भोटेकोशीको स्ल्याबमा च्यापिएका मजदूर मृत भेटिए
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ मा निर्माणाधीन भोटेकोशी-१ जलविद्युत् आयोजनाको स्ल्याब खसेर च्यापिएका दुई मजदूर मृत भेटिएका छन्।
आयोजनाको डिसेन्डर कभर स्ल्याबमा च्यापिएर बर्दियाका रामजिन थारू र सुमन थारूको मृत्यु भएको हो। शुक्रबारदेखि नै उद्धारकार्य शुरू गरिएको भए पनि आज बिहान ४ बजे दुवै जना मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक निरञ्जन भट्टराईले बताए।
उनीहरूको शव परीक्षणका लागि काभ्रेस्थित धुलिखेल अस्पताल पठाइएको छ। स्ल्याबको संरचनाभन्दा तल्लो भागमा उनीहरू पुरिएकाले समयमै उद्धार गर्न नसकिएको भट्टराईको भनाइ छ।
स्ल्याब भत्किंदा ११ जना घाइते भएका थिए। उनीहरूको तत्कालै उद्धार गरिएको थियो। घाइतेको बाह्रबिसेस्थित किस्टोन र बाह्रबिसे नगर अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई धुलिखेल लगिएको छ।
गत वर्षको साउनदेखि निर्माण शुरू गरिएको भोटेकोशी-१ जलविद्युत्को सुरुङभन्दा माथि मजदूर काम गरिरहेको समयमा एक्कासि स्ल्याब भत्किएको प्रहरीले जनाएको छ।