फरार रहेका बराहका अध्यक्ष भन्छन्- सञ्चालक र कर्मचारीकै संलग्नतामा अर्बौं डुब्यो
धरानमा मुख्य कार्यालय रहेको बराह ग्रूप अफ कम्पनीका अध्यक्ष शिवकुमार लामिछानेले कम्पनी डुबाउन सहकर्मी तथा सञ्चालक समितिमै रहेका व्यक्तिको हात रहेको आरोप लगाएका छन्।
कम्पनी डुबेपछि फरार रहेका अध्यक्ष लामिछानेले अपील जारी गर्दै आफ्नै सहकर्मीबाट धोका पाएको र सहज वातावरण भएमा सबैको रकम फिर्ता गर्ने बताएका छन्। बराह ग्रूपले धरान, काठमाडौं, पोखरा, चितवन, हङकङ र बेलायतमा बराह ज्वेलरी सञ्चालन गर्दै आएको थियो।
त्यस्तै, धरानमा बराह बचत तथा ऋण सहकारी र काठमाडौंमा अभिमत सहकारी सञ्चालन गरेको थियो। यससँगै धरानमा डिपार्टमेन्ट स्टोर, भेडेटारमा रेस्टुरेन्ट, मोरङमा कृषि फार्म पनि सञ्चालन गरेको थियो।
धरानको बराह र काठमाडौंको अभिमत सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि उनी भागेका हुन्। दुवै सहकारीका बचतकर्ता आन्दोलनमा छन्। पछिल्लो समय ब्यांकले बराहको नाममा रहेको घरजग्गा लिलाम गरेको छ।
धरानमा बराहका अन्य सञ्चालकले बचत फिर्ता नपाएका बचतकर्तासँग उल्टै बराह ज्वेलरी पुनः सञ्चालन गर्ने भन्दै पाँच-पाँच हजार रुपैयाँ उठाउन थालेपछि अध्यक्ष लामिछानेले बचतकर्तालाई सचेत गराउँदै अपील जारी गरेका हुन्। उनले फेरि रकम थप नगर्न पनि आग्रह गरेका छन्।
बचत निक्षेप रकमको ७० प्रतिशत लगानी गर्न पाउने नियम अनुसार नै सहकारीले बजारमा लगानी गरेको र चलायमान ३० प्रतिशत पूँजी रकम रहेको उनले उल्लेख गरेका छन्। कोभिड-१९ महामारीपछि काठमाडौंका केही ठूला सहकारीले रकम अपचलन गरेको समाचार सार्वजनिक भएपछि बराहका बचतकर्ता रकम फिर्ता माग्न लाम लागेका थिए। त्यति वेला कम्पनीमा रहेको ३० प्रतिशत रकम बचतकर्तालाई बाँडेको उनको दाबी छ।
आफूसँग भएको रकम बाँडेको तर लगानी गरेको रकम तुरुन्त नउठ्दा समस्या भएको उनले खुलाएका छन्। त्यही वेला बचतकर्ता रकम फिर्ता माग्न लाम लागेपछि सहकारी संकटमा फसेको उनको भनाइ छ।
बराहले इटहरीस्थित गोर्खा डिपार्टमेन्ट स्टोरले निर्माण गरेर सञ्चालन गर्न नसकेको धरान-८, धनकुटे रोडमा रहेको शपिङ कम्प्लेक्स खरीद गरेको थियो। त्यो भवन खरीद गर्न प्राइम ब्यांक धरान शाखाबाट स्वीकृत भइसकेको कर्जा आफ्नै सहकर्मीका कारण अन्तिममा रोकिएकाले पनि कम्पनी संकटमा परेको उनले बताएका छन्।
यसअघि बराह ग्रूपले लिएको कर्जाको विषयमा प्राइम ब्यांक, धरान र काठमाडौंका सहकारी सञ्चालक समितिका सदस्य र संघर्ष-समन्वय समितिका केही व्यक्तिको मिलेमतोमा आफूलाई धोका भएको उनको आरोप छ। धरानका मेयर हर्क साम्पाङ समेत उनीहरूकै कुरा सुनेर आफ्नो सम्पत्ति रोक्का गरिदिएको उनले गुनासो गरेका छन्।
पटक पटक सम्पत्ति फुक्का गरिदिए ऋण तिर्ने भनेर अनुरोध गर्दा समेत सुनुवाइ नभएको उनले बताएका छन्। अपीलमा भनेका छन्, ‘मैले तिर्नुपर्ने प्राइम ब्यांकको कर्जाको रकम मेयर हर्क साम्पाङज्यूले रोक्का गरेको सम्पत्ति फुकुवा गरिदिने हो भने तिर्न सक्छु।’
आफूले तिर्नुपर्ने दायित्व तिरेरै छाड्ने सोच र बृहत् योजनाका साथ रोक्का भएको सम्पत्ति फुकुवाका लागि मेयरदेखि प्रधानमन्त्री कार्यालयसम्म पुगेको उनले खुलाएका छन्। तर चेपुवामा पारेर फसाउन खोजिएको उनको दाबी छ।
त्यस्तै, ब्यांकमा रहेको भेडेटार, भानुचोक, कार्कीछाप र भोटेपुलको सम्पत्ति सकार्ने नाममा केही चलाख व्यक्तिले धरानवासीलाई शेयर हाल्न लगाउने नाममा करीब ८० करोड रुपैयाँ जम्मा गर्न खोजेको पाइएको उनले बताएका छन्। यस्तो कार्यमा कम्पनीको कुनै संलग्नता नरहेकाले लगानी नगर्न आग्रह गरेका छन्।
स्वीकृत भइसकेको ऋण नदिएको प्राइम ब्यांकले अहिले आफूलाई धोका दिने सञ्चालक र कर्मचारीसँग सहकार्य गरेर सवा दुई अर्बको कर्जा प्रवाह गर्न लागेको जानकारी पाएको उनको भनाइ छ। यसमा आफ्नो संलग्नता नरहेको उनले बताएका छन्। उनले भनेका छन, ‘बराह डुबाउने केही बेइमान कर्मचारीको मिलेमतोमा बराह ग्रूपको सम्पत्ति प्राइम ब्यांकसँग मिलेर बराह ग्रूपसँग सम्बन्धित तपाईं बचतकर्ताहरू र म सञ्चालकलाई डुबाउने ठूलो चाल हो।’
धितोमा रहेको बराहको सम्पत्ति प्राइम ब्यांकले लिलामीमा राखेपछि स्तुति रिटेल्स नामको कम्पनीले सकारेको थियो। स्तुति रिटेल्समा बराहकै सञ्चालक समेत संलग्न समूह छ। यो समूहले साउन १ बाट बराह कम्प्लेक्स सञ्चालन गर्ने तयारी गरेपछि अध्यक्ष लामिछानेले अपील जारी गरेका हुन्।
बराहका धरान-१२ र धरान-८ मा दुई वटा कम्प्लेक्स छन्। दुवै कम्प्लेक्सको स्वामित्व परिवर्तन गर्नका लागि दुवै वडामा पीडित बचतकर्ताले रकम फिर्ता नभएसम्म सिफारिश नदिन आग्रह गर्दै निवेदन दिएका छन्। स्तुति रिटेल्सका सञ्चालक विष्णु तिम्सिना भने चाँडै सबै प्रक्रिया पूरा गरेर साउन १ बाट दुवै कम्प्लेक्स सञ्चालनमा आउने बताउँछन्।