जसपाले पनि लियो समर्थन फिर्ता
अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
जसपाको शुक्रबार बसेको बैठकको निर्णय अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको अध्यक्ष अशोक राईले बताए। आजैदेखि लागू हुने गरी जसपाले समर्थन फिर्ता लिएको हो।
संघीय संसद् सचिवालयलाई पत्र पठाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराइसकेको जसपाका महासचिव मोहम्मद इस्तियाक राईले बताए।
त्यस्तै, जसपाबाट सरकारमा सहभागी मन्त्रीहरूले पनि राजीनामा दिएका छन्। शुक्रबार साँझ प्रधानमन्त्री दाहाललाई भेटेर उनीहरूले राजीनामा दिएका हुन्। जसपाबाट नवलकिशोर साह सुडी वनमन्त्री, प्रदीप यादव स्वास्थ्यमन्त्री र हसिना खान स्वास्थ्य राज्यमन्त्री रहेका थिए।
यसअघि नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। नेपाली कांग्रेससँग नयाँ सरकार गठन गर्ने सहमति भएसँगै एमालेले समर्थन फिर्ता लिएको थियो।