समालोचक रामजी तिम्सिना तीन दिनदेखि सम्पर्कविहीन
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक एवं समालोचक रामजी तिम्सिना तीन दिनदेखि सम्पर्कविहीन छन्।
असार १९ गते इटहरीस्थित घरबाट निस्केका तिम्सिना फर्केका छैनन्। उनको परिवारले खोजबिनका लागि इटहरीस्थित इलाका प्रहरी कार्यालयमा निवेदन दिएको छ।
उनी एकाबिहानै घरबाट निस्केको परिवारजनले जनाएका छन्। घर नफर्किएपछि खोजबिन गर्दा एउटा पत्र भेटेका छन्। जसमा उनले ‘म वराहक्षेत्रमा जलसमाधि लिंदै छु। अलबिदा’ लेखेका छन्।
अरू नबिउँझिंदै निस्केकाले कहाँ, कसरी गए भन्ने थाहा नभएको परिवारजनले प्रहरीमा दिएको निवेदनमा उल्लेख गरेका छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
तिम्सिनाले धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस र इटहरीको कोशी कलेजमा अध्यापन गराउँदै आएका छन्। साहित्यमा रुचि रहेका उनी समालोचकका रूपमा परिचित छन्।