थाहाको पहिचान बन्दै पदमार्ग
नयाँ नयाँ पदमार्ग खुलेसँगै मकवानपुरको थाहा क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा चिनिन थालेको छ।
गर्मी छल्न काठमाडौं ह्याप्पी हाइकरको टोली थाहा नगरपालिकाको टिस्टुङबाट पदयात्रामा निस्कियो। टोलीमा ३२ जना ह्याप्पी हाइकरसँगै आठ जना स्थानीय बासिन्दा थपिए।
टिस्टुङको नर्बेचोकबाट हिंडेको ४० जनाको टोली खुकुरी पार्क, खेल मैदान, मुस्कान झरना, नर्बेढुंगा, चिया बगान, दमार, कुइभिर, नाँगेचुली भएर अगाडि बढ्यो। तामाङ बहुल बस्ती हुँदै भाङखोरिया पार गरेर पालुङ पुग्यो। सोल्टु हुँदै फाँटबजारको होमस्टे पुगेर आराम गर्यो।
टिस्टुङबाट पालुङसम्म पदयात्रा गर्दा अत्यन्तै रमाइलो भएको ह्याप्पी हाइकरका टीम लिडर राजाराम फुयाँल बताउँछन्। “गाउँले परिवेशमा मौसम अनुसारका फलफूल र कन्दमूल खाँदै यात्रा गर्दा आनन्द भयो,” फुयाँल भन्छन्।
यो थाहा क्षेत्रमा पछिल्लो पटक चल्तीमा आएको पदमार्ग हो। थाहानगरका युवा फोटोपत्रकार गणेश विष्टले टिस्टुङ-पालुङ पदमार्गको परिकल्पना गरेका हुन्। उनलाई स्थानीय युवा निरोज प्रधान, श्रीराम कार्की, माधव कार्की, अनिता विष्ट, नरहरि पौडेलले लगायतले साथ दिएका छन्।
करीब १७ किलोमिटर लामो पदयात्रामा मनोरम दृश्यावलोकन गर्न सकिन्छ। गाउँको जीवनशैली बुझ्दै, रमाउँदै, गाउँ, जंगल, पाखा, सिम, चौर छिचोल्दै अग्ला डाँडा उक्लिएको पत्तै नपाइने स्थानीय पत्रकार राजकुमार केसी सुनाउँछन्।
पदयात्राका क्रममा स्थानीय बासिन्दाको न्यानो स्वागत-सत्कार पनि पाइन्छ। उनीहरूसँग भलाकुसारी गर्न पाइन्छ। जसले यात्रामा ऊर्जा थप्ने र आत्मीयता बढाउने स्थानीय युवा उद्यमी माधव कार्की बताउँछन्। “थाहाका पदमार्गमा स्थानीयले गर्ने स्वागत-सत्कारले पदयात्रीलाई उत्साहित बनाउँछ,” कार्की थप्छन्।
नर्बेचोकबाट हिंडेर फाँटबजारको होमस्टे पुगेसँगै टिस्टुङ-पालुङ पदमार्गको यात्रा टुंगिन्छ। लगत्तै पालुङ-आग्रा पदमार्गको ढोका खुल्छ। फाँटबजारको होमस्टे क्षेत्रलाई पालुङ-आग्रा पदयात्राको आधारशिविर भन्दा हुन्छ। एक रात वास बसेर अर्को बिहान पालुङगढी, गोरखनाथ, पाण्डुकेश्वर, शंखमूल, त्रिवेणीधाम लगायत क्षेत्रको भ्रमण गर्न सकिन्छ।
यी मात्रै होइनन्, थाहा क्षेत्रमा थप पाँच वटा पदमार्ग चलनचल्तीमा छन्। अहिले टिस्टुङ-कुन्छाल, शिखरकोट-सिमभन्ज्याङ, सिमभन्ज्याङ-मार्खु, आग्रा-सप्तकन्या गुफा र पाथीभरा पदमार्गमा पनि पदयात्री ओहोरदोहोर गर्न थालेका छन्।
पछिल्लो समय विष्ट लगायत स्थानीय युवा सातै पदमार्गको प्रवर्द्धनमा जुटिरहेका छन्। कैयौं पटक यी पदमार्गमा यात्रा गरेका विष्ट स्थानीय सरकारले पनि पदमार्गसँगै पर्यटकीय क्षेत्रको विकासका लागि विशेष योजना ल्याउनुपर्ने बताउँछन्। पदमार्गलाई व्यवस्थित र प्रवर्द्धन गर्न सके गाउँठाउँको विकास हुने उनको भनाइ छ।
अझ थाहा क्षेत्रका पदमार्ग आकर्षक पनि रहेको उनी बताउँछन्। “मैले आफ्नो गाउँ भनेर राम्रो भनेको हैन, यो ठाउँ साँच्चै लोभ्याउने किसिमको छ,” उनी थप्छन्, “एक पटक पदयात्रा गरेको मान्छे आफ्ना अरू साथी लिएर जरूर आउँछ।”
थाहाका पदमार्गमा पछिल्लो एक वर्षमा दुई हजारभन्दा बढी आगन्तुकले यात्रा गरिसकेका छन्। संघीय राजधानी काठमाडौं र प्रदेश राजधानी हेटौंडाबाट समदूरीमा पर्ने थाहा क्षेत्र आफैमा रमणीय छ। यसमा पदमार्गले आकर्षण थपेको छ।
त्रिभुवन राजपथसँग जोडिएको थाहानगरमा पदमार्ग खुलेसँगै पदयात्री आउने क्रम बढेको स्थानीय युवा कृषक निरोज प्रधान सुनाउँछन्। स्थानीयसँगै प्रदेश र संघीय सरकारले व्यवस्थापन र प्रवर्द्धनमा सघाएमा थाहा क्षेत्र नयाँ पर्यटकीय गन्तव्य बन्ने प्रधानको आशा छ।