि भइरहेको थिचोमिथो विरुद्ध आवाज उठाउन आत्मबल मिल्छ। त्यसलाई उनले कथा मार्फत कहेका छन्। यस अर्थमा उनका कथा जनजाति तथा आदिवासीमाथि भइरहेको थिचोमिचोका प्रतिवाद पनि हुन्।
जस्तो- लुङ्दर कथा। शदियौंदेखि शोषणमा परेको आफ्नो समुदायको उन्मुक्तिका लागि भनेर सशस्त्र द्वन्द्वमा होमिएकी डोल्मूको यात्राले प्रतिवादको झल्को दिन्छ। ज्यानको परवाह नगरी सशस्त्र द्वन्द्वमा सामेल भएकी डोल्मू अयोग्य घोषित भएपछि शरीर र मनभरि चोट बोकेर वैदेशिक रोजगारीका लागि यूएई पुगेको प्रसंगले सेना समायोजनपछिको लडाकूको कथालाई प्रतिनिधित्व गर्छ।
विदेश पलायनकै विषयलाई दलुचामा उतारेका छन्। पछिल्लो समयमा युवा पुस्ताको विदेशतिर लाग्ने क्रमले आफ्नै माटोमा रमेका अघिल्लो पुस्तामा पारेको प्रभावलाई यसमा सुन्दर ढंगले चित्रण गरेका छन्।
राज्यको मूल प्रवाहबाट बाहिर पारिएको तामाङ समुदायका व्यक्तिले गरीबीसँग गरेको संघर्षको कथा उधिनिएको छ, याम्बुमा लाक्पाको संघर्षमा। यसमा विगतमा भएका थिचोमिचोलाई पनि उल्लेख गरिएको छ। यससँगै शारीरिक श्रमसँग जोडिएका विषयलाई मीठो विवेचना गरिएको छ।
आधुनिक संगीतको विश्वव्यापीकरणसँगै लोप हुँदै गएका परम्परागत वाद्यवादनको कथा बोल्छ, डम्फुको आत्मालापले। जुन वाद्यवादनमा जन्मदेखि मृत्युसम्मका हर सुखदुःखका कथा गाँसिएका थिए, ती नयाँ पुस्ताका लागि मूल्यहीन वस्तु बने। डम्फुले आफ्नो कथा आफै भन्ने शैली प्रभावकारी छ। कथा भनिरहँदा डम्फुको इतिहासदेखि वर्तमानसम्म छर्लंग हुन्छ।
बौद्ध संस्कृतिमा विभिन्न अवसरलाई स्मृतिका रूपमा स्थापना गरिने स्तूप (छ्योर्तेन)लाई केन्द्रमा राखेर लेखेका छन्, छ्योर्तेन। कथामा गीत गाउँदै प्रेम गास्ने प्रचलन तथा आफन्तजनको मृत्युपछि स्मृतिमा छ्योर्तेन बनाउने संस्कृति उल्लेख गरिएको छ। त्यस्तै, गाउँघरमा बिरामी हुँदा गरिने झारफुक तथा जडीबुटी उपचारको विषय पनि कथाले स्मरण गराउँछ।
स्याङतानले प्रेम, वैवाहिक जीवन र त्यसमा आउने उतारचढावलाई पनि कथामा उतारेका छन्। व्यक्तिगत महत्त्वाकांक्षाले सम्बन्धमा दरार आउँदा परिवारमा पर्ने असरबारे पनि मसिनोसँग उजागर गरेका छन्, न्होरलामा।
कथाकारले सपनाको कुरा मात्रै गरेका छैनन्, दैनिक जीवनका भोगाइलाई पनि कथा मार्फत भनेका छन्। आकस्मिक रूपमा आइपर्ने घटना, दुर्घटनालाई पनि सरसर्ती उल्लेख गरेका छन्। छेदिङ्मो मार्फत त्यस्तै विछोडको कथा सुनाएका छन्, जसले पाठकको मनलाई चसक्क बनाउँछ।
युवा पुस्ताले भोगिरहेको पीडाको वर्णन जलजलामा पाइन्छ। यसमा प्रेम, परिवार, समुदाय तथा देशलाई जोड्ने सम्बन्धका विविध आयामबारे उल्लेख गरिएको छ। प्रेम विना सपनाको देश पनि कसरी अर्थहीन हुन्छ भन्ने यसमा पढ्न पाइन्छ।
यससँगै इतिहासको कुनै घटनाले कसरी त्यस क्षेत्रका मानिसलाई हेर्ने अन्य क्षेत्रका मानिसको मनोविज्ञान निर्माण गर्छ भन्ने उजागर गरिएको छ। इतिहासका घटनाक्रमले पार्ने असरलाई पनि बुझ्न सकिन्छ, जलजलामा।
सशस्त्र द्वन्द्वबारे थुप्रै लेखिएको छ, अझै थुप्रै लेखिन बाँकी छ। प्रत्यक्ष रूपमा द्वन्द्वसँग जोडिएका व्यक्ति मात्रै नभएर त्यससँगै कुनै साइनो नभएका आमनागरिकले भोगेको पीडा लेखनमा आउँदै छ। त्यस्तै, एउटा कथा हो, म्लाङगैको आपा। माओवादी विद्रोहका कारण लखेटिएका बाबुछोराको कथालाई उनले मन छुने गरी प्रस्तुत गरेका छन्।
काठमाडौंको कष्टकर बसाइ, ठेला ठेलेर जीविका चलाउनेहरूको जिन्दगी र २०६२/६३ सालको जनआन्दोलनपछि पनि नफेरिएको अवस्थालाई स्याङतानले उल्लेख गरेका छन्। शिक्षामा गरीब र धनी परिवारका बालबालिकाबीच बढ्दै गएको खाडल, त्यसले पारिरहेको प्रभाव पनि यो कथामा महसूस गर्न सकिन्छ।
यससँगै भाषिक समस्यालाई पनि डम्फुको आत्मालापमा उठाइएको छ। विद्यालयमा मातृभाषामा पढाइ नहुँदा जनजाति तथा आदिवासी समुदायका बालबालिकाले खेपेको कष्ट लेखक स्याङतानले पेम्बाको कथा मार्फत उजागर गरेका छन्। नेपाली भाषा अशुद्ध बोलेका कारण कक्षाकोठामा लज्जित हुनुपर्ने अवस्थालाई चित्रण गरिएको छ।
त्यस्तै, शिक्षकले सामाजिक तथा सांस्कृतिक परिवेश नबुझ्दा स्कूल छोड्नुपर्ने बाध्यतालाई पनि कथाकारले उठाएका छन्। शिक्षक र विद्यालयको वातावरणका कारण पेम्बाले स्कूल छोडेको प्रसंगले निराश बनाउँछ। अहिले पनि विद्यालयको वातावरण र शिक्षकले विवेक नपुर्याउँदा कतिपय पेम्बाहरू स्कूल छोडिरहेका छन्।
केही कमीकमजोरी भए पनि समग्रमा डम्फुको आत्मालाप पठनीय पुस्तक बनेको छ। फरक समुदाय र संस्कृतबारे बुझ्न पनि यो पुस्तक पढ्नै पर्ने हुन्छ।